धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८ दीपनगरका बलबहादुर चौधरीको मिर्गौला खराब भएको डेढ वर्ष भयो । गाउँमै सिलाइकटाइ गरेर आम्दानी गर्ने चौधरी बिरामी भएपछि अहिले घर खर्च चलाउनै समस्या भएको छ ।
एक छोरा र छोरी अनि श्रीमतीको लालनपालन सिलाइकटाइबाट गर्दै आएका चौधरीका दुवै मिर्गौला फेल भएपछि परिवारको बिचल्ली भएको छ । सम्पत्तिको नाममा १० धुर जग्गा र त्यसैमा बनेको सामान्य घर रहेको बताउने चौधरी बिरामी भएपछि उनीहरूको आम्दानीको स्रोत सुकेको छ ।
चौधरीले अहिले साताको दुईपटक डायलाइसिस गर्नुपर्छ । महिनाको कम्तीमा ६ हजार रुपैयाँको औषधि सेवन गर्नुपर्छ । घोडाघोडीबाट धनगढी आउँदा र जाँदा बस भाडा मात्रै एकपटकमा ८ सय रुपैयाँ लाग्छ । आफू एक्लै आउन नसक्ने भएकाले साथमा श्रीमतीलाई ल्याउँदा यातायातमै हरेकपटक ८ सय रुपैयाँ खर्च हुने गरेको चौधरीले बताए ।
डेढ वर्षदेखि सेती प्रादेशिक अस्पताल धनगढीमा डायलाइसिस गराइरहेका चौधरीले पैसाको अभावमा अहिलेसम्म फिस्टुला बनाउन नसकेको बताए ।
उनको घाँटीको दुवैतर्फ र खुट्टाको नसामा डबल ल्युमन क्याथेटर राखेर कामचलाउ तरिकाले डायलाइसिस हुँदै आएको थियो । अहिले भने चिकित्सकले क्याथेटरबाट डायलाइसिस गर्न समस्या हुने भन्दै चौधरीलाई फिस्टुला बनाउन सल्लाह दिएका छन् । फिस्टुला बनाउने भनेर चौधरीले गाउँलेसँग आर्थिक सहयोग मागेर थोरै रकम जम्मा गरे । तर, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्डियो भास्कुलर सर्जन नहुँदा उनको फिस्टुला बनाउन समस्या भयो ।
सेतीमा फिस्टुला बनाएको ६ हजार रुपैयाँ मात्रै शुल्क लाग्छ । त्यहाँ कार्यरत सर्जनहरूले सामान्य अवस्थाको बिरामीको फिस्टुला बनाउँदै आएको अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी किशोर श्रेष्ठले सामान्य अवस्थाको बिरामीको सेतीमा फिस्टुला बनाउने गरिएको जानकारी दिए । अस्पतालका अनुसार सबै किसिमका बिरामीको फिस्टुला बनाउन भने कार्डियो भास्कुलर सर्जन नहुँदा समस्या हुने गरेको छ । सुदूरपश्चिमका कुनै पनि अस्पतालमा कार्डियो भास्कुलर सर्जन नहुँदा मिर्गौला खराब भएका बिरामीले सहजै फिस्टुला बनाउने सुविधा नपाउने समस्या रहेको चिकित्सकहरूले समेत बताएका छन् ।
बलबहादुर चौधरीले बताएअनुसार फिस्टुला बनाउन सकियो भने उनले सातामा दुईपटक डायलाइसिस गराउनु नपर्ने चिकित्सकले बताएका छन् । सेतीमा जाँदा चिकित्सक छैन भनिएको र निजी अस्पतालमा फिस्टुला बनाएको ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएकाले चौधरी समस्यामा परेका छन् ।
सोमबार धनगढीमा भेटिएका चौधरीले धनगढीको नवजीवन अस्पतालमा डायलाइसिस गराइरहेको बताए । सेतीमा ठाउँ छैन भनेर आफूलाई नवजीवन अस्पताल पठाइएको र त्यहाँ पनि निःशुल्क डायलाइसिस भइरहेको उनले बताए ।
नवजीवन अस्पतालमा डायलाइसिस निःशुल्क भए पनि सातामा दुईपटक धनगढी आउँदाको खर्च र महिनाको ६ हजार रुपैयाँको औषधि खानुपर्ने खर्च जुटाउन निकै समस्या हुने गरेको चौधरीले बताए । उनले पैसा मागेर अस्पताल आउँदा पनि फिस्टुला बनाउने सेवा सेती अस्पतालबाट नपाएको बताए ।
‘डेढ वर्षसम्म पैसा नहुँदा फिस्टुला बनाउन सकिएन, अहिले डाक्टरले फिस्टुला बनाउनुपर्छ भन्नुभयो,’ उनले भने, ‘सेतीमा ६ हजार रुपैयाँ लाग्छ, त्यो गाउँमा चन्दा उठाएर जम्मा गरेर अस्पताल आउँदा फिस्टुला बनाउन नसकिने भनेर फिर्ता पठाए ।’
सेती प्रादेशिक अस्पतालमा फिस्टुला बनाउने सर्जन नहुँदा सुदूरपश्चिमका बिरामीले नेपालगन्ज या काठमाडौं जानुपर्ने बाध्यता छ । सेतीका युरोलोजी विभागका चिकित्सकहरूले फिस्टुला बनाए पनि सबै बिरामीले पालो नपाउने समस्या छ ।
सेती प्रादेशिक अस्पतालमा ५ असार २०६९ बाट हेमोडायलाइसिस सेवा सुरु भएको हो । सेतीमा भदौ महिनामा १ सय २४ जना पुरुष र ५७ जना महिलासहित १ सय ८१ मिर्गौलापीडितले डायलाइसिस गराएको तथ्यांक छ । अहिले नियमित डायलाइसिस गराइरहेका बिरामीमध्ये ६ जनाको फिस्टुला बनाउन बाँकी छ । सेतीमा मात्रै दैनिक एकदेखि दुई जना मिर्गौलापीडित बिरामी आउने गरेको त्यहाँ कार्यरत एक जना चिकित्सकले बताएका छन् ।






