सुर्खेत । २४ भदौमा जेनजी आन्दोलनकारीले सरकारी कार्यालय, नेताका निवासहरू आगजनी र तोडफोड गर्ने क्रममा वीरेन्द्रनगर– ७ इत्रामस्थित पूर्णबहादुर खड्काको निवासलाई पनि निशाना बनाए । यद्यपि त्यो घर पूर्णबहादुरकै भने थिएन । उनका साहिँला भाइ विष्णु खड्काको नाममा रहेको घरमा पूर्णबहादुर सुर्खेत आउँदा बस्ने गर्थे । सोही घरसँगै जोडिएको छ, माइला भाइ डा. डम्बर खड्काको घर । उक्त घर पनि आन्दोलनकारीले आगजनी गरेर ध्वस्त बनाए । आन्दोलनकारीले घर जलाइरहँदा कैलाश मानसरोवर दर्शनको यात्रामा थिए डा. डम्बर । उनी मंगलबार साँझ फर्किए । खण्डहर बनेको आँगनमा उभिएर डम्बरले बुधबार बिहान पत्रकार सम्मेलन गरे ।

पत्रकार सम्मेलनमा व्यक्त उनको भनाइ जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ
प्रदेश स्थापनाको बेलामा पनि घरमा आक्रमण भयो । म हस्पिटलमा बिरामीको उपचार गर्दै थिएँ, घरमा गाडी तोडफोड भएको थियो । ९५ वर्षको आमामाथि आक्रमण भएको थियो । मलाई यहीँ बस्नुपर्ने बाध्यता थिएन । काठमाडौं बस्न नसक्ने अवस्था थिएन । अमेरिकाको भिजा नै छ । मैले जन्मथलोलाई सेवा गर्नुपर्छ भनेर जीवन यहाँ बिताएँ । १० कक्षा पास गरेपछि जागिर खाँदै पढ्दै यहाँसम्म आइपुगेको हो । घरमा दाइ राजनीतिमा लाग्नु भएपछि हामी अरू भाइ जागिर र व्यवसायमा लाग्यौँ ।

मेरो दाइ पूर्णबहादुरले ५० वर्षको राजनीतिक इतिहासमा घुस खानुभएको छ, यदि गल्ती गर्नुभएको छ भनेर छानबिन गरियोस् । पक्राउ गरियोस् । सबै नेतालाई एउटै डालोमा नहालियोस् । अति गर्न पाइँदैन । हामीले कहिले पनि फाइदा लिएनौँ । बुबा मुखिया हुनुहुन्थ्यो । आमाबुबाले आर्जन गरेको ५०–६० बिगा जमिन थियो । हामी स्थानीयवासी हौँ, पचासौँ वर्ष लगाएर कमाएको सम्पत्ति हो । के हामीले एकै रात जोडेको हो ? सुर्खेतमा बसेर सेवा गर्नु नै हाम्रो लागि अभिशाप हो ? यहाँको विकासमा योगदान गर्नु, युनिभर्सिटी, प्रदेश अस्पताललाई नम्बर वान बनाएको अभिसाप हो ? जिन्दगी भएर श्रीमान् श्रीमतीले कमाएर बनाएको घर हो यो । अहिले पूर्णबहादुरको भाइ भनेर, भ्रष्टाचार गरेको होला भनेर आगजनी गरिएको होला । हाम्रो बाँच्ने पाउने हक छैन ? किन पटक पटक प्रहार गर्ने काम भइरहेको छ ? यो गफ होइन तत्काल छानबिन गरियोस् । हाम्रो गल्ती छ भने कारबाही गरियोस् । नत्र पटक पटक घर जलाउने, सम्पत्ति लुट्ने काम नहोस् । ४१ वर्षको जागिरे जीवनको सारा कमाई जलाइएको छ, लाखौँका किताब जलाइएको छ, सुन गरगहना, छोराले स्कुलमा पाएको मेडल लुटिएको छ । केही सामान बाँकी राखिएको छैन । दाइको सहयोग लिएर होइन आफै मिहेनत गरेर सम्पत्ति जोडेको हो । हाम्रो पैतृक सम्पत्ति पनि छ ।
आफ्नै बलबुताले व्यवसाय गरेका छौँ । राम्रो काम गर्दागर्दै स्वास्थ्य मन्त्रालयबाट बेष्ट अवार्ड पाएँ, प्रदेश अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाएँ, मिहेनत गरेर आर्जन गरेको सम्पत्तिले ३ कोठे घर बनाएर बस्न नपाउने ? जब म अस्पतालको डाइरेक्टर भएँ, आम्दानी घट्यो । आफ्नो धर्म निभाउनुहुँदैन भनेर बिहान बेलुका अस्पताललाई समय दिएँ । कोभिड लाग्दा पनि एक दिन छुट्टी नलिएर काम गरेँ । त्यो मेरो स्वार्थको लागि गरेको होइन, कर्णालीवासीको स्वास्थ्यको लागि गरेको हो । लाखौँको उपचार गरेर ज्यान बचाइदिएको हो । तर सबैलाई एउटै घानमा राखेर प्रहार गर्ने काम भइरहेको छ । हामी जाने कहाँ ? हाम्रो भत्ताले पालिएको सुरक्षा फौजले हेरेर बसिरहने ? सुरक्षाकर्मीले नै देशलाई कंगाल बन्न दिने ? जनताको जीउधनको सुरक्षा नगर्ने ? हामी कहाँ जाने ? कि चुप लागेर बस्ने त डराएर । त्यसो भए हाम्ले आफ्नो सुरक्षाकै लागि बन्दुक बोक्नुपर्ने भो ।

आत्मबल घटाउँदैनौँ । यहीँ बस्ने हो । यहाँ बसेर आफू पनि राम्रो गरौँ, अरूलाई राम्रो काम गर्न प्रेरणा दिऊँ भनेर बसेको हो । नत्र यहाँ किन बस्थेँ । अमेरिकाको भिजा छ, यहाँ नबसे पनि हुन्थ्यो । काठमाडौं बस्न पनि सक्थेँ । यो अचाक्लीमा चुप लागेर बस्नुहुँदैन । भएका जग्गा जमिन बेचेर भए पनि पुनर्निर्माण गर्छौँ । यदि राज्यले संग्रहालय बनाउँछौँ भन्छ भने निःशुल्क दिन पनि तयार छौँ । दाइ पूर्णबहादुरले एक पैसा घुस खाएको, परिवार, सन्तानलाई कतै जागिर लगाएको, धन दौलत जोडेको प्रमाणसहित देखाइदिनुप¥यो । यदि त्यस्तो देखियो भने हामी जेल जान तयार छौँ । हाम्रा पैतृक सम्पत्ति पनि छ । सबैको छानबिन हुनुप¥यो । अहिले हामीलाई बेघरबार बनाइएको छ ।

अहिले कोठा लिएर बस्न बाध्य बनाइएको छ । छोरा घर आएको बेला उसलाई मैले बेड कहाँ देखाउने, स्कुलबाट पाएको मेडल कहाँ देखाउने ? उसको आमाको चिनो पियानो थियो त्यो पनि बाँकी रहेन । बैंकबाट २ करोड रुपैयाँ लोन लिएर, रिटायर्ड भएपछि श्रीमान् श्रीमती बस्ने भनेर बनाएको हो । अढाई करोड जतिमा बन्यो होला । हामी त यहाँका रैथाने हौँ, पुराना मान्छे हौँ, जोड्दै जोड्दै गरेर दुई जनाले कमाएको सम्पत्ति हो । यो पुरानो घर भाइ विष्णुको हो । मेरो ससुरालीले दिएको काठमाडौंको घरमा दाइ बस्नुहुन्थ्यो । त्यो घर पनि जलाइयो ।