बंगलादेशको प्रधानमन्त्री तारिक रहमान नियुक्त

काठमाडौं । बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बनेका छन्। आज फेब्रुअरी १७ तारिख उनलाई बंगलादेशका राष्ट्रपति मोहम्मद सहाबुद्दिनले संसद् भवनमा प्रधानमन्त्री पदको शपथ खुवाएका हुन्।

यसअघि आजै दिउँसो बीएनपी सांसदहरूले तारिकलाई संसदीय दलको नेतामा चयन गरेका थिए । उनी पूर्वप्रधानमन्त्री खालिदा जिया र पूर्वराष्ट्रपति जियाउर रहमानका छोरा हुन्। १७ वर्ष लन्डनमा बसेर उनी दुई महिनाअघि मात्र बंगलादेश फर्किएका थिए ।

मंगलबार रहमानका अतिरिक्त २५ क्याबिनेट मन्त्री र २४ राज्यमन्त्रीले पनि शपथ खाएका छन्। मन्त्रिमण्डलमा एक हिन्दु मन्त्री निताई रोय चौधरी पनि छन्। २५ क्याबिनेट मन्त्रीमध्ये १७ जना नयाँ अनुहार छन् । अनि सबै २४ राज्यमन्त्री नयाँ छन्।

गत बिहीबार भएको आम चुनावमा कुल २९९ सिटमध्ये बीएनपी एक्लैले २०९ सिट जितेको छ भने यसका सहयोगीहरूले ३ सिट जितेका छन्।

बीएनपीका अध्यक्ष तारिक रहमान दुईवटा निर्वाचन क्षेत्रमा चुनाव लडेका थिए। उनी दुवैमा विजयी भए। तीमध्ये उनले ढाका-१७ सिट कायम राख्ने र बोगरा-६ सिट खाली गर्ने निर्णय गरेका छन्।

अब खाली सिटका लागि उपचुनाव गर्नुपर्नेछ। अब निर्वाचन क्षेत्र बोगरा(६ मा ९० दिनभित्र उपनिर्वाचन गर्नुपर्ने प्रावधान रहेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्।

३५ वर्षपछि नयाँ अनुहार तथा पुरुष प्रधानमन्त्री

तारिक रहमान प्रधानमन्त्री बनेसँगै बंगलादेशमा ३५ वर्षपछि नयाँ अनुहार तथा पुरुष प्रधानमन्त्री भएका छन्। नत्र सन् १९९१ देखि २०२४ सम्म महिला नेताद्वय शेख हसिना र खालिदा जिया आलोपालो प्रधानमन्त्री भइरहेका थिए। विद्यार्थी विद्रोहका कारण सन् २०२४ अगस्ट २५ तारिख तत्कालीन प्रधानमन्त्री हसिना देश छाडेर भागेपछि र पूर्वप्रधानमन्त्री जियाको निधनपछि बंगलादेशमा पहिलोपटक चुनाव भएको हो।

सन् २०२४ को विद्यार्थी आन्दोलनमा तत्कालीन सरकारले दमन गर्दा १४ सय जनाको मृत्यु भएको थियो। जसमा तत्कालीन प्रधानमन्त्री शेख हिसनालाई दोषी ठहर गर्दै त्यहाँको अदालतले मृत्युदण्ड सजायसमेत सुनाइसकेको छ।

तर हसिना भारतमा लुकेर बसेकी छन् भने बंगलादेशले फिर्ता पठाइदिन पटकपटक अनुरोध गरे पनि भारत सरकारले बेवास्ता गरिरहेको छ।

यसपटकको चुनावमा हसिनाको पार्टी अवामी लिगलाई भने प्रतिबन्ध लगाइएको थियो अर्थात् भाग लिन दिइएन। यसैकारण हसिनाले यो निर्वाचनलाई ‘पूर्वनियोजित छल र प्रहसन’ भनेकी छन्।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ