नवनिर्वाचित माननीयलाई केही सुझाव

सेना या प्रहरीबाट भर्खर तालिम सकेर सुरुवाती युनिटमा गएका अधिकृतहरूलाई पुरानियाले भित्र–भित्र ठेउके लप्टन या ठेउके इन्सपेक्टर भन्ने प्रचलन थियो । ठेउके भनेको के हो अझै राम्ररी पत्ता लगाउन सकिएको छैन । तर नयाँ जोस उमंग बोकेर जवानी उमेरमा अलि उत्ताउलो बन्ने, कडा शारीरिक तालिम गरेको तर गर्ने काम भने सिकिनसकेको, काँधको फुली देखाएर आफू भन्दा तलकालाई ‘बुझिस्, म त अधिकृत हो नि’ अब भनेर सोच्ने भएकोले ठेउके उपनाम दिने गरेको पाइन्थ्यो । बिस्तारै त्यही ठेउकेले अर्को नयाँ आउनेलाई ठेउके भन्ने दिन आइहाल्थ्यो । जवानहरूमा भने भर्खर रिक्रुटको तालिम सकेर आउनेहरूलाई ‘तीनपुस्तेको मसी सुकेको छैन अझै’ भन्ने गरिन्थ्यो । त्यसैले यसलाई ‘भर्खर नयाँ हौ, काम सिक्दै जाऊ’ भन्न खोजिएको भावार्थ बुझिन्छ ।

नयाँ परिवेशमा पहिलोपटक माननीय जितेका या छानिएकाहरु संसद् तथा देशको विधायकको रूपमा नयाँ नै हुन्, जोस जाँगर प्रचुर भएका । मर्यादाका हिसाबले पनि देशमा माननीयहरु निकै उपल्लो ओहोदामा पर्दछन् । देशमा निर्वाचन सकिएपछि यस्तै नयाँ माननीयहरू निर्वाचित भएर आएका छन् । कोही निर्वाचन नै नलडी दलको कोटाबाट छानिएका छन् । तर भर्खरका फौजी अधिकृतको जस्तै फुर्तिफार्ती सर्वत्र छ । यतिखेर भोट माग्दै गएको टोल छिमेकमा विजयको माला लगाइसकेर राजधानीमा बसोबास नहुनेहरूका लागि डेरा डन्डाको जरुरत पर्न थालेको छ । यता पनि जिल्लावासीले स्वागत र बधाई दिने क्रम चलिरहेको छ ।

आम मानिसहरूको चासो उनीहरुले मुख्य अब के गर्छन् भन्ने नै रहेको छ । पहिला ठूला भनिएका दलहरूले देशमा गरेको दलीय दोहन, भागबन्डा, जनता उपर गरेको ज्यादती, अन्यायको बदलास्वरुप नयाँ उदाएको दललाई भारी मतले जिताएर पठाएका हुन् । सांसदको उम्मेदवार हुन जो पनि पाइन्छ तर दल विशेषको उम्मेदवार हुनका लागि भने विभिन्न कोण प्रतिकोण, आधारबाट उक्त दलले पत्याएको हुनुपर्छ । यसर्थ निर्वाचन जितेपछि ती व्यक्ति दल विशेषको जिम्मेवारीभित्र पर्न जान्छन् ।

सांसद जितेको व्यक्ति विभिन्न वर्ग, भूगोल, आर्थिक हैसियत, शैक्षिक योग्यता, समुदायभित्रबाट आएको हुन्छ । तर संघीय सांसदले अब त्यसभित्रको मात्र प्रतिनिधित्व गर्दैन कि सिंगो देशकै प्रतिनिधित्व तथा जिम्मेवारी बहन गर्नु पर्ने हुन्छ । एक जना सांसदले संसद्भित्र बोलेको कुरा, राख्ने तर्क, विषयबस्तुको गहिरो ज्ञान, जनमानसमा रहेका यावत समस्या र त्यसको समाधान सबै बुझेको हुनुपर्छ । त्यहाँ राखिएको विषयबस्तु सार्वजनिक सम्पत्तिको रूपमा दर्ज हुन्छ । ती सबै पक्षहरू जनताले नजिकबाट नियालिरहेका हुन्छन् ।

विभिन्न भूगोल तथा समुदायबाट आएकाहरू अब देशको राजधानीको मुख्य केन्द्रभित्र आउँछन् । घर हुनेले घरबाट त नहुनेले अर्काको घरमा भाडा लिएर बस्नुपर्ने हुन्छ । मान्छे धेरै आउँछन् भनेर या नेता हो भोलि मेरो घर पनि निशानामा पर्न सक्छ भनेर जेनजी आन्दोलनपछि सांसद, नेतालाई डेरा पाउन धेरै मुस्किल पर्नेछ । आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रबाट आउने हरेक समस्या समाधान गर्ने नै माननीय हो भन्ने पारिएको छ । कुनै कामबाट पन्छिन् मिल्दैन किनकि निर्वाचनमा सांसद अचुक बाण हो जसरी प्रस्तुत भइएको छ । स्वदेशको रोजगारमा प्रहरीको जवानदेखिको भर्ना, सरुवा, काज, अरू क्षेत्रको भर्तीमा भनसुन गर्दिनु पर्ने हुन्छ । लाइसेन्स समातेमा वा मापसे गरेर ठाना चौकीतिर परेमा आखिर ठोक्किने ठाउँ सांसद नै हुन्छ । वैदेशिक रोजगारका समस्या अझ सयौं हजारौं पर्छन्, पठाइदिने समस्या, म्यानपावरको ठगी धन्दाको समाधान खोजिदिनुपर्ने हुन्छ । जिल्ला या निर्वाचन क्षेत्रका बिमारीको स्वास्थ्य उपचारको समस्या काठमाडौंमा थेग्रिन्छ । आर्थिक विपन्नताको कारण गुणस्तरीय स्वास्थ्य सेवा पाइरहेका हुँदैनन् त्यसतर्फ ध्यान दिनुपर्छ । बर्सेनि भइरहने दुर्घटना, विपद उद्धार र राहत वितरणको चाँजोपाँजो मिलाउनु पर्ने हुन्छ । हेलिकोप्टरबाट उद्धार गर्न सक्ने, अझ आफैं हेलिकोप्टरबाट उक्त स्थानमा उत्रने विशेष कहलिन्छ । आफ्नो क्षेत्रमा धेरै राहत लैजान सकिएमा बल्ल ग¥यो भन्ने पर्न जान्छ । भलै अन्यत्र आवश्यकता किन नहोस् ।

यसर्थ नयाँ माननीयहरूलाई धेरै कुराहरू सिक्न जरुरी देखिन्छ । चुनाव जित्ने नजित्ने एउटा महाभारत थियो । त्यो युद्ध जितियो । तर अब पक्का परीक्षा सुरु हुनेछ । संसद्को रूपमा रहने अवधि पूरै प्रत्येक दिन परीक्षा मात्र हुनेछ । कुनै पनि दिन हुने परीक्षामा सामेल हुनुपर्नेछ, अनुपस्थित भएर अर्को पटक दिने गरी ड्रप गर्नसमेत पाइने छैन । सबै परीक्षामा उत्तीर्ण, अझ राम्रो अंकले उत्तीर्ण हुन प्रयास गर्नुपर्नेछ

प्रहरीका केसहरू मिलाउनु पर्ने हुन्छ । आफ्ना दलकालाई गल्ती गरे पनि जोगाउने गरी फोन घुमाइदिनु पर्छ । आफ्नाहरू मर्कामा परे गल्ती गर्नेलाई दुईचार भाटा लगाएर ठीक पार्दिन, दुईचार दिन भए पनि भित्र कोच्दिन समेत भन्नुपर्ने हुन्छ । तराईका नाकाहरूमा चोरी निकासी, पैठारी अर्थात् तस्करीको धन्दा निरन्तर चलिरहन्छ । यसैबाट धेरैको निर्वाह भएको छ । प्रहरी, पछि थपिएको सशस्त्र प्रहरी, प्रशासकहरूका विभिन्न तहमा रहनेहरू पूर्वदेखि क्रमशः पश्चिम तराईसम्म जान मुख मिठ्याउने, अनेक सोर्स फोर्स लगाउने चलन प्रथा र प्रवृत्ति दुवैको रूपमा नाम चलेको छ । त्यसैको आडमा धेरै खानदानी बने, बनिरहेका छन् र बन्नेछन् । त्यहाँ उत्पन्न हुने हरेक समस्याको समाधान जे गरेर हुन्छ त्यसको लागि तयार हुनुपर्ने हुन्छ । आफ्ना मान्छेले गरे ठीक अरूले गरे चुक्ली लगाउनेहरू बग्रेल्ती हुन्छन् । त्यहीअनुसार चल्नुपर्छ । पत्रकार, यु–ट्युबे, क्यामेरा सोझ्याएर बसिरहेका नै हुन्छन् । सबैको सन्तुलन मिलाउनु पर्ने हुन्छ । यी दायित्व पनि सांसदको क्षेत्राधिकारभित्र नपरिरहन सक्दैन नयाँ नेपालमा ।

शिक्षा, बजेट, म्यानपावरको ठगी, मल, बिउबिजनलगायत सानादेखि ठूला कुरासम्म अब माननीयको क्षेत्राधिकारभित्र पर्न पुग्छ । खर्च नहुनेलाई खर्च दिनु सामान्य सहयोगमा गनिन्छ । देशको कानुन बनाउने विधायकको निर्वाचन हो भनेर कसैले पनि निर्वाचित गरेका छैनन् न भोट माग्नेले नै ‘म त विधायक हो है, कानुन बनाउने मेरो मुख्य दायित्व हो’ भनेरै भोट मागेको हुन्छ । स्थानीय तहमा वडा, पालिका, प्रदेश र केन्द्रको योजना तथा बजेटसम्मले अनेक चरण, योजना, कर्मचारीको असहयोग, ढिलासुस्ती, ठेकेदारहरूको माखेसाङ्लो पार गरेर मात्र हुने विकास एक्लो माननीयले आजको भोलि नै फत्ते गर्न सक्ने विषय हुँदै होइन । तर केन्द्रदेखि स्थानीय तहसम्म बजेट विभाजित भएर हुने विकास सबै सम्पन्न गरिनेछ भनेर मतदातालाई आश्वासन दिइएको हुन्छ । त्यो सम्झिरहेका हुन्छन् । शहरका माननीय त चार वर्षमा एकपटक भोट मागेको टोल फर्किएको पाइँदैन भने तराई, पहाड या हिमाली जिल्लाबाट जितेर आउनेहरू चार वर्षमा फेरि त्यो गाउँ पुग्लान् भनेर कसैले पनि पत्याउनेवाला छैन ।

माननीयहरु अब मन्त्रालयमा मन्त्री भेट गर्न दौडिरहनुपर्ने हुन्छ । आफ्नै दलभित्रका मन्त्री भेट गर्न पनि समय लिनु पर्ने हुन्छ । फेरि के माग्न आयो भनेर यसै टकटकिने हुन्छन् । मन्त्रीका पिएहरु डायरी समाएर बसेका हुन्छन् । तिनको दाउपेच अर्कै हुन्छ । कति माननीयहरूले आफ्नैले वास्ता गरेन, टेरेन भनेर मन्त्रीकै कठालो समाउने हुन् त्यो भविष्यले बताउला ।

काठमाडौं फेरि अर्कै छ । यहीँ हुर्केकाहरूको लागि केही नहोला तर बाहिरबाट आउनेका लागि भने यो दुबई, लन्डन या न्युयोर्क जस्तै बिरानो बनिदिन्छ । सबै नौलो लाग्छ । संसद् भवन होस् कि मन्त्रालयमा जाँदा सबैको आफ्नो मोटर हुने छैन, कतिको त मोटरसाइकल या स्कुटरसम्म पनि हुने छैन । बस, माइक्रोमा चढ्दा खैरो कोट र त्यसमा उनिएको सांसदको लोगो छेक्नु पर्ने अवस्था आइलाग्छ । संसद् भवन या सिंहदरबारको गेटमै रहने सुरक्षाकर्मीले मोटर चढेर आउने र पैदल आउनेलाई गर्ने व्यवहार टड्कारो देखिन्छ । यसरी हायलकायल पार्दिन्छ राजधानीले सुरुमै । यस्तो रन्थमोलको बीचमा पनि माननीय हुँ भनेर धाक लगाउँदै अघि नबढी सुख हुने छैन ।

माननीय उच्च सार्वजनिक पद तथा मर्यादित ओहोदा भएकाले सिंहदरबार या संसद् भवनभित्र बोलिने कुरा, गरिने व्यवहार मात्र नभै सबै स्थानमा गरिने बोली व्यवहारको मूल्यांकन हुने गर्छ । बोली कस्तो हुनुपर्छ, शिष्टाचार के हो ? कपडा कसरी लाउनुपर्छ, कुन बेला के लगाउनु पर्छ, कुन परिकार कसरी खानुपर्छ, कसरी हाँस्नुपर्छ या मुस्कुराउनुपर्छसम्मको लेखाजोखा हुने गर्छ ।

नेपालमा यस खालको शिष्टाचार तथा व्यवहारको उच्चपदस्थ तहमा, माननीय मन्त्री तहमा सिकाउनु पर्छ, सिक्नुपर्छ भन्ने अभ्यास भएको पाइँदैन । हुन त निजामती प्रशासन या अरू निकाय पद पाएपछि र ओहोदा ग्रहण गर्दैमा स्वतः विज्ञ भइने देश हो नेपाल । यहाँ विज्ञताको जरुरतै पर्दैन । कुर्चीमा बसेपछि सबै ज्ञाता, सबै विज्ञ, सबै धुरन्धर । गृह मन्त्रालयमा सरुवा भएर सुरक्षा विज्ञ, कृषिमा गए कृषि, वनमा गएर वन विज्ञ स्वतः कहलिने देश प¥यो यो । झन् माननीय या मन्त्रीको पदले सिक्नु भनेको त अर्को आश्चर्यको विषयभित्र पर्न जान्छ । पद धारण गरेपछि सिक्नु भनेको लज्जास्पद हो भन्ने मान्यता रहँदै आएको पाइन्छ । तर संसारमा सबै अरूबाटै सिकिने हो । कुनै आविष्कार नै पूर्वजले गरेको अध्ययन, अन्वेषणको पछिल्लो रूप मात्र हो भन्दा अत्युक्ति नहोला । यसर्थ नेपालको परिप्रेक्ष्यमा यस्ता खालका कक्षाहरू सबैले नभनौं– नयाँ सांसदहरूले सिक्ने, सिकाउने परिपाटीको विकास गर्न सकिएको खण्डमा श्रेयकर बन्न जान्छ ।

सांसदहरू केही मन्त्री बन्नेछन्, मन्त्रीको तुजुक त झन् स्वतः बढी हुने नै भइहाल्यो । चालक या पछुवाले साइरन नबजाई मोटर कुदाएमा कमजोरमा दरिन्छन् । हतार एम्बुलेन्सलाई भन्दा नेपालमा भीआईपी हुँ भन्नेहरूलाई बढी हुन्छ । त्यो देखिएको छ । भ्याली बाहिर जाँदा एयरपोर्टमा कार्यकर्ताको हुल जम्मा भइसक्नेछन् फूलमाला, खाता लिएर अझ कतिपयमा पन्चेबाजासम्म गुन्जिनेछन् । प्रहरी, सशस्त्र प्रहरीले उबडखाबड बाटोमा उफार्दै इस्कर्टिङ गर्दिन पर्ने हुन्छ । जति धेरै सुरक्षाकर्मी उति धेरै इज्जतको जमाना हो यो । मन्त्री नहुनेहरू विभिन्न समितिमा हुनेछन् । तिनको विज्ञता आफ्नै छ । त्यो प्रमाणित गर्नुपर्ने चुनौती छ ।

धेरै कुरा सिक्नु र सिकाउनु पर्ने देश हो यो । यहाँ सिकाउने, सल्लाह दिनेको कमी भने छैन । हरेक कालखण्डका साक्षी, भुक्तभोगीहरू ज्यूँदा छन् । हीनताबोध नहुने हो भने राजकीय शैली, संस्कार र व्यवहारका सकारात्मक पक्ष सिक्न सकिन्छ । अरू चरणका पात्रहरूको पनि अभाव छैन । सांसद नेपालीहरूबीच गरिने सम्बन्धमा मात्र सीमित भइरहन सक्दैन । छिमेकी देशहरू, अरू सबै शक्तिमान या मित्रराष्ट्रहरूका कैयौँ व्यक्तित्वहरूसँग सम्वादजन्य व्यवहार गर्नुपर्ने हुन्छ । नेपाली तथा तेस्रो विश्वका लागि सबैभन्दा बढी उब्जने नै हीनताबोध हो । त्यसलाई राम्रो तयारी, जानकारहरूसँगको ज्ञान, अनुभवको आदान प्रदानले कम गर्न सकिन्छ । कसरी बोल्ने, कस्तोमा के लगाउने, कसरी खानेलगायतका शिष्टाचारहरूको बोध समयमै आर्जन गर्न सकिएको खण्डमा स्वयं आफूको मात्र नभई राष्ट्रको समेत प्रतिष्ठामा आँच पुग्दैन । त्यसका लागि स्वयं मानसिकरूपमा तयार भने हुनैपर्छ ।

विदेश जाने मौका माननीयहरूले पाउनेछन् । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट प्लेनसम्म नेपालै हुनेछ । तर जब विदेशी भूमिमा ल्यान्ड गरिनेछ, अझ विकसित देशहरूमा त्यसपछि परीक्षा बाहेक केही हुनेछैन । बुझ्न त विदेशीको लागि नौलो नेपाली नेता भन्ने हुने छैन । पूर्ववत् अवस्थामा पुगेकाहरूबाटै नेपाली कस्ता हुन्छन् भन्ने पर्याप्त जानकारी लिएकै हुनेछन् । तर पनि विदेशमा गरिने हरेक कदमका रिपोर्ट नेपाली मिडियामा पुगिसक्नेछ । त्यसको लागि राम्रो तयारीको जरुरत पर्छ । विदेशीसँग हात मिलाउनेदेखि सुरु भएर निभाइने हरेक भूमिकाहरूमा खरो उत्रन आवश्यक हुन्छ । धेरैजसो भ्रमणमा टीकाटिप्पणीहरू हुने गरेको पाइन्छ । फेरि जाँदा सच्याउनेछु भन्ने सुविधा भीआईपीको लागि हुनेछैन । पहिलो र अन्तिम मौकाको रूपमा रहनेछ ।

यसर्थ नयाँ माननीयहरूलाई धेरै कुराहरू सिक्न जरुरी देखिन्छ । चुनाव जित्ने नजित्ने एउटा महाभारत थियो । त्यो युद्ध जितियो । तर अब पक्का परीक्षा सुरु हुनेछ । संसद्को रूपमा रहने अवधि पूरै प्रत्येक दिन परीक्षा मात्र हुनेछ । कुनै पनि दिन हुने परीक्षामा सामेल हुनुपर्नेछ, अनुपस्थित भएर अर्को पटक दिने गरी ड्रप गर्नसमेत पाइने छैन । सबै परीक्षामा उत्तीर्ण, अझ राम्रो अंकले उत्तीर्ण हुन प्रयास गर्नुपर्नेछ ।

विगतले के देखाएको छ भने २ सय ७५ जनामा धेरै कम मात्र प्रभावकारी हुन सकेका छन् । यसका लागि यो जिल्ला, यो क्षेत्रको भन्ने हुने छैन । संसद्मा होस् या अरू फोरममा– संसद्ले खेलेको भूमिका देश विदेशमा रहने हरेक नेपालीले मूल्यांकन गरिरहेका हुनेछन् । प्रभावकारी छवि छाड्ने माननीयहरू भलै अर्को निर्वाचनमा पराजित नै किन नहुन्, तर जनमूल्यांकनमा त्यस्तो माननीय त हाउसमा हुनुपर्ने हो भन्ने जनअपेक्षा रहिरहनेछ । जित हार बिल्कुल अस्थायी हो । हिजो कसैको थियो, आज कसैको भयो होला । अहिले सानो भएकाहरू भोलि ठूलो बन्न सक्छन् । ठूलो भयौं भन्नेहरूले पुरानै जस्ता बनेर जनतालाई पुनः निराश नपारुन् । मुख्य सत्ताको उन्माद, अरूलाई हरुवा सम्झने संकीर्ण मनोविज्ञान कोही कसैबाट झल्कन दिन हुँदैन । कोही पनि सर्वज्ञांता हुँदैन, सबैले बिस्तारै बुझेर, सुनेर, देखेर, भोगेर, पढेर सिक्दै जाने हो । माननीय हुँदैमा एकाएक ज्ञान आउने पनि हैन । आजका नौजवानहरू सबै पढेलेखेका नै छन् । सबैले देश र जनताको लागि केही गर्नुछ भन्ने संकल्पका साथ अघि बढेमा अनुभवले खारिँदै गइन्छ । जुन देशको लागि नै उपयोगी हुनेछ । सबै माननीयलाई सफलताको शुभकामना ।
(सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक थापाको यो निजी विचार हो ।)

तपाइको प्रतिक्रिया
(Visited 1,095 times, 1 visits today)

epaper

ताजा समाचार

बुबा महेश भट्टको रोमान्सवारे खुलिन अभिनेत्री पूजा