एभरेष्ट महिला भलिबल लिगः साबिक विजेता कर्णालीको विजयी सुरुआत

पोखरा । पोखरामा शुक्रबारदेखि सुरु वात्सल्या एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा साबिक विजेता कर्णाली यशविसले विजयी सुरुआत गरेको छ ।

इन्फिनिटी ड्रिम्स आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा उद्घाटन खेलमा कर्णालीले पोखरा निन्जाजलाई सोझो सेटमा पराजित गर्न सफल भएको हो । यस्तै, दोस्रो खेलमा ललितपुर क्विन्स विजयी भयो ।

मार्की प्लेयर सुमित्रा रेग्मीको कप्तानीमा कोर्ट उत्रिएको कर्णालीले प्रगति नाथ कप्तानीको पोखरा निन्जानलाई २५–२१, २५–२० र २५–१४ को सोझो सेटमै हराउन सफल भएको हो ।

जितपछि प्रशिक्षक कुमार राईले आफूहरु यसपालि पनि उपाधि जित्ने लक्ष्यसहित पोखरा आएको सुनाए । रोचक के रह्यो भने, न्यू डायमण्ड स्पोर्टस् एकेडेमीबाट खेलिरहेका सुमित्रा र प्रगति यसपालि पक्ष–विपक्षी बनी आमनेसामने भएका हुन् । डायमण्डकै प्लेयर लुम्बिनी लाभासबाट पनि खेल्दैछन् । लुम्बिनीको कप्तानमा नेपाली राष्ट्रिय भलिबल टिम कप्तानसमेत रहेकी अरुणा शाही छन् । उनी गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लाकी हुन् ।

शुक्रबारकै दोस्रो खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमै पराजित गर्न सफल भएको हो । सलिना श्रेष्ठ कप्तानीको ललितपुरले २५–१७, २५–१३ र २५–१९ सेटमा जित हात पारेको हो ।

शनिबार ३ खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा ललितपुर क्वीन्स् र काठमाडौं स्पाइकर्स, दोस्रो खेलमा कर्णाली यशविस र लुम्बिनी लाभास तथा तेस्रो खेलमा पोखरा निन्जाज र मधेश युनाइेटेडबीच प्रतिस्पर्धा हुनेछ ।

यही २८ भदौसम्म संचालन लिगमा ६ टिमले भाग लिएका छन् । नेपाली महिला भलिबलको पहिलो फ्रेन्चाइज लिगको पहिलो संस्करण गत वर्ष काठमाडौंमा भएको थियो ।

प्रतियोगिताको प्रचारस्वरुप बिहीबार पोखरामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र महानायक राजेश हमाल टिमबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको थियो ।

प्रतियोगिता मेयरको टिमले २–१ सेटले खेल जितेको थियो ।

साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, लुम्बिनी लाभाज र पोखरा निन्जाजले लिगमा भाग लिएका हुन् । पहिलो संस्करणमा भाग लिएको गण्डकी थण्डर्सको स्थानमा अहिले पोखरा निन्जाज छ । चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाज नयाँ टिम रहेको छ ।

मार्की उषा भण्डारीले काठमाडौं स्पाइकर्स, सलिना श्रेष्ठले ललितपुर क्विन्स, अरुणा शाहीले लुम्बिनी लाभाज, ललिता नाथले पोखरा निन्जाज, सुमित्रा रेग्मीले कर्णाली यशविस र निरुता ठगुन्नाले मधेश युनाइटेडको प्रतिनिधित्व गरेका छन् । ३ जनासम्म विदेशी खेलाडी राख्न पाइने भएपछि प्रत्येक टिमले अमेरिका, ब्राजिल, ग्रिस, थाइल्याण्ड, रोमानिया, नेदरल्याण्ड, बुल्गेरिया, किर्गिस्तान, कोस्टारिकाका खेलाडी भित्राएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने तयारी