जेनजी आन्दोलनः कर्णाली सदरमुकामका सरकारी कार्यालयमा २१ करोडबढी क्षति

सुर्खेत । जेनजी आन्दोलनका कारण सुर्खेतका सरकारी कार्यालयमा मात्रै २१ करोडभन्दा बढीको क्षति भएको छ । आन्दोलन हिंसात्मक बनेसँगै आगजनी र तोडफोड हुँदा सुर्खेतस्थित सार्वजनिक तथा निजी सम्पत्तिमा व्यापक मात्रामा क्षति पुगेको हो ।

जिल्ला प्रशासन कार्यालयले संघ, प्रदेश र स्थानीय सरकार मातहतका कार्यालय तथा निकायमा भएको क्षतिको विवरण मात्र सार्वजनिक गरेको छ । सम्बन्धित कार्यालय प्रमुख र प्रहरीको रोहबरमा जिल्लास्तरीय लगत संकलन कार्यदलले सो विवरण तयार पारेको हो । निजी सम्पत्ति, राजनीतिक दलका कार्यालयमा भएको क्षतिको विवरण संकलन गर्न बाँकी रहेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार कार्यालय भवन, कोठा, फर्निचर, फिक्चर्स, कम्प्युटर तथा इलेक्ट्रोनिक्सलगायतका संरचनामा तोडफोड र आगजनीले २१ करोड १० लाख ५६ हजार ७ सय ४६ रुपैयाँबराबरको क्षति पुगेको छ, जसमा संघ र प्रदेशका निकायमा १० करोड १९ लाख ६९ हजार ३ सय ४६ र वीरेन्द्रनगर नगरपालिका तथा मातहतका वडा कार्यालयमा १० करोड ९० लाख ८७ हजार ४ सय रुपैयाँबराबरको क्षति भएको छ ।

सबैभन्दा बढी क्षति कर्णाली प्रदेशसभा सचिवालयमा भएको छ । जिल्ला प्रशासनका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलका अनुसार प्रदेशसभा सचिवालयका भवन, कोठा, फर्निचर, फिक्चर्स, कम्प्युटर, इलेक्ट्रोनिक्स, सवारीसाधन र अन्य सामग्रीमा ३ करोड ९४ लाख १६ हजार ३ सय ९४ रुपैयाँ ४८ पैसाबराबरको क्षति पुगेको छ ।

यस्तै, प्रदेश लेखा नियन्त्रक कार्यालयमा १ करोड ३२ लाख १६ हजार ६१ रुपैयाँ ८७ पैसाबराबरको भवन तथा कोठा, फर्निचर, फिक्चर्स, कम्प्युटर तथा इलेक्ट्रोनिक्स, सवारीसाधन, सरकारी कागजात, नगद, बहुमुल्य धातुमा क्षति पुगेको छ ।

सामाजिक विकास मन्त्रालयको ३ लाख ५९ हजार ९ सय रुपैयाँ पर्ने कर्णाली प्रदेश ०२–००२ प ९८५० नम्बरको मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ । यस्तै, मुख्य न्यायाधिवक्ताको कार्यालयका दुईवटा चारपांग्रे सवारी पनि आन्दोलनकारीको तोडफोड र आगजनीका कारण पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

कार्यालयका कर्णाली प्रदेश ०२००१ झ ०००३ नम्बरको स्कार्पियो र कर्णाली प्रदेश ०२००१ झ ०१४० नम्बरको निसान किक्स गाडी जलेर नष्ट हुँदा १ करोड १४ लाख ६० हजार रुपैयाँबराबरको क्षति भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको तोडफोड र आगजनीले १ करोड ७९ लाख रुपैयाँबराबरका भवन, कोठाहरू, फर्निचर तथा फिक्चर्स, कम्प्युटर तथा इलेक्ट्रोनिक्स सामग्रीमा क्षति पुगेको प्रशासनले जनाएको छ । संघीय सरकार मातहतका ६ निकायमा पनि ठूलो क्षति भएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयका भवन तथा कोठा, फर्निचर, फिक्चर्स, कम्प्युटर तथा इलेक्ट्रोनिक्सलगायतका सामग्रीमा ४ लाख ३० हजार रुपैयाँबराबरको क्षति भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतको बा १ झ ९४२८ नम्बरको पिकअप भ्यानमा आन्दोलनकारीले २ लाख ४० हजार रुपैयाँबराबरको क्षति पु¥याएका छन् । संघ मातहतकै भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाको बीबीए ८३२० नम्बरको टाटा सफारीमा तोडफोड हुँदा ६० हजार रुपैयाँबराबरको क्षति भएको छ ।

नापी कार्यालय सुर्खेतमा भवन, कोठा, फर्निचर, फिक्चर्स, कम्प्युटर, इलेक्ट्रोनिक्स तथा सवारीसाधनमा तोडफोड र आगजनीले २ करोड ६३ लाख ६० हजार ९९० रुपैयाँबराबरको क्षति पुगेको छ । संघीय सरकारमातहतकै भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयमा ४ लाख १० हजार रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिकामा २ करोड ४६ लाख ३९ हजार रुपैयाँबराबरको क्षति भएको छ । वीरेन्द्रनगरका वडा नम्बरमा १ मा २५ लाख, २ मा ३९ लाख ६० हजार ५ सय, ३ मा १ करोड ६५ लाख, ४ मा ८५ लाख ३५ हजार, ५ मा ४६ लाख ७५ हजार, ६ मा १ करोड ३७ लाख ७४ हजार, ७ मा १८ लाख ९६ हजार, ८ मा १ करोड ४८ लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको छ । वडा नम्बर ९ मा ३९ लाख ६० हजार १ सय, १० मा ३५ लाख २५ हजार ९ सय, ११ मा ४१ लाख ४३ हजार ४ सय र १२ नम्बर वडामा ६१ लाख ७३ हजार ५ सय रुपैयाँबराबरको भवन, फर्निचर, फिक्चर्स, कम्प्युटर, इलेक्ट्रोनिक्स, सवारीसाधन तथा महत्वपूर्ण सरकारी दस्तावेजमा क्षति भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको अभिमत दुरुपयोग गरेर हुर्मत नलिन आफ्नै नेता-कार्यकर्तालाई रवि लामिछानेको चेतावनी