काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सोमबार चौथो पार्टी पुनर्गठन दिवस मनायो । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट विभाजन भएर गठन भएको यो पार्टी भने पुनर्गठन ४ वर्षबीचमा आन्तरिक किचलो र चरम गुटबन्दीका कारणले पार्टी क्षयीकरणको बाटोमा छ ।
९ भदौ २०७८ मा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गरेको थियो । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको हठ, मनोमानी र गलत कार्यशैलीलाई कारण बनाएर माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाज भएको थियो ।
तर, ४ वर्ष पुग्दा पुर्नगठन गरिएको भनिएको दलको नेतृत्वसमेत एमाले नेतृत्वकै जस्तो कार्यशैलीमा रुपान्तरण भइसकेको कार्यकर्ताको बुझाइ छ । जसका कारण यस अवधिमा ५० भन्दा बढी केन्द्रीय तहका नेताले एकीकृत समाजवादी परित्याग गरिसकेका छन् ।
पार्टी प्रवेश गर्नेभन्दा पार्टी परित्याग गर्ने नेताको संख्या बढी छ । यसबीचमा जिम्मेवारीविहीन र प्रभावहीन वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गरे । गौतमभन्दा अघि एमालेमा रहेका र आमनिर्वाचनमा टिकट नपाएका घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गरेका थिए । गौतम तेस्रो वरीयताका नेता र भुसाल महासचिवको जिम्मेवारीमा छन् ।
गौतम र भुसाल दुई नेता पार्टी प्रवेश गर्दैगर्दा एकीकृत समाजवादी परित्याग गर्नेको संख्या ठूलो छ । केन्द्रीय तहदेखि प्रदेश, जिल्ला, पालिकास्तरमा चिनिएका ठूलो पंक्तिले एकीकृत समाजवादी परित्याग गरिसकेका छन् ।
यसबीचमा मुकुन्द न्यौपानेले एकीकृत समाजवादी परित्याग गरेका छन् । कोअर्डिनेसन केन्द्र (कोके) गठन गर्दाका पाँच जनामध्येका एक नेता न्यौपाने हुन् । माधवकुमार नेपाल, झलनाथ खनाल र न्यौपानेसहित त्यतिबेलाका पाँच जना नेता एकीकृत समाजवादीमा थिए ।
यसैगरी, एकीकृत समाजवादीका उपाध्यक्षको जिम्मेवारीमा रहेका केदार न्यौपाने, सचिव भागवत विश्वासी, स्थायी कमिटी सदस्य चूडामणि जंगलीले एकीकृत समाजवादी परित्याग गरिसकेका छन् । संघीय सरकारमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका केन्द्रीय सदस्य हिराचन्द्र केसी, शारदा स्वर्णकार, प्रेम महर्जन, शान्ता पाख्रिन, गोविन्दराम चेपाङ, डिल्लीप्रसाद उप्रेती, पार्वती विशुंखे, बरुनाथ योगी, गोपाल वम, तर्कबहादुर शाहीसहित ४० भन्दा बढी केन्द्रीय सदस्यले एकीकृत समाजवादी परित्याग गरिसकेका छन् ।
विधान, नीति, पद्धतिको कुरा गर्ने तर आफूमा लागू नगरी उही ओली शैलीमै पार्टी सञ्चालन गर्न थालेपछि पार्टी परित्याग गर्नुको विकल्प नभएको पूर्वकेन्द्रीय सदस्य बिशुंखे बताउँछिन् ।
आन्तरिक किचलो र चरम गुटबन्दीका कारण पार्टी क्षयीकरणको बाटोमा भए पनि नेतृत्वलाई कुनै चिन्ता र चासो नभएको नेताहरू बताउँछन् । नेतृत्वसँग संगठन निर्माण र कार्यकर्तालाई पार्टीमै राख्ने कुनै योजना नभएको उनीहरूको आरोप छ ।
तर, एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले संगठन निर्माणको गति लिएको दाबी गरेका छन् । यसबीचमा पार्टीको महाधिवेशन सम्पन्न गर्दै समाजवादी कार्यक्रमसहित महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको ज्वालाले दाबी गरे । एकबाहेक अरू सबै प्रदेश कमिटीको समेत अधिवेशन सम्पन्न भएको उनले बताए ।
‘पार्टीले गति लिएको छ, संगठन निर्माणदेखि महाधिवेशन, अधिवेशन सम्पन्न गर्दै संगठन निर्माण भइरहेको छ, यसबीचमा पार्टी केहीले परित्याग गर्दैगर्दा धेरै नेताले पार्टी पनि प्रवेश गर्नुभएको छ, जिल्लादेखि केन्द्रसम्म नेताहरूको पार्टी प्रवेशको लहर नै छ,’ एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रवक्ता ज्वालाले राजधानीसँग भने ।
अध्यक्ष नेपालले यसबीचमा ओलीमाथि जुन नैतिक र कानुनी प्रश्न उठाए, उनी स्वयंले भने त्यो कार्यान्वयन गरेनन् । पतञ्जली जग्गा काण्डमा नेपालको सांसद पद निलम्बनमा छ । विशेष अदालतमा मुद्दा छ । तर, निलम्बित सांसद नेपाल अझै पार्टी अध्यक्ष र संसदीय दलका नेता छन् ।
एकीकृत समाजवादीका भ्रातृ संगठन युवा संघ, विद्यार्थीको संगठन अखिलमा समानान्तर कमिटी गठन भएका छन् । तर, नेतृत्वले विवाद समाधान गर्नुको साटो गुटबन्दीलाई बढावा दिने काम मात्रै गरिरहेको असन्तुष्ट पक्षका नेताहरूको आरोप छ ।
पछिल्लो समय युवा संघमा संस्थापन पक्षकाले समानान्तर कमिटीका संयोजक रहेका संजीप राईलाई कारबाही नै गरेको छ । अन्य संगठनमा समेत विवाद र गुटबन्दी उस्तै छ ।






