यस्ता छन धनकुटाका पर्यटकीय गन्तव्य

धनकुटा । नेपाल पर्यटकीय दृष्टिकोणले उत्कृष्ट रोजाइमा पर्ने मुलुक हो। यहाँ निकै मानिस पर्यटन व्यवसायमै लागेर राम्रो आम्दानी गर्न सफल भएका छन। हुन त पहिलो र दोस्रो कोरोना महामारीबाट जसोतसो पर्यटन व्यवसाय तंग्रदैँ गरेको छ। नेपालमा औपचारिक रुपमा पर्यटन व्यवसाय सुरु भएको लगभग ७ दशक भएको छ। यति लामो इतिहास बन्दासम्म पनि नेपालमा वार्षिक ११–१२ लाख विदेशी पर्यटक भित्रिँदैमा नेपालीले गर्व गर्नुपर्ने अवस्था छ। अझ कोरोना महामारीका कारण करिब शुन्यमा झरेको पर्यटन व्यवसायले यो तथ्यांक अनुमान गर्दा पनि निकै हर्षित हुनुपर्ने अवस्था छ। विश्वमा पर्यटकीय हिसाबले नेपाललाई अब्बल मानिन्छ। ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालमध्ये नेपालमा ८ वटा रहेका छन। तीमध्ये कोशी प्रदेशमा ५ वटा पर्छन। कोशी प्रदेशमा रहेका ८ हजार मिटरमाथिका ५ वटा हिमालमध्ये विश्वकै अग्लो सगरमाथा, विश्वकै तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं मकालु र छैटौं अग्लो चोओ यु रहेका छन।

कोशी प्रदेशमा रहेको धनकुटा जिल्ला पर्यटकीय हिसाब र ताजा तरकारी उत्पादनको हिसाबले अब्बल जिल्ला मानिन्छ। तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको धनकुटा जिल्ला भेडेटार, नाम्जे गाउँ र नमस्ते झरनाका कारण चर्चित छ।

साँगुरीगढी गाउँपालिका
सुनसरी जिल्लासँग सीमा जोडिएको धनकुटास्थित साँगुरीगढी गाउँपालिकामा रहेको भेडेटार १४ सय मिटर अग्लो पहाडको टुप्पोमा अवस्थित सुन्दर बजार हो। ०३८ सालमा बेलायती युवराज चाल्र्सको भ्रमणपछि यसको चर्चा चुलिएको हो। ०६८ सालमा सिएनएनले भेडेटार नाम्जे गाउँलाई विश्वका उत्कृष्ट १२ पर्यटकीय गन्तव्यको सूचीमा राखेको थियो। अझ भेडेटारमा स्काइ वाक सञ्चालनमा आएपछि यसको चर्चा थप चुलिएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारलाई साहसिक पर्यटनको हव बनाउन चाल्स पोइन्टमा स्काइ वाक टावर सञ्चालनमा ल्याइएको हो। एघार रोपनीमा रहेको स्काइ वाकको लम्बाइ ४१ मिटर, चौडाइ २ मिटर र १८ दशमलब ५ मिटर अग्लो टावर रहेको छ। स्काइ वाक सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए। स्काई वाकबाट पूर्वका १४ जिल्लाका विभिन्न ठाउँहरु नियाल्ल्न सकिन्छ। चार बर्षअघिदेखि निर्माण थालिएको स्काईवाक प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले २० करोड लगानीमा निर्माण गरेको हो। स्काइ वाकको आम्दानीबाट साँगुरीगढी गाउँपालिका, धरान उपमहानगरपालिका र प्रदेश सरकारले लिने राजस्वको सहमति पश्चात सञ्चालनमा ल्याइएको परियोजनाका कार्यकारी निर्देशक सञ्जिव रोक्काले जानकारी दिए। यस्तै साँगुरीगढी गाउँपालिकाको डाँडाबजारमा रहेको ध्वजे डाँडा, एसियाकै ठूलो बरको रुख पर्यटकीय केन्द्र बन्दै गएका छन्।

चौविसे गाउँपालिका
धनकुटा जिल्लामा तालहरुको स्थानीय तह भनेर चौविसे गाउँपालिकालाई चिनिन्छ। यो गाउँपालिकाको केन्द्रमा रहेको रानी तालसँगै, धप्पड ताल, कांगडा ताल रहेको छ। यस्तै नागबेली पार्क यहाँका आकर्षक हुन्। गाउँपालिकाले तालहरुको संरक्षणसँगै पर्यटनको क्षेत्रमा काम गरिरहेको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले बताए। उनले रानी ताल नजिकै रहेको तर अहिले पुरिएको राजा तालको संरक्षणमा पनि योजना बनाइरहेको जानकारी दिए । रानी तालमा बोटिङ र मोटरबोट सञ्चालन रहेको छ।

सहिदभूमि गाउँपालिका
एसियाकै गुलियो सुन्तला पाइने ठाउँका रुपमा चर्चित खोक सहिदभूमि गाउँपालिकामा पर्छ। पछिल्लो समय जलवायु परिवर्तनले सुन्तला उत्पादनमा कमी आएको भएपनि यसको संरक्षणका लागि गाउँपालिकाले काम गरिहेको अध्यक्ष मनोज राईले बताए। २०३६ सालमा भएको चर्चित छिन्ताङ हत्याकाण्डमा सहिदभूमिका १६ जनाको हत्या भएको थियो। निरंकुश पञ्चायती शासनको विरोध गरेको भन्दै १६ जनाको हत्या भएको थियो। उनीहरुको सम्झनामा छिन्ताङको पञ्चकन्यामा सहिदको शालिक राखिएको छ भने पाताल डाँडामा सहिद पार्क निर्माण गरिएको छ। यस्तै यहाँ रहेको छिन्ताङ मन्दिर पूर्वमै प्रशिद्ध रहेको छ। औसी, एकादशी र आइतबार नखुल्ने यस मन्दिरमा अन्य दिन बेलुका पुजा गर्ने चलन रहेको छ। देशभरका अन्य मन्दिरमा बिहान पुजा हुँदा छिन्ताङ मन्दिरमा साँझ परेपछि पुजा तथा बलि दिने चलन रहेको छ।

पाख्रिबास नगरपालिका
धनकुटाको पाख्रिबास नगरपालिकामा कृषि अनुसन्धान केन्द्र एक पर्यटकीय केन्द्र हो। २०४० सालमा बेलायत सरकारले निर्माण गरेको यस केन्द्र बनेका एकै प्रकारका घर तथा यहाको वाताबरण हरेकको मन लोभ्याउने गरेको छ। पाख्रिबासमा भूल्के जलदेवी सिमसार, राम्चे डाँडा यहाँका पर्यटकीय गन्तव्य हुन्। गर्मीको सिजनमा भूल्केमा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्ने गरेको छ। यस्तै राम्चे डाँडा भने गर्मी छल्ने गन्तव्य बन्ने गरेको छ। पाख्रिबास नगरपालिकाको माथिल्लो क्षेत्रमा ताजा तरकारी उत्पादन हुने क्षेत्र रहेको नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङले बताए।

धनकुटा नगरपालिका
एभोकार्डो फलको राजधानीको रुपमा रहेको धनकुटामा धेरै पर्यटकीय स्थान रहेका छन्। यहाँ निशान भगवती मन्दिर, मधुगंगा महादेवस्थान, हिलेबजार, एभोकार्डो पार्क, लुङ्धाङ गुफा, चमेरे गुफा, चुलिबन, औधोगिक ग्राम, प्रदेश संग्रहालय, विश्रान्ति मन्दिर आदि पर्यटकीय तथा धार्मिक स्थलहरु रहेका छन। धनकुटा नगरपालिकाको गुराँशे, त्रिशुले लगायतका क्षेत्रमा ताजा तरकारी उत्पादनका पकेट क्षेत्र पनि हुन्। धनकुटाले तरकारी उत्पादनसँगै एभोकार्डो खेती र पर्यटक विकासमा विशेष काम गरिहेको नगर प्रमुख चिन्तन तामाङले बताए।

महालक्ष्मी नगरपालिका
महालक्ष्मी नगरपालिकामा लेगुवा झरना, झाक्री पार्क, घुमाउने लगायतका ठाउँ पर्यटकीय संभावना भएका ठाउँ हुन् । यी ठाउँको विकासको लागि योजना अनुरुप काम भइरहेको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुबराज रायाले जानकारी दिए। महालक्ष्मी नगरपालिकाले कृषिमा गोठ सुधार कार्यक्रम, गाइ वितरण, अनुदानमा पानी तताउने मेसिन वितरण गरेको छ। पर्यटन र कृषिलाई सँगै लिएर गए मात्रै नगरको विकास हुने प्रमुख रायको भनाइ छ। उनले यसका लागि टोल टोलबाट सुझाव माग गरेर योजना बनाएर काम गरिरहेको बताए।

छथर जोरपाटी गाउँपालिका
धनकुटा तरकारी उत्पादनमा पनि अब्बल मानिएका ठाउँ नै छथर जोरपाटी गाउँपालिका हो। यहाँ उत्पादन भएको तरकारी तराईका बजार हुँदै भारत, बंगलादेश र भुटानसम्म निर्यात हुने गरेको छ। यहाँ विशेष गरेर आलु, कोपी, बन्दा उत्पादन हुने गरेको छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र कुमार सुब्बाले जानकारी दिए। तरकारी उत्पादनसँगै छथरमा धनकुटा कै अग्लो पटेक डाँडा, सिधुवा बजार लगायत विभिन्न पार्कमा पर्यटकको नजरमा पर्ने गरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)