‘संविधान जोगाउन’ दलदेखि पेसाकर्मीसम्म एकीकृत हुँदै

काठमाडौं । संविधान र लोकतन्त्र जोगाउँदै जनभावनाअनुरूप अघि बढ्न राजनीतिक दल, विद्यार्थी तथा युवा संगठनहरू, पेसाकर्मी तथा पूर्वपदाधिकारीहरू एकजुट हुन थालेका छन् ।

विद्यमान संविधान जोगाउन, राष्ट्रपतिमार्फत तत्काल नागरिक सम्बोधन गर्न र संविधानसम्मत बाटोबाट संकट समाधानको पहलप्रति विश्वास दिलाउन सरोकारवालाहरूले माग गरेका छन् ।

जेनजीका माग सम्बोधन गरेर चाँडो निकास दिन दबाब

जेनजी आन्दोलनका कारण सिर्जना भएको जटिल परिस्थितिमा देश कसरी अघि बढ्ने भन्ने विषय अन्योल भइरहेका बेला राजनीतिक दलहरूले आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।

लोकतन्त्र, मानवअधिकार, संविधान, विधिको शासन र नागरिक सर्वोच्चता कायम राख्न माग गर्दै सरोकारवालाहरूले विज्ञप्तिमार्फत आह्वान गरेका छन् । जेनजीका मागहरू वर्तमान संविधान, विद्यमान संयन्त्रहरूमार्फत नै पूरा गर्न सकिने हुँदाहुँदै संविधान, संसद् तथा राजनीतिक एवं नागरिक अधिकार मास्ने षड्यन्त्र भएको भन्दै सबै पक्ष एकताबद्ध भएर प्रस्तुत हुन पनि सरोकारवालाले आग्रह गरेका हुन् ।

वर्तमान र पूर्वराष्ट्रपतिको सन्देश: संविधान र लोकतन्त्र जोगाइन्छ
जेनजी पुस्ताको आन्दोलनबाट अस्तव्यस्त भएको अवस्थाका बीच बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र र शान्ति सुव्यवस्था कायम गर्न आफूले विचार विमर्श र हरसम्भव प्रयास गरेको बताएका छन् । आन्दोलनकारीका माग पूरा गर्दै छिटो समस्या निदानको उपाय खोजी भइरहेकामा विश्वस्त भई जेनजी आन्दोलनका क्रममा विकसित घटनाक्रमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछिको रिक्तता लामो समयसम्म नलैजान र तत्काल राष्ट्रपति र सभामुखको परामर्शमा निकास खोज्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् ।

भण्डारीले बिहीबार विज्ञप्ति प्रकाशन गरी सामाजिक सञ्जाल बन्द गर्दा निस्सासिएको नेपाली समुदायलाई जेनजी पुस्ताको संघर्षले स्वतन्त्रता दिलाएको स्मरण गर्दै विद्यमान विधि र व्यवस्थाभित्रैबाट निकास निकाल्न सकिने विकल्प सुझाएकी छन् । संकटका बेला आफ्नो आदर्शबाट भाग्ने भन्दा प्रतिबद्ध भएर उभिन र लोकतन्त्रको रक्षा गर्न पनि भण्डारीले अपिल गरेकी छन् ।

दोस्रो पुस्ताको आह्वान, सुधारसहितको पुस्तान्तरण
संसदीय राजनीतिलाई विकृत बनाएका कमजोरीमा आत्मालोचना गर्दै युवाहरूले राजनीतिमा सुधारसहितको पुस्तान्तरणको माग गरेका छन् । नेतृत्वमा पटकपटक दोहोरिने तथा सुविधा, सम्पत्ति र परिवारवादका कारण राजनीतिक बदनाम भएकाले जेनजी पुस्तामा पैदा भएको निरासाले विद्रोह निम्त्याएको हुँदा पूर्वप्रधानमन्त्रीहरूले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने युवानेत्री रामकुमारी झाँक्रीले माग गरेकी छन् ।

राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले सबै समस्याको समाधान चालू संविधानबाटै खोज्न र जेनजीको मागका रूपमा रहेको भ्रष्टाचार नियन्त्रणलगायतका माग अविलम्ब पूरा गर्न माग गरेकी छन् । प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक नियुक्तिमा दुई पटकभन्दा बढी नदोहोरिने व्यवस्था गरी पुस्तान्तरण सुनिश्चित गरे राजनीति सुधार हुने विभिन्न पार्टीका युवा नेताको जोड छ ।

२०३२ सालदेखि आफूले बनाएको पार्टी भन्दै घमण्ड गर्दै हिँडेका माधवकुमार नेपाल र उनका समकालीन नेताहरूको पुस्ताबाट नेपाली राजनीतिले ५० वर्षसम्म मुक्ति नपाएपछि करिब २ देखि ३ पुस्ताको राजनीति सकिएको विश्लेषण गर्दै जेनजीले विद्रोह गरेको ठीक भएको भन्ने कम्युनिस्ट पार्टीभित्र गतिलै बहस चलेको छ ।

‘सरकारमा भएका बेला केही पाइन्छ कि भन्ने लोभ बोकेका र फलानो पदमा छु भन्न पाइने लोभले गर्दा नेताका वरिपरि हिँडे पनि उहाँहरू सबै नेतृत्वको पुस्तान्तरण चाहनुहुन्छ,’ एमालेका एक केन्द्रीय सदस्यले भने, ‘बालेनले काठमाडौं महानगरमा निर्वाचन जित्दाको रिपोर्टको समीक्षा गर्ने र नेतृत्व हस्तान्तरण गर्नेतिर नजाने हो भने यसभन्दा ठूलो राजनीतिक संकट आउँछ ।’

राजनीतिमा विकृति भएको र नेतृत्वबाट कमजोरी भएकामा नेकपा एमालेका महासचिव शंकर पोखरेलले समेत स्विकारेका छन् । पोखरेलले जारी गरेको विज्ञप्तिमै कमी कमजोरीहरूप्रति आत्मसमीक्षा गर्ने उल्लेख गरिएको छ ।

जेनजी आन्दोलनमा एमालेमाथिको निसाना हुनुमा आफूहरूको कमजोरी भएको एमालेको आन्तरिक समीक्षा छ । एमालेसँग जोडिएका धेरै युवाले पुस्तान्तरण र नेतृत्व हस्तान्तरण भएको भए यस हदको क्षति नहुने भन्दै सामाजिक सञ्जालमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनका आसपासमा घुम्ने टोलीलाई दोषी देखाएका छन् ।

एमालेमा मात्र नभई नेकपा माओवादीमा पनि पुस्तान्तरण भएको खण्डमा नयाँ पुस्ताको आकर्षण बढ्ने विचार उठिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 364 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको उच्च जोखिम