काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आज शुक्रबार (९ माघ) आफ्नो २५औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) मनाउँदै छ । देश र जनताको सेवा सुरक्षाको खातिर संगठनमा आबद्ध राष्ट्रसेवकहरूको अथक मेहनत र कर्मले संगठनले आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ मूल नारासहित तत्कालीन समयको विषम् परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको रक्षा गर्नका लागि तत्कालीन श्री ५ को सरकारले २९ पुस २०५६ मा अद्र्धसैनिक संगठन स्थापना गर्ने लक्ष्यअनुरूप १७ माघ २०५६ मा तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ ले दिएको सुझाव बमोजिम ९ माघ २०५७ मा तत्कालीन श्री ५ महाराजधिराज वीरेन्द्रवीर विक्रम शाहदेवबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएको थियो ।
यही दिनबाट सशस्त्र प्रहरी बलको विधिवत् रूपमा स्थापना भएको थियो भने तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीको पहलमा ८ कात्तिक २०५८मा परिस्थितिको आवश्यकताअनुसार नेपाली सेना र नेपाल प्रहरीको बीचमा एक अर्को शक्तिको खाँचो महसुस गरी सुरुमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलको गठन गरिएको थियो ।
गठनसँगै तत्कालीन सरकारले देहायबमोजिमका सशस्त्र प्रहरी बल नेपालको सञ्चालन गर्न सशस्त्र प्रहरी ऐन २०५८ को परिच्छेद २, दफा (६) को उपदफा (१) मा नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न, कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न, कुनै भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण गर्ने जस्ता १३ कार्यादेश निर्धारण गरेको थियो ।
पछि नेपाल सरकार मन्त्रिपरिषद्को ११ असोज २०६९ को निर्णयानुसार राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा गर्न र नेपाल सरकार मन्त्रिपरिषद्को १५ पुस २०७७ को निर्णयानुसार रेलवे सुरक्षा गर्न कार्यादेश थप भएको थियो । स्थापनापश्चात् काठमाडौ ंको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्थापना र कृष्णमोहन श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको थियो ।
स्थापनको छोटो अवधिमै सशस्त्र प्रहरी बल नेपालले आफ्नो अभिभावक गुमाएको थियो । संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठको प्रातकालीन भ्रमणको दौरान १२ माघ २०५९ मा गोली प्रहारबाट हत्या गरिएको थियो । उनीसँगै उनकी धर्मपत्नी तथा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष नुडुप श्रेष्ठ र अंगरक्षक सूर्यप्रसाद रेग्मीले सहादत प्राप्त गरेका थिए ।

यो २५ वर्षे ऐतिहासिक यात्रामा राज्यप्रदत्त कार्यादेशहरू प्रभावकारी ढंगले सम्पादन गर्दै संगठनको संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष जोड दिँदै आएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । हालका दिन सशस्त्र प्रहरी बल नेपाल ‘बीआईआरडी’ अवधारणा अनुसार अगाडि बढिरहेको छ ।
जसअन्तर्गत सीमा सुरक्षा र विपद् व्यवस्थापनलाई बढी जोड दिइएको छ । १ मं सिर २०६१ को निर्णयानुसार तत्कालीन शाही नेपाली स नाको सट्टा प्रमुख भन्सार नाकाहरूे सुरक्षाको लागि तैनाथ भएको थियो । ८ फागुन २०६३ मा डेडिकेटेड रूपमा सीमा सुरक्षाको जिम्मेवारी पाएको मान्न सकिन्छ ।
सशस्त्र प्रहरी बल नेपालले ७ वटा रिजर्भ गण, ४५ वटा सीमा सुरक्षा कार्यालय र २ सय १५ वटा बीओपी (२ सय ४ वटा नेपाल–भारत सीमातर्फ र ११ वटा नेपाल–चीन सीमातर्फ) मार्फत सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुका साथै राजश्व संकलनमा समेत सहयोग पु¥याएको छ । नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाउन १ कात्तिक २०८० देखि सशस्त्र प्रहरी बल नेपालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको सुरुवात गरेको थियो ।
जसअन्तर्गत ‘बोर्डर एरिया डेभलप्मेन्ट प्रोग्राम’ मार्फत सीमा इलाकाको बाटोघाटो सरसफाइ तथा स्तरोन्नति, अन्य विकास निर्माणका कार्यहरूमा सहयोग, सचेतनामूलक कक्षाहरू, स्वास्थ्य शिविर र सीमावासी जनताहरूमा सिप तथा स्वरोजगारमूलक कार्यक्रमलगायत विकाससँग सम्बन्धित विभिन्न क्रियाकलाप गर्दै सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गरिरहेको सशस्त्रले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापनमा विशेषतः विपद् प्रतिकार्यमा अब्बल सुरक्षा फौजको रूपमा रहेको छ । विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले २२ मंसिर २०६८ मा चितवनको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतारोहणको क्रममा प्रतिकूल मौसमको कारण तथा भारी हिमपातमा हुनसक्ने दुर्घटनाहरूमा उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्न मनाङ पर्वतीय उद्धार तालिम शिक्षालयको समेत स्थापना गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालले आन्तरिक सुरक्षाको जिम्मेवारीमा पनि आफूलाई अब्बल तुल्याएको सो संगठनको दाबी छ । यसका साथै समय, काल र परिस्थितिको मूल्यांकन गरी नेपाल सरकारबाट प्राप्त थप कार्यादेशहरूको पालनामा खरो उपस्थिति जनाउँदै आफ्नो ओजपूर्ण गौरवमय २५ वर्षे यात्रा पूरा गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।







