खड्का र शाक्यका कारण भारतबाट आयात हुने विद्युत् महँगो: प्राधिकरण

काठमाडौं । आगामी हिउँदयामको विद्युत् व्यवस्थापनका लागि गरिएको सम्झौता नेपाल विद्युत् प्राधिकरणका तत्कालीन सञ्चालक समिति र व्यवस्थापनका कारण महँगो हुन गएको छ ।

प्राधिकरणका अनुसार नेपालको विद्युत् प्रणाली मुख्यतः नदी प्रवाहमा आधारित भएकाले वर्षायाममा उत्पादन बढी भई निर्यात गर्नुपर्ने र सुख्खायाममा माग उच्च हुँदा भारतबाट आयात अपरिहार्य हुने अवस्था छ । गत आर्थिक वर्षमा नेपालले भारततर्फ २ अर्ब ३८ करोड युनिट विद्युत् निर्यात गरेको र १ अर्ब ६८ करोड युनिट आयात गरेको तथ्य प्राधिकरणले सार्वजनिक गरेको छ ।

प्राधिकरणले भारतको इन्डियन इनर्जी एक्सचेन्ज मार्फत डे–अहेड र रियल टाइम बजार प्रणालीबाट विद्युत् खरिद गर्दै आएको छ । तर, भारतमा पनि माग बढेकाले गत वर्ष सुख्खायामका महिनामा नेपालले बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म अर्थात् सोलार आवर–पिक आवर बाहेकका समयमा मात्रै विद्युत् खरिद गर्न पाएको थियो । प्राधिकरणका अनुसार चालू आवमा पनि यही अवस्था रहने सम्भावना भएकाले हिउँदयामका लागि अग्रिम रूपमा केही परिमाणमा बेस इम्पोर्ट गर्नुपर्ने आवश्यकताअनुसार सम्झौता गरिएको हो ।

हिउँदयामको विद्युत् खरिदका लागि प्राधिकरणले गत साउन १३ गते भारतका दुई सरकारी लगानीयुक्त कम्पनी पीटीसी इन्डिया लिमिटेड र एनटिपिसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग प्रस्ताव माग गरेको थियो ।

पीटीसीले २३ साउनसम्मका लागि प्रतियुनिट ६.७४ भारतीय रुपैयाँ (भारु) मा प्रस्ताव गरेको थियो भने एनभीभीएनले ७.७० भारुमा प्रस्ताव पठाएको थियो । तर, तत्कालीन प्राधिकरण सञ्चालक समितिबाट निर्णयमा ढिलाइ भएकाले पीटीसीको प्रस्ताव भदौ २३ गतेबाट स्वतः रद्द हुन गएको थियो । सो बेला प्राधिकरणको अध्यक्षमा तत्कालीन ऊर्जामन्त्री दीपक खड्का र कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य थिए ।

खड्का र शाक्यले समयमा निर्णय नगरेपछि पुनः असोज ६ गते प्रस्ताव माग्दा पीटीसीले दर ६.९५ भारु प्रस्ताव गरेको र एनभीभीएनले ७.६७ भारुमा संशोधित प्रस्ताव पठाएको प्राधिकरणले जनाएको छ ।दुई प्रस्तावबीच प्रतियुनिट ०.७२ भारुको मूल्य अन्तर रहेको उल्लेख गर्दै प्राधिकरणले ‘उपलब्ध विकल्पहरूमध्ये सबैभन्दा सस्तो र व्यावहारिक प्रस्तावमा सम्झौता गरिएको’ बताएको छ ।

विकल्पभन्दा सस्तो प्रस्ताव
नेपाल–भारत विद्युत् आदानप्रदान समितिले यस वर्ष टेक एन्ड पे आधारमा १३२ केभी भोल्टेजका लागि प्रतियुनिट ८.१० भारु दर तोकेको छ । गत वर्ष एनभीभीएनसँग गरिएको सम्झौता दर ७.०५ भारु थियो । तर भारतीय पक्षबाट अनुमति नपाएकाले कार्यान्वयन हुन सकेको थिएन । प्राधिकरणले तुलना गर्दै भनेको छ, ‘एनभीभीएनको अहिलेको प्रस्ताव (७.६७ भारु), पीईसीले तोकेको दर (८.१० भारु), गत वर्षको सम्झौता दर (७.०५ भारु) र इन्डियन इनर्जी एक्सचेन्जको उच्चतम दर (१० भारु) मध्ये पीटीसीको ६.९५ भारु सबैभन्दा कम दर हो ।’

त्यसअनुसार प्राधिकरण सञ्चालक समितिको असोज १० गतेको बैठकबाट बिहार–नेपाल १३२ केभी लाइनमार्फत ८० मेगावाट र ढल्केबर–मुजफ्फरपुर लाइनमार्फत १ सय मेगावाट गरी कुल १ सय ८० मेगावाट विद्युत् खरिद गर्ने निर्णय भएको छ । यो सम्झौता राउन्ड द क्लक मोडमा सन् २०२६ जनवरीदेखि मे महिनासम्म लागू हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ