धनकुटा । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा ३ हजार २ सय ७२ जना नयाँ मतदाता थपिएका छन्। सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्लामा उत्साहजनक रूपमा मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य अगाडि बढेको थियो। निर्वाचन आयोगको ९ असोजको निर्णयअनुसार १० गतेबाट मतदाता नामावली दर्ता कार्य सुरु भएको थियो। जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार ३ हजार २ सय ७२ जना नयाँ मतदाता थपिएका छन्।
जसमा जिल्ला निर्वाचन कार्यालयमा आएर १ हजार २ सय ८६ जना र राष्ट्रिय परिचय पत्रबाट १ हजार ९ सय ८६ जना मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयमा आएर नाम दर्ता गरेका १ हजार २ सय ८६ जनामध्ये ५ सय ७२ महिला र ७ सय १४ पुरुष रहेका छन्। राष्ट्रिय परिचय पत्रबाट थपिएकामा १ हजार ९ सय ८६ जनामा महिला पूरुषको संख्या छुट्याउन केही समय लाग्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए।
जिल्ला निर्वाचन कार्यालयमा आएर नाम दर्ता गरेका नयाँ मतदातामध्ये ५ सय १ जना महिला र ६ सय ३३ पुरुष गरि १ हजार १ सय ३३ जनाले जिल्लाभित्रै मतदान गर्ने छन् भने ७१ महिला र ८१ पुरुष गरि १ सय ५२ जनाले धनकुटा जिल्लाभन्दा बाहिर मतदान गर्ने छन्। अर्थात् निर्वाचन आयोगले एक जिल्लाको मतदाताले अर्को जिल्लाको मतदाता कार्यालयमा गई नाम दर्ता गर्ने सुविधा राखेअनुसार धनकुटाबाट १ सय ५२ जनाले सेवा लिएको सूचना अधिकारी श्रेष्ठले बताए। धनकुटामा यसअघि गत असार १५ सम्म संकलित मतदाता नामावली संकलनमा १ लाख १७ हजार १० जना मतदाता रहेका थिए।
सरकारले राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम समावेश गर्न पाउने व्यवस्था मिलाएपछि विदेशमा रहेका तथा कामको खोजीमा बाहिर रहेका धेरै लाभान्वित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मङ्सिर २० गते मतदाताको प्रारम्भिक नामावली प्रकाशन हुने र त्यसपछि अद्यावधिकको काम हुने छ। नाम दोहोरो परेका, कागजात तथा रीत नपुगेका, मृत्यु भएकाको विवरण अद्यावधिकपश्चात् पुस १५ मा अन्तिम नामावली तयार हुने सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
यसैबिच धनकुटामा आगामी फागुन २१ गते प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि १ सय १९ मतदानस्थल तय भएका छन्। यस्तै २०७९ सालको प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनमा निर्वाचनमा १ सय १९ मतदानस्थलमा १ सय ६२ मतदान केन्द्र रहेकामा आगामी निर्वाचनको लागि मतदाता थपिएसँगै मतदान केन्द्र बढ्न सक्ने जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।
यसै गरि कोशी प्रदेशमा एक लाख ५७ हजार ६ सय १३ जना नयाँ मतदाता थपिएका छन्। असोज १० देखि मंसिर पाँच गतेसम्ममा १३ जिल्लाका निर्वाचन कार्यालय तथा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा नयाँ मतदाता थपिएका हुन्। प्रदेश निर्वाचन कार्यालयले प्रदेश कार्यालय पुगेर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या ५८ हजार ९ सय २५ जना रहेको जनाएको छ। त्यसैगरी, राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा ९८ हजार ६ सय ८८ मतदाता थपिएको जनाएको हो।
सम्बन्धित समाचार
विराटनगरमा महेश बस्नेतलाई रातो मसी छ्याप्ने को ?
मिथ्या सूचनामा निगरानी, हरित निर्वाचनमा जोड
दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
नुहाउने क्रममा बेपत्ता व्यक्तिको शव फेला
सुरक्षा जोखिमले थिचिँदै निर्वाचन तयारी
हिमालयन माहायान छेदेन छ्याकी खोलो वौद्ध गुम्बाको संरक्षण
प्रधानमन्त्रीमाथि चौतर्फी दबाब: जसले बनायो उसैले माग्न थाल्यो राजीनामा
१ सय २९ दल दर्ता






