साना ढुवानीकर्ता भारतीय ओभरलोड सवारीसँग पीडित

वीरगन्ज । भारतीय नम्बरका ओभर लोड ट्याक्टर र साना सवारीको विगविगी पछिल्लो समय नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसिपी)सम्म मात्र छैन । मापदण्डभन्दा बढि सामान बोकेको ती सवारी सीधै यहाँका ट्रान्सपोर्ट, गोदाम र उद्योगसम्म निर्वाध चलिरहेको पाइएको हो ।

ओभर लोड भारतीय सवारीले यताका साना सवारीको रोजगारी धरापमा पार्ने मात्र नभई ढुवानीको नाममा नेपाली रकम समेत सीधै सीमा उपार पुग्ने गरेको रहस्य पनि खुलेको छ । स्थानीय ट्राफिक प्रहरीको माल कमाउ धन्दा पनि यो प्रकृयामा जोडिने गरेको नेपालका साना सवारी संचालकको आरोप छ ।

भारतीय नम्बरका ओभर लोड ट्याक्टरसँग ट्राफिकले १ हजार आइसी र सानो पिकअफ भ्यानसँग ५ सय आइसी लिएपछि उताका ओभर लोड सवारी नेपाली बजारमा रजगज मच्चाउन सफल भएको पनि उनीहरुको दावी छ ।

सीमावारी पनि भारतीय सवारीको रजगज
आयातले धानेको मुलुकको बजार र रोडसम्म छिमेकी नम्बर प्लेटकै सवारीको रजगज भएपछि नेपाली मालवाहक सवारी धनी आफ्नो लगानी जोगाउन तड्पिरहेको बताउँछन् । अब साना सवारी लगानीकर्ता मात्र नभई चालक, सह चालकको रोजगारी पनि गुम्न खतरा बढेको उनीहरुको भनाइ छ ।

स्थानीयस्तरमा ढुवानीको काम गर्दै आएका ना ७ ख ५७३८ नम्बरको पिकअफ भ्यान संचालक नरेश रामको पनि गुनासो छ । सवारी नै चल्न छोडेपछि बैंकको व्याज तिर्न नसकेर आफू लगायत धेरैको घर जग्गा लिलाम भई रोडमा पुग्ने अवस्था आएको उनले दावी गरे । साना सवारी संचालक राम मात्र नभई स्थानीय ट्याक्टर संचालक सराजुल हक, मुस्ताक आलमलगायतको पनि गुनासो कम छैन ।

हामी केही गर्न सक्दैनौं : भन्सार कर्मचारी
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारी भने भारतीय नम्बरका साना सवारी आइसीपीसम्म मात्र नभई प्रज्ञापन पत्रमा उल्लेख भए अनुसार जाँदै गरेको बताउँछन् । प्रज्ञापन पत्रमा कहाँसम्म उल्लेख छ, हामीले रोक्न मिल्दैन उनले भने । ओभर लोडका सवालमा ट्राफिकले जान्ने कुरा भएको उनको तर्क छ ।

उता सडकमा खटेका ट्राफिकका लागि भने ओभर लोड लिएर हिडेकै सवारी आम्दानीको श्रोत भएपछि उनीहरुका लागि नेपाली सवारीभन्दा भारतीय सवारी नै रोजाइमा पर्ने गरेको खुलेको छ । पर्सा ट्राफिकले भने राजस्व संकलन वाहेक कुनै पनि सवारीलाई दण्डित नगरिएको दावी गरेको छ । चिट काटेर लिएको पैसा सीधा राजश्वमा जम्मा हुने पनि पर्सा ट्राफिक प्रमुख प्रहरी निरिक्षक लोकराज भट्टले दावी गरे । पछिल्लो समय ओभर लोड भेटिए सिधा यातायात कार्यालयमा पठाई त्यही राजस्व बुझाउने गरिएकोले सेवाग्राहीको आरोप मित्थ्या रहेको उनको दावी छ । गएको भदौ २२ गतेसम्म दण्डित गरिएका सवारीबाट मात्र २१ लाख भन्दा बढी राजस्व समेत संकलन भएको पनि ट्राफिक प्रमुख भट्टको भनाइ छ ।

साना सवारी संचालक घरबाट डेरा पुग्ने जोखिम
नेपाली मालवाहक साना सवारी खरिद गरी नेपालमै केही गरी जिविकोपार्जन गर्ने संचालकलाई भने आर्थिक नगरी वीरगन्जमा नै समस्या थपिएको स्थानीय विजय पटेलले पनि दावी गरे । आयात निर्यातको केन्द्र वीरगन्ज नगरीकै साना सवारी संचालकलाई यो समस्या छ भने अन्य पेशा व्यवसाय गर्ने सीमा टाढाका नागरिकको के अवस्था होला ? उनले तर्क गरे ।

आर्थिक नगरी भित्रका साना व्यवसायीलाई मुलुक भित्र केही गरेर बालबच्चा लालनपालन गर्ने कार्यमा भारतीय मालवाहक सवारी भित्रसम्म आइदिंदा अव्यावहारिक कदम भएको स्थानीयको पनि भनाइ छ । यता आएर पनि थप ढुवानी चार्ज उनीहरुले नै उठाएपछि नेपाली सानासवारी व्यवसायी सकसमा परेको उनीहरुको तर्क छ ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग