काठमाडौं । दुई दिनअघि भद्रकालीस्थित राष्ट्रिय महिला आयोग छिरेका युवाहरूको एउटा समूहले आयोगका तीन जना आयुक्त राखेर जबर्जस्ती एउटा चिठी थमाएर फोटो खिचायो ।
गृहमन्त्री भन्छन्– कारबाही हुन्छ
त्रसित मुद्रामा कागज बुझेका आयोगका पदाधिकारीले पढेपछि थाहा पाए– ‘जेनजी भावनाअनुसार काम भएन आफैंले बुझेर राजीनामा दिनु ।’
जेनजी अभियन्ता बताउँदै महिला आयोग छिरेको त्यही समूह नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेर महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मात्र मागेन, कार्यालयबाटै थुतेर निकाल्ने धम्की पनि दियो ।
यो समूह त्यसपछि नेपाल वायुसेवा निगम पुग्यो । निगम पुगेर नेतृत्वलाई आफूसमक्ष उपस्थित नगराए जे पनि गरिदिन सक्ने धम्की दियो ।
धम्की दिने समूहको नेतृत्व गरेका अर्जुनबहादुर शाही भने ठगी, चेक बाउन्सदेखि लेनदेनसम्मका धेरैवटा विवादमा मुछिएर अनसन्धानको घेरामा रहेको खुल्यो । प्रहरीका अनुसार शाहीविरुद्ध वैदेशिक रोजगार ठगीदेखि चेक अनादरसम्मका विभिन्न ६ वटा मुद्दा चलिरहेका छन् ।
शाही जेनजी आन्दोलनको सफलताको सेलिब्रेसन गर्दै प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दै हातेसाङ्लो बनाउनेमध्येका एक हुन् । शाही नेकपा एमालेको अनेरास्ववियु, माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारी हुँदै अहिले जेनजीको सहसंयोजक दाबी गरिरहेका छन् ।
शाहीका विगतका आपराधिक कार्य विस्तारै बाहिर आइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि महिला आयोग, निगम, प्राधिकरण हुँदै विभिन्न हाइड्रोपावर कम्पनीसम्म पुगेर जेनजीका नाममा धम्की दिनेहरूमध्येका अधिकांशको पृष्ठभूमि भने आपराधिक भएको सुरक्षाकर्मीको दाबी छ ।
जेनजीका नाममा भोटेकोशी पावर कम्पनी लिमिटेडसँग १० प्रतिशत सेयर लिने सम्झौता नै भइसकेको छ भने विभिन्न जेनजी अभियन्ताका नाममा १० भन्दा बढी हाइड्रोपावरमा पुगेर सेयर माग्नेदेखि पद खाली गर्न दबाब दिनेसम्मको गतिविधि जारी रहेको इप्पानले जनाएको छ ।
उता, जेनजीका नाममा एउटा समूहले गण्डकी विश्वविद्यालयका रजिस्ट्रार कैलाश तिमल्सिनालाई कार्यकक्षमै पुगेर दुव्र्यवहार गरेका छन् । कार्यकक्षमा प्रवेश गरेको एउटा समूहले तिमल्सिनालाई भ्रष्टाचार गरेको भन्दै तत्काल पद छाड्न आदेश दियो । आफूहरू विगतमा पटकपटक हिरासतमा परिसकेको भन्दै उनीहरूले पुनः हिरासत जान तयार भएरै आएको सार्वजनिक अभिव्यक्ति दिएको तिमल्सिनाको दाबी छ ।
– शीतलनिवासमा सेलेब्रेसन गर्नेविरुद्ध ६ मुद्दा
– एसएलआर बोकेर सिंहदरबार डुल्नेविरुद्ध आठ मुद्दा
– विभिन्न हाइड्रो कम्पनीमा सेयर बार्गेनिङ
– एन्फा पुगेर राजीनामा माग्ने बैंकिङ कसुरका अभियुक्त
– गण्डकी विश्वविद्यालयका पदाधिकारीलाई धम्की
– महिला आयोगका पदाधिकारीलाई राजीनामा दिन धम्की
– नागरिक उड्डयन र निगमका पदाधिकारीलाई पनि धम्की
गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार सत्ताबाट बहिर्गमन भएका दलकै कारण सुरक्षा खतरा रहेको बताइरहेका बेला जेनजीका नाममा दैनिकजसो धम्की दिनेक्रम बढ्दो छ ।
सरकारले आपराधिक गतिविधि गर्ने र शान्ति सुरक्षामा असर पार्न खोज्ने जो कोहीलाई कारबाही गर्ने गृहमन्त्री अर्यालले बताएकै दिन जेनजी आन्दोलनमा सिंहदरबारमा लुटिएको हतियार एसएलआर देखाउने ललितपुर–१३ कुसुन्तीका राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले बोकेको एसएलआर सेनालाई बुझाएको भनिए पनि सो हतियार बुझाएको कुनै प्रमाण नभएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा उनीविरुद्ध ज्यान मार्ने उद्योग, बैंकिङ ठगीलगायतका आठवटा मुद्दा रहेको प्रहरीले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालयमा पुगेर महासचिव किरण राईलाई जेनजीका नाममा ज्ञापनपत्र बुझाउँदै पद छाड्न दबाब दिने समूहमा संलग्नमध्येका अनिस गिरी बैंकिङ कसुरको मुद्दा खेपिरहेका व्यक्ति भएको खुलेको छ ।
जेनजी अगुवाका रूपमा राष्ट्रपति र प्रधानमन्त्रीसँग निरन्तर वार्तामा रहेकाहरूले भने जेनजीका नाममा कसैलाई धम्काउने र दुव्र्यवहार गर्ने कार्य स्वीकार्य नहुने भन्दै सुरक्षाकर्मीको ध्यानाकर्षण गराइरहेको बताएका छन् ।
‘हामी जेनजीहरूले व्यक्तिगत र समूहगत रूपमा कसैप्रति आक्रमण, दबाब र पदत्यागका लागि दबाब दिएका छैनौं, जेनजीका नाममा कसैले त्यसो गर्छ भने अनुसन्धानको दायरामा ल्याइयोस्,’ वार्ता समितिमा रहेका एक जेनजी प्रतिनिधिले राजधानीसँग भने ।
जेनजीका नाममा अराजकता र असुरक्षा बढ्दै गए पनि गृहमन्त्री अर्याल भने सत्ताच्युत भएका दलबाट सुरक्षा चुनौती भएको बताइरहका छन् । तर, उनले कुन दलका कस्ता गतिविधिका कारण सुरक्षा खतरा छ भनेरचाहिँ बताएनन् ।
उनले जेनजीका नाममा भइरहेको अराजकता सह्य नहुने भन्दै सुशासन विपक्षमा लाग्नेहरूलाई कारबाहीको दायरमा ल्याउने बताएका छन् ।






