खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले अबको निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने बताए ।
धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहनुभएका अध्यक्ष साम्पाङले भिजन दृष्टिकोण नभएका नेताको हातमा देश जाँदा विकास नभएको आरोप लगाए । उनले भने, अहिलेका नेताहरुसँगै कुनै भिजन छैन । विदेशीको ऋणबाट देश विकास हुँदैन, देश विकास गर्न भिजन चाहिन्छ । नेपालका अहिलेका नेताहरुसँग कसरी कमिशन खान पाइन्छ भन्ने सोँचमात्र छ । भ्रष्ट नेताहरुबाट विकास सम्भव छैन ।
देशको वर्तमान समस्या पहिचान गर्न नसक्ने व्यक्ति नेता हुन नसक्ने समेत अध्यक्ष साम्पाङले दाबी गरे । उनले भने, नेताहरुले पटक पटक एउटै समस्याको समाधान गर्छु भनेर भोट मागेको देखिन्छ । तपाईंहाम्रो भोटले जितेका नेताहरुले दश वर्षसम्म एउटै योजनामा बजेट हालेर कमिशन खाइरहेका छन्। अब नुन र सुन के हो भनेर चिन्ने दिन आएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्षम नेतालाई भोट गर्न सम्पूर्ण देशवासीलाई आग्रह गर्छु ।” पार्टी अध्यक्ष साम्पाङले आफ्नो अमूल्य भोट रक्सी, मासु र आश्वासनमा खेर नफाल्न पनि देशवासीलाई आग्रह गरे ।
सभालाई सम्बोधन गर्दै उनले भने, अहिलेका ठूला राजनीतिक दलका नेताहरु नेपालको प्रधानमन्त्री बन्न विदेशीको आशिर्वाद लिने गर्छन् । विदेशीको आशिर्वादमा बनेको सरकार कसरी नेपालको सरकार हुन सक्छ । नेताहरु स्वाधिनताको गफमात्रै गर्छन् । अब हामीहरु नेताको गफमा भुल्न हुँदैन ।
हरेक नेपाली आत्म निर्भर हुनुपर्छ । अनिमात्र देशको विकास सम्भव छ । सम्बोधनकै क्रममा अध्यक्ष साम्पाङले देशको शान्ति सुरक्षाको अवस्था समेत ठीक नरहेको बताए । आफ्नै नेतृत्वमा पार्टी दर्ता गरेपछि पहिलो पटक गृह जिल्ला खोटाङ आएका अध्यक्ष साम्पाङले नेपालका सबै राजनीतिक दलका नेताहरु भ्रष्ट रहेको आरोप लगाए । पार्टीका केन्द्रीय पदाधिकारीहरुको समेत सहभागिता रहेको आमसभामा सहभागी जिल्लावासीलाई अध्यक्ष साम्पाङले माटो समाएर शपथ ग्रहण गराएका छन् ।
तत्कालीन जिल्ला विकास समिति खोटाङका पूर्व उपसभापति सीताराम राई, पहिचानवादी नेता मोहन गुरुङ लगायत विभिन्न पार्टी परित्याग गरी श्रम संस्कृति पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष साम्पाङले टीका लगाएर स्वागत गरेका छन् । दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको आमसभामा सहभागी हुनुअघि श्रम संस्कृति पार्टीका सयौँ नेता तथा कार्यकर्ताहरुले मोटरसाईकल, गाडी तथा पैदल यात्रासहितको र्यालीले दिक्तेल बजार परिक्रमा गरेका थिए ।
सांस्कृतिक झाँकीसहित बजार परिक्रमा गरेको पार्टीले यसअघि तदर्थ समिति रहेको जिल्ला कार्यसमितिलाई आमसभाकै बीचमा पूर्णता दिएको घोषणा गरेको छ । श्रम संस्कृति पार्टीले खोटाङमा प्रताप राईको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सामाजिक अभियान्ता उमा चाम्लिङ, पहिचानवादी नेतृ सँगीता किराती र राजेन्द्र राई, सचिवमा धनिराम नछुङ, सहसचिवमा भबिराज राई र मिलन खड्का, कोषाध्यक्षमा कौशिला राई, सहकोषाध्यक्षमा सुवास राई र प्रवक्तामा राजन राई रहेका छन् ।






