सुर्खेत । हरि पौडेल नाम गरेका फेसबुक प्रयोगकर्ताले बुधबार आफ्नो रिल्समा राउटेसँग नाचेको भिडियो पोस्ट गरे । सो रिल्सको टेक्स्टमा लेखिएको थियो– ‘राउटे पुजारी मितज्यूले सँगै नाचौं भनेपछि… फकाउने कला गज्जब ।’ अनि क्याप्सनमा लेखेका थिए, ‘जोडी मिल्लाजस्तो छ, खुसी आफैंभित्र हुनुपर्छ ।’ राउटे बस्तीनजिक सुर्खेत लेकबेंसीका ती सामान्य प्रोफाइलका फेसबुक प्रयोगकर्ताको सो रिल्सले २४ घण्टा नबित्दै १० हजारबढी भ्युज पायो । राजु पौडेल नाम गरेका अर्का फेसबुक प्रयोगकर्ताले दसैंका बेला शिशुसँग समाइरहेका एक वृद्ध राउटेसँग गरेको कुराकानीको भिडियो पोस्ट गरे । उनको पोस्टले आइतबारसम्म १ लाखबढी भ्युज पाइसकेको छ । यी त सामान्य फेसबुक प्रयोगकर्ताका कुरा भए ।
कन्टेन्ट क्रियटरको नजरमा ‘क्लिकबेट’ बनेको जीवन
पछिल्लो समय राउटेहरू सुर्खेतको लेकबेंसी नगरपालिका–९ चौरासेनजिकको जंगलमा बस्दै आएका थिए । शनिबार मात्रै उनीहरू वडा नं ८ को क्षेत्रमा बसाइँ सरेका छन् । नेपालको एक मात्र फिरन्ते वन्य जीवनशैली अपनाइरहेको यस समुदायमा पुगेर सामाजिक सञ्जाल र अनलाइनहरूका लागि कन्टेन्ट क्रियट गर्नेहरूको दैनिक घुइँचो लाग्ने गरेको छ । सामाजिक सञ्जालमा राउटेका कन्टेन्ट सबैभन्दा बढी बिक्ने बनेका छन् । युट्युब, टिकटक, फेसबुकजस्ता डिजिटल प्लाटफर्महरूमा राउटे समुदायसँग सम्बन्धित सामग्रीहरू अत्यधिक भाइरल र लोकप्रिय मात्र बनिरहेका छैनन्, फेसबुक मोनिटाइजेसनले प्रयोगकर्ताको आम्दानीको स्रोत बनाएपछि क्रियटरहरूको संख्या पनि बढ्दो छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अलग र दुर्लभ जीवनशैली, बेग्लै मातृभाषाजस्ता कारण राउटेका कन्टेन्ट बढी बिक्ने गरेको बताउँछन् । ‘आधुनिक समाजका लागि राउटेको स्वभाव र जीवनशैली रहस्यमय एवं कौतूलहपूर्ण छ, त्यसो हुँदा डिजिटल कन्टेन्टका उपभोक्ताहरू बनावटीभन्दा नेचुरल र वास्तविक जीवनका दृश्यहरू हेर्न रुचाउने गर्छन्,’ सामाजिक सञ्जाल कन्टेन्टका अध्येता आर्दशविक्रम सिंह भन्छन्, ‘रियल कन्टेन्ट बिक्छ, एक किसिमले राउटे समुदाय डिजिटल संसारमा ‘भाइरल ब्रान्ड’जस्तै बनिरहेका छन् ।’ उनका भनाइमा सामाजिक सञ्जालले असामान्य वा भाइरल हुनसक्ने कन्टेन्टलाई प्राथमिकता दिने हुँदा राउटेका सामग्रीहरू पनि प्रयोगकर्ताको स्क्रिनमा बारम्बार देखिने गर्छ ।
अहिले जोसुकैको हातमा स्मार्ट मोबाइल छ । मानिसहरू युट्युब र फेसबुकजस्ता प्लाटफर्ममा अभ्यस्त छन् । दर्शकको सहानुभूति तान्ने वा इनगेजमेन्ट बढाउने शैलीका वाक्यहरू क्रियट गर्ने गरिन्छ । अझ कतिपय क्रियटरले राउटेहरूको गरिबी, मगन्ते स्वभाव, आधुनिकताको अस्वीकारजस्ता पक्षलाई नाटकीय शैलीमा प्रस्तुत गरेर दर्शकको ध्यान तान्ने गर्छन् । सनसनी र संवेदनशील प्रकृतिका कन्टेन्टले लाइक, कमेन्ट, सेयर अत्यधिक पाउने तथा थोरै लगानीमा ठूलो भ्युज पाउने प्रवृत्तिले काम गरेको छ ।

कर्णाली प्रदेश सरकारद्वारा गठित राउटे नीति मस्यौदा समितिका विज्ञ सदस्यसमेत रहेका नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय कन्टेन्ट क्रियटरको यस्तो प्रवृत्तिले अब राउटे समुदायको आत्मसम्मान, गोपनीयता र मौलिक संस्कृतिमा हस्तक्षेप गर्न थालेको टिप्पणी गर्छन् । ‘दर्शक÷पाठकको ध्यान तान्नु र उनीहरूलाई अनलाइन सामग्री (जस्तै युट्युब भिडियो, समाचार लेख, टिकटक क्लिप) क्लिक गर्न बाध्य बनाउन गरिएको छ,’ उनी भन्छन्, ‘वास्तविकताभन्दा बढी सनसनी वा अतिरञ्जित गर्ने, राउटे जीवनशैली वा संवादलाई आर्कषक तर भ्रामक तरिकाले देखाउने, केवल भ्युज, लाइक र कमाइको लागि राउटेहरूको संवेदनशिलता वा गोपनियतालाई बेवास्ता गर्ने गरिएको छ, यो चिन्ताको विषय हो ।’
दिनैपिच्छे राउटे बस्तीमा मोबाइल, क्यामरा, ट्राइपोड बोकेर पुग्ने कन्टेन्ट क्रियटरको भीड बढ्दो छ । पछिल्लो समय कन्टेन्ट क्रियटरको नजरमा राउटे जीवन ‘क्लिकबेट’ (शीर्षक, थम्बनेल वा संवादजस्ता सामग्री) बनेको छ । ‘क्लिकबेट’ बन्नु भनेको अरूको ध्यान खिच्न र भ्युज कमाउनका लागि रोचक, भ्रामक कथाको रूपमा प्रयोग हुनु हो । क्रियटरहरूको आँखामा उनीहरू भाइरल सामग्री मात्रै बनेका छन् अर्थात् भाइरलको भीडमा छन्, लोपोन्मुख राउटे समुदाय । राउटे युवा प्रकाश शाही पनि बस्तीमा आउने पाहुनाहरूले जतिबेला पनि फोटो खिच्ने र अन्तर्वार्ता लिने शैलीबाट दिक्क बनेको अनुभवन सुनाउँछन् । ‘हामी त थाकिसक्यौं, भनेको नै मान्दैन, जे गरेको पनि फोटो खिचेको छ,’ नेपाली र खाम्ची (राउटे मातृभाषा) मिश्रित लवजमा उनी भन्छन्, ‘खान लागेको पनि खिचेको छ, नुहाउन लागेको पनि खिचेको छ, सुतेको पनि खिचेको छ, हाम्लाई धेरै झर्को लाग्न थालिसक्यो ।’
राउटे आचरण, व्यवहार, जीवनशैली उनीहरूको छनोट पनि हो । जंगलसँग गहिरो सम्बन्ध राख्ने, आफ्नै नियम र परम्परामा बाँधिने, फिरन्ते जीवनशैली अपनाउने उनीहरूको अधिकार हो । तर, पछिल्लोपटक कन्टेन्ट क्रियटरले पत्रकार आचारसंहिता, विभिन्न सामाजिक सञ्जालले लागू गरेका आचारसंहिता पालना नगर्दा यस समुदायको गोपनीयता र स्वतन्त्रतामाथि हस्तक्षेप हुन थालेको छ । सरोकारवालाहरू कन्टेन्ट क्रियटरले गर्दा राउटे समुदाय डिजिटल उपभोक्तावादको सिकार भइरहेको टिप्पणी गर्छन् ।
‘आचारसंहिता पालना गरौं’
अति लोपोन्मुख जातिमा पर्ने राउटे समुदायको संख्या हाल १ सय ३५ मात्रै छ । यस जातिको सुरक्षाका लागि भनेर सरकारले प्रतिव्यक्ति मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले यस जातिको समग्र विकासका लागि राउटे नीति बनाएको छ । तर, मन्त्रिपरिषद्ले पारित नगर्दा व्यवहारत लागू हुन सकेको छैन । राउटे नीतिमा राउटेलाई राउटे भएर बाँच्न दिने, बाहिरी समुदायका व्यक्तिको प्रवेशलाई कडाइ गर्ने, बस्तीमै पुगेर मदिरा सेवन बिक्री गर्न प्रतिबन्ध लगाउने, घुम्ती प्रहरी युनिट स्थापना गर्ने लगायतका प्रावधानहरू उल्लेख छन् । सो नीतिका मस्यौदाकार एवं पत्रकार उपाध्याय भन्छन्, ‘राउटे नीति मात्र पारित भएर लागू गर्नसके राउटेहरू अहिलेजस्तो असुरक्षित भएर बस्नुपर्दैन, उनीहरूको स्वतन्त्रता, गोपनीयता, संस्कृतिमाथि कसैले हस्तक्षेप गर्न सक्दैन ।’
राउटे नीतिमा बस्ती प्रवेश गर्ने गैरराउटेको अभिलेख व्यवस्थापन गर्ने उल्लेख छ । त्यसको उद्देश्य भनेको राउटे समुदायको संस्कार, संस्कृति, जीवनशैली, गोपनीयतालगायतका विषयमा गैरराउटे आगन्तुकलाई यथेष्ट जानकारी गराउनु हो । ‘त्यसो गर्नसके अश्लील फोटो भिडियो खिच्ने, जबर्जस्ती फोटो भिडियो वा अन्तर्वार्ता लिन नियमन हुनेछ,’ उपाध्याय भन्छन्, ‘पत्रकारले पत्रकार आचारसंहिता र अन्य सोसल मिडिया युजरहरूले सोसल मिडियाका आचारसंहिता मात्रै पालना गरे राउटेहरूको मानवअधिकार हनन हुँदैन, अहिलेजस्तो डिजिटल माध्यमबाट सिकार बन्नुपर्दैन ।’






