पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जनलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
गोविन्द अधिकारीसमेतको जोहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ढोरपाटनका मेयर देवकुमारी नेपाली समेत ४४ जनालाई प्रतिवादी बनाइएको पूरक अभियोग गत वर्ष अदालतमा दायर भएको थियो । त्यसअघि, १८ असोज, २०८० मा १९ जनालाई प्रतिवादी बनाइएको थियो । जसमा कुल ६३ जना प्रतिवादी कायम छन् ।
बहुचर्चित सूर्यदर्शन सहकारी ठगी प्रकरणमै जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसमेत ६ जनालाई गत वर्ष कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो ।
उक्त सहकारी ठगीमा मुख्य अभियुक्त जीवी राई हुन् । उनी अझैसम्म फरार छन् । नाताले ज्ञानबहादुर उनका जेठान पर्छन् । ज्ञानबहादुरसमेत फरार भएपछि अदालतले उनको नाममा पक्राउ पुर्जाी जारी गरेको थियो । लामो समय फरार रहेका उनी आइतबार आफैँ अदालत उपस्थित भएका थिए । उनको बयानपछि एकै दिनमा थुनछेक बहस सकाउँदै आदेश आएको हो । बम्जनका तर्फबाट द्रोण दाहाल र निर्मलाराज पौडेलले बहस गरेका थिए । निवेदक सहकारीपीडितका तर्फबाट युवराज पराजुली, बीबी विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका हुन् ।






