काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा निधन भएका पाँच जनाको परिवार र घाइते सात जनालाई नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका कर्मचारीले नगद सहयोग गरेका छन् । हवाई इन्धन डिपोका कर्मचारीले शहीद परिवारलाई १ लाख २० हजार ५ सय ५० र घाइतेलाई १ लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
डिपोका प्रमुख प्रदीपकुमार यादव, उपनिर्देशक रामहरि निरौला, लेखाप्रमुख प्रवेश पाठकसहित सम्पूर्ण कर्मचारीले अभियान नै चलाएर सहयोग गरेका हुन् ।
आन्दोलनका शहीद सुभाष बोहोरा, ओजन बुढा, दिपेश सुनुवारको परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले, महेश बुढाथोकीको परिवारलाई ३० हजार र अभिषेक चौलागाईंको परिवारलाई नगद १५ हजार ५ सय ५० रुपैयाँ सहयोग गरिएको उपनिर्देशक रामहरि निरौलाले राजधानी दैनिकलाई बताए ।
त्यसैगरी, घाइते गुल्मी घर भई काठमाडौं बस्ने सुभाष अर्याल, कैलाली घर भई काठमाडौं बस्ने ऋषिकेश यादव, गोरखाका रोशन रेग्मी, रुकुम पश्चिमका जगदीश परियार, नुवाकोटका दीपेश नेपाली र काभ्रेपलाञ्चोक घर भई काठमाडौंमा रिक्सा चलाउँदै आएका कुमार दाहालसहित सबैलाई प्रतिव्यक्ति १५ हजारका दरले सहयोग गरिएको हवाई इन्धन डिपोका उपनिर्देशक निरौलाले बताए ।






