नेपालको राजनीति यतिबेला विरोधाभासको चक्रव्यूहमा छ । बितेका सात दशकमा पटक–पटक व्यवस्था फेरियो । तर नागरिकको अवस्था फेरिएन । शासकका नाम, पार्टी र प्रवृत्ति फेरिए । तर, शासन गर्ने शैली र मानसिकता उस्तै रह्यो । राणाकालीन हुकुमी शैली पञ्चायत हुँदै बहुदल र गणतन्त्रसम्म आइपुग्दा आवरण परिवर्तन भयो, सार उस्तै रह्यो । यतिबेला देश गम्भीर र संवेदनशील मोडमा उभिएको छ । आम निर्वाचनको सँघारमा उभिएर भावी नेतृत्वको परिकल्पना गरिरहँदा जनताको एउटै आवाज सुनिन्छ– नेपाललाई अब नयाँ वा पुराना कुनै पनि आवरणका ‘राजा–रानी’, ‘बा–आमा’, ‘दाइ–भाउजू’ वा ‘सर–म्याडम’ होइन– विकास, सुशासन, मजबुद संविधान र विधिलाई सही दिशानिर्देश गर्ने इमानदार राष्ट्रसेवक चाहिएको छ ।
अभिभावकले जति नै राम्रो काम गरे पनि सन्तानले खोट त लगाइरहन्छन् । तर खोट लगाउने सन्तानले अभिभावकको विकल्प खोज्दैन, बरु अभिभावक सुध्रिएको होस् र आफ्नो गति र सोचलाई सम्मान गरोस् भन्ने चाहन्छ ।
पात्र देवत्वकरण र नवसामन्तवाद
नेपालीको सामाजिक र राजनीतिक मनोविज्ञानको सबैभन्दा ठूलो त्रुटि नै नेतृत्वलाई ‘मान्छे’भन्दा माथि राखेर हेर्ने प्रवृत्ति, सोच र मानसिकता हो । हिजो श्रीपेच लगाएका राजाहरू थिए, आज श्रीपेचबिनाका राजा छन् । लोकतन्त्रको सौन्दर्य नागरिक र शासकबीचको समान हैसियत हो । तर, हामीले दलका नेता र सरकारको नेतृत्वलाई ‘बा’ र ‘आमा’को दर्जामा मात्रै राखिरह्यौ । राजनीतिमा जब नेतालाई अभिभावक मात्रै मानिन्छ, तब जबाफदेहिताको अन्त्य हुन्छ । हाम्रो सामाजिक परम्परामा छोराछोरीले बा–आमाको निर्णयमा प्रश्न उठाउनुलाई ‘अशिष्ट’ मानिन्छ । यही संस्कारलाई राजनीतिमा मिसाएर नेतृत्वले आफूलाई प्रश्नभन्दा माथि राखिरहेको छ, राख्न मनोवैज्ञानिक दबाब दिइरहेको छ । यो लोकतन्त्रको लागि घातक हो । यो आधुनिक सामन्तवाद हो । यो संस्कृतिले योग्यताको धज्जी उडाएको छ । सार्वभौम नागरिकलाई रैती बनाएको छ । त्यसैले यो निर्वाचनमा ‘शासन गर्ने मालिक होइन, भविष्यप्रति जबाफदेही हुने राष्ट्रसेवक चाहिएको छ’ भन्ने स्पष्ट सन्देश जनताले मतपत्रमार्फत दिनैपर्छ ।
नयाँ पुस्ता र आक्रोश व्यवस्थापन
चुनावमार्फत आउने नेतृत्वले सडकदेखि सामाजिक सञ्जालसम्म देखिएको नयाँ पुस्ताको आक्रोशलाई परम्परागत राजनीतिक चस्माले विश्लेषण गरे भने यो ऐतिहासिक भूल हुनेछ । यो पुस्ताले कुनै अमुक राजनीतिक वाद वा सिद्धान्तका ठेली पढेर विद्रोह गरेको होइन । उनीहरूले पासपोर्ट हातमा लिएर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पट् यारलाग्दो लाइनमा उभिएर र नातावाद, कृपावादको घिनलाग्दो दृश्यबाट वाक्क भएर चालेको कद पनि हो पछिल्लो जेनजी विद्रोह । यसलाई ध्वंसको कोणबाट मात्रै विश्लेषण गरेर नवयुवाहरूको सुदूर भविष्य सुरक्षित हुनै सक्दैन । मैदानमा उत्रिएका उम्मेदवार र दलले यसको हेक्का राख्नैपर्छ । विगतका आन्दोलनहरू व्यवस्था परिवर्तनमा केन्द्रित थिए । अब नेपाल अवस्था परिवर्तनको लडाइँमा छ । यो मतपत्रमा अवस्था परिवर्तनको गुञ्जायस जनताले दिने हो । अहिले सही निर्णय नगरेकै कारण केही समयपछि पुनः ध्वंसको बाटोमा देश नजाओस् । अबको नेतृत्वले ‘लोकतन्त्र खतरामा छ’ भन्ने अमूर्त र भावनात्मक नारा दिएर मात्र सुख पाउने छैन । राहदानी विभागको लाइन घटाउने, सरकारी कार्यालयको ढिलासुस्ती अन्त्य गर्ने र विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त गराउने ठोस कार्यक्रम ल्याउनुपर्छ, कार्यान्वयन गरेरै देखाउनुपर्छ । हामीलाई देश र संविधानभन्दा आफूलाई तल राख्ने र सोच्ने नेता चाहिएको छ । किनकि खास समस्या कानुनको अभाव होइन, कानुनको कार्यान्वयनमा हुने विभेद हो । विधिसँगै राजनीतिक संस्कार भएको नेता २१ फागुनमा हामीले तय गर्नुपर्छ । वर्तमान राजनीतिको सबैभन्दा कुरूप पक्ष भनेको नातावाद, कृपावाद र दलाल पुँजीवादको हो । जब नेताको वरिपरि तिनका परिवार, नातेदार र बिचौलियाहरूको घेरा लाग्छ, तब जनताको वास्तविक आवाज नेतृत्वसम्म पुग्दैन । राज्यको स्रोत र साधनमाथि केही सीमित व्यापारिक घराना र नेताका नजिकका मान्छेहरूको हालीमुहाली छ ।
भ्रष्टाचार अब टेबलमुनिबाट लिइने घुसदेखि क्याबिनेटबाट पास गरिने ‘नीतिगत निर्णय’सम्ममा पुगेको छ । नयाँ र वैकल्पिक भनिएकाहरू पनि सत्तामा पुग्नासाथ पुरानै शैली अपनाउँछन् भने तिनलाई पनि स्विकार्न सकिँदैन । दलाल पुँजीवादको जालो तोड्ने हिम्मत जसले राख्दैन, जसले परिवारवादको राजनीति गर्छ, त्यस्ता पात्रहरू जुनसुकै पार्टीका भए पनि २१ फागुनको जनमतको आँधीले तिनलाई पराजित गर्नुपर्छ ।
किनकि, यो अग्निपरीक्षाको घडी हो
लोकतन्त्रमा सबैभन्दा शक्तिशाली ‘अस्त्र’ मतपत्र हो । हामीले सधैँ गुनासो ग¥यौं । चिया पसल र चोकमा बसेर नेतालाई गाली ग¥यौं तर मतदानको दिन तिनै ‘बा–आमा’, ‘दाइ–भाउजू’ वा तिनका नयाँ अवतारलाई जिताएर पठायौं । यसपटक यो गल्ती नहोस् । यसपटकको निर्वाचन एक अग्निपरीक्षा हो । नेपाली जनता साँच्चै परिवर्तन चाहन्छन् कि दल वा अमुक नेताको दासतामै रमाउन चाहन्छन् भन्ने निर्णय यसपटक हुनुपर्छ । साँच्चै स्वतन्त्र, निष्पक्ष, पारदर्शी र जबाफदेही शासन र समृद्ध देश चाहिएको हो भने मतदानअघि निर्मम समीक्षा गर्नैपर्छ ।
समष्टिमा अभिभावकले जति नै राम्रो काम गरे पनि सन्तानले खोट त लगाइरहन्छन् । तर खोट लगाउने सन्तानले अभिभावकको विकल्प खोज्दैन, बरु अभिभावक सुध्रिएको होस् र आङ्खनो गति र सोचलाई सम्मान गरोस् भन्ने चाहन्छ । यो चुनाव के चाहन्छ ? फैसला २१ फागुनमा हुनेछ ।






