स्याङ्जा । नव युवा पुस्ता ‘जेन जी’ले सुरु गरेको शान्तिपूर्ण प्रदर्शनले देशभर हिंसात्मक रूप लिएसँगै ६ दिनदेखि अशान्त बनेको स्याङ्जा सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य बजार क्षेत्र रहेका पुतलीबजार, वालिङ, गल्याङ, चापाकोट, मिर्मी, फेदीखोला, बयरघारीसहित जिल्लाका भित्री बजारका पसलहरू पूर्ण रूपमा खुलेका छन् भने निजी सवारी साधनहरू निर्वाध रूपमा चल्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले केही दिनदेखि मध्याह्नबाट लगाएको कफ्यु शनिबार बिहान ६ बजेबाट हटाएको छ । अब कफ्र्यु लाग्ने वा नलाग्ने अवस्था हेरेर निर्णय गर्ने पमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । जिल्लाको अवस्था सामान्य हुँदै गएको छ । नेपाली सेनाले जिल्लामा हुने शंकास्पद क्रियाकलापहरू नियन्त्रण गर्न प्रयास गर्ने जनाइएको छ ।
त्यसैगरी, युवाहरूले नेपाली कांग्रेस, नेकपा एमालेको जिल्ला सदरमुकाममा रहेका पार्टी कार्यालयमा तोडफोड गरेका थिए । यस्तै, रास्वपाले आफ्नो ब्यानर तथा बोर्ड आफैं हटाएको थियो । युुवाहरूले आफ्नै भवन रहेका दुई पार्टीको कार्यालयमा क्षति पु-याएको राजनीतिक दलहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टी कार्यालयहरू सञ्चालन गर्न कांग्रेस र एमालेले तयारी सुरु गरेको बताइएको छ ।
पुतलीबजार नगरपालिकाको कार्यालयमा युवाहरूले तोडफोड गरेका थिए । ढुंगा प्रहारबाट कार्यालयका सिसाहरू फुटेका प्रहरीले जनाएको छ । उता, कालीगण्डकी गाउँपालिकाको कार्यालयमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको शिलालेख तोडफोड गरिएको छ ।
जिल्लामा रहेका सबै पालिका शनिबारसम्म बन्द थिए । आइतबारदेखि जिल्लाका ११ वटै पालिका सञ्चालनमा ल्याइएको छ ।
स्थानीय तह स्थायी सरकार भएकाले सेवा निरन्तर गर्नका लागि सहजीकरण गर्दै आइरहेको प्रजिअ अर्यालले जानकारी दिए । नागरिकलाई सेवाबाट रोक्न नमिल्ने भएकाले स्थायी सरकारको सेवा निरन्तर गर्न सहजीकरण गरेपछि आइतबारबाट सेवा सुचारु भएको प्रजिअ अर्यालले बताए । आन्दोलनकै कारण सर्वोच्च अदालतमा सञ्चालित सर्भरमा क्षति पुग्दा मुद्दा व्यवस्थापन प्रणाली (सीएमएस)लगायत सम्पूर्ण सिस्टम अबरुद्ध भएको स्याङ्जा जिल्ला अदालतले जनाएको छ ।
स्थानीय परिवेशलाई समेत मध्यनजर गर्दै अदालतबाट दिइँदै आएका सेवाहरूमध्ये अन्तिम हदम्याद मात्र बाँकी रहेका अभियोग, फिरादपत्र वा प्रतिउत्तरपत्र दर्ता, पक्राउ पुर्जी जारी, जरुरी पक्राउ पुर्जी स्वीकृत, म्याद थप र बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन सेवाबाहेकका सम्पूर्ण सेवा बन्दै रहेको पन्थीले जानकारी दिए ।






