पर्यटन र सूचना प्रविधिमा थुप्रियो वैदेशिक लगानी

काठमाडौं । नेपालमा पर्यटन क्षेत्र र सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी आकर्षण देखिएको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म स्वीकृत लगानी परियोजनामध्ये पर्यटन क्षेत्रले सबैभन्दा धेरै लगानी आकर्षित गरेको छ ।

यस अवधिमा पर्यटनसँग सम्बन्धित १ सय ३ वटा परियोजनामा १ अर्ब ४६ करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ ।

सूचना प्रविधि क्षेत्रमा भने परियोजनाको संख्याका हिसाबले अग्रता देखिएको छ । १ सइ ६२ वटा परियोजनाका लागि १५ करोड ३७ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ, जसले कुल स्वीकृत उद्योगहरूको करिब ५२ प्रतिशत हिस्सा ओगटेको छ ।

विभागका अनुसार यस अवधिमा स्वीकृत ३ सय ११ वटा नयाँ उद्योगहरूमा विदेशी लगानीकर्ताले लगानी गर्न प्रतिबद्धता जनाएका छन् । लगानीका हिसाबले पर्यटन क्षेत्र अग्रपंक्तिमा रहेको छ भने उद्योग संख्याका हिसाबले सूचना प्रविधि (आईसीटी) क्षेत्र सबैभन्दा अगाडि छ । विभागको अनुमानअनुसार यी उद्योगले करिब ३३ हजार ८ सय १४ जनालाई रोजगारी सिर्जना गर्नेछन् ।

गत आवमा पनि क्षेत्रगत हेर्दा एफडीआईको आकर्षण पर्यटन र सेवा क्षेत्रमा अधिक देखिएको थियो । १ वर्षमा कुल १ सय ९७ एफडीआई प्रस्ताव पर्यटन क्षेत्रमा स्वीकृत भएको देखिएको थियो । त्यो कुल स्वीकृत संख्याको ४८ प्रतिशत हो । त्यस्तै, सेवा क्षेत्रमा १ सय ३३ वटा लगानी स्वीकृत भएका थिए ।

चालू आवको पहिलो त्रैमासिकको ३५ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धताले नेपालमा लगानी वातावरण क्रमशः सुधारोन्मुख रहेको संकेत दिएको छ । लगानीकर्ताको रुचि सूचना प्रविधि र पर्यटन क्षेत्रमा केन्द्रित रहँदा यी क्षेत्रहरूमा रोजगारी र प्रविधिगत ज्ञान सन्तुलनमा सुधार आउन सक्छ ।

तर, लगानी अझै पनि साना उद्योगमा सीमित रहनु र पूर्वाधार तथा ऊर्जा क्षेत्रको कमजोरीले दीर्घकालीन आर्थिक रूपान्तरणमा चुनौती खडा गर्ने विश्लेषकहरूको मूल्यांकन छ । नेपालले अब नीति स्थायित्व, प्रशासनिक सरलीकरण र लगानी सुरक्षाको सशक्त संयोजनमार्फत विदेशी लगानीलाई ठूला परियोजनातर्फ उन्मुख गराउन आवश्यक छ ।

त्यस्तै, उत्पादनमूलक क्षेत्रका १५ परियोजनामा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ परियोजनामा ४ करोड र सेवामूलक क्षेत्रका १९ परियोजनामा १८ करोड १० लाख रुपैयाँबराबरको लगानी स्वीकृत भएको छ ।

खनिज, पूर्वाधार र ऊर्जा क्षेत्रमा भने यस अवधिसम्म कुनै नयाँ लगानी प्रस्ताव दर्ता नभएको उद्योग विभागको प्रतिवेदनमा उल्लेख छ । यसले देखाउँछ कि लगानी अहिले पनि ती क्षेत्रमा आकर्षित हुन सकेको छैन ।

नेपालमा चालू आव २०८२–८३ का पहिलो तीन महिना (साउनदेखि असोजसम्म)मा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ ।

साना उद्योगमै बढी लगानी
विभागको तथ्यांकअनुसार चालू आवमा स्वीकृत उद्योगहरूमध्ये साना उद्योगहरूको हिस्सा अत्यधिक रहेको छ । पहिलो त्रैमाससम्म स्वीकृत ३ सय ११ मध्ये ३ सयवटा साना, चारवटा मध्यम र सातवटा ठूला उद्योग रहेका छन् ।

गत असोज महिनामा मात्रै ७५ साना उद्योगमा २ अर्ब ४ करोड ५७ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । यस तथ्यांकले देखाउँछ कि नेपालमा वैदेशिक लगानी अझै पनि साना तथा प्राविधिक सेवामूलक क्षेत्रमा केन्द्रित छ ।

स्वीकृति प्रणाली र लगानी प्रवाह
उद्योग विभागका अनुसार पहिलो त्रैमासमा अटोमेटिक रुटमार्फत १ सय ९७ उद्योगले ३३ अर्ब २७ करोड ४८ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता दर्ता गरेका छन् । बाँकी १ सय १४ उद्योगले अप्रुभल रुटमार्फत १ अर्ब ८६ करोड २९ लाख रुपैयाँबराबरको लगानी स्वीकृत गराएका छन् ।

अटोमेटिक रुट प्रणाली लागू भएपछि लगानी स्वीकृतिको समय घटेको र प्रक्रियागत झन्झट कम भएको विभागले जनाएको छ । यसले विशेषगरी साना र मझौला उद्योगहरूलाई लाभ पुगेको बताइन्छ ।

भिसा सिफारिस घट्यो
गत वर्षको सोही अवधिसँग तुलना गर्दा लगानीकर्ताका लागि गरिएको भिसा सिफारिसको संख्या घटेको छ । आव २०८१÷८२ को पहिलो त्रैमासमा ८ सय २२ जना लगानीकर्ताका लागि भिसा सिफारिस गरिएको थियो भने चालू वर्षको सोही अवधिमा यो घटेर ६ सय २५ मा सीमित भएको छ ।
प्रतिनिधि र आश्रित भिसा सिफारिसमा पनि क्रमशः ९० र १६४ को कमी आएको छ । यद्यपि, लगानी प्रतिबद्धताका हिसाबले भने असोज महिनामा वृद्धि भएको छ । विभागका अधिकारीहरूले यसलाई लगानी वातावरण सुधार र नीतिगत सरलीकरणको नतिजा भएको बताएका छन् ।

३४ हजार जनालाई रोजगारी
लगानी प्रतिबद्धताअनुसार तीन महिनाको तथ्यांकले ३३ हजार ८ सय १४ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । पहिलो त्रैमासमा साना उद्योग ३ सय, मध्यम उद्योग चार र ठूला उद्योग सातवटा दर्ता भएका छन् ।

आर्थिक विश्लेषकहरूका अनुसार हालको लगानी संरचना नेपालमा साना उद्योग र प्रविधि क्षेत्रमा केन्द्रित हुनु सकारात्मक संकेत हो । यद्यपि, पूर्वाधार, ऊर्जा र उत्पादन क्षेत्रमा ठूला लगानी नआउनु दीर्घकालीन विकासका दृष्टिले चुनौतीपूर्ण रहेको बताइन्छ ।

नेपालमा विदेशी लगानी स्थायी रूपमा बढाउन नीति स्थायित्व, कर प्रणाली सुधार र लगानी सुरक्षासम्बन्धी कानुनी संरचना सुदृढ गर्न जरुरी छ । हालको लगानी प्रवृत्ति उत्साहजनक छ, तर यो स्थायित्वमा रूपान्तरण गर्न राजनीतिक स्थिरता र प्रशासनिक पारदर्शिता अपरिहार्य रहेको विश्लेषकहरू बताउँछन् ।

गत आवमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडीआई) झन्डै दोब्बरले बढेको छ । आव २०८०–८१ मा झन्डै ६२ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडीआई) आएको थियो ।

उद्योग विभागका अनुसार गत आवमा ४ सय ७ परियोजनामार्फत ६१ अर्ब ९० करोड ४५ लाख ४६ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको हो । आव २०८०–८१ मा ३८ अर्ब विदेशी लगानी प्रतिबद्धताको लक्ष्य रहेकामा ६१ अर्ब ९० करोड लगानी प्रतिबद्धता आएको हो ।

अघिल्लो आवमा ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो र सो अवधिमा ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ खुद विदेशी लगानी भित्रिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी