वीरगन्ज । वन–जंगलको तीव्र दोहन, चुरेको विनाश र पानी पुनर्भरणको कमीले मध्य तराईको पर्सा जिल्ला विगत ५ वर्षयता खानेपानीको समस्याले पिरोलिन थालेको छ । पर्साको पर्सागढी नगरपालिकाले पछिल्ला दिनमा समस्या समाधानका लागि पहल थालेको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको कोइलाभार जंगल प्रवेश गर्ने मुखैमा पूर्वपट्टि जंगल क्षेत्रबाट रसाएर बग्ने सानो पानीको मुहानमा पर्सागढी नगरपालिकाले पक्का ड्याम बनाई जलचर, थलचरका लागि मात्र नभई कृषिका लागि समेत पानी सञ्चयको प्रभावकारी कदम बढाएको हो ।
३३ लाख रुपैयाँको लागतमा पर्सागढी नगरपालिकाले वडा नम्बर १ को कोइलाभार वन क्षेत्र प्रवेश गर्ने सडक पूर्वतर्फ पक्का बाँध बाँधी दुईवटा पालिकाका ४ वटा वडामा सिँचाइको समेत प्रबन्ध हुने गरी पानी समस्याको विकल्प खोज्न थालेको हो ।
पानी पुनर्भरणमा सही कदम : विज्ञ
गएका केही वर्षदेखि मध्य तराईको पर्सामा पनि खानेपानीको समस्या देखिन थालेकाले अब पालिकाले आफ्नो क्षेत्रमा रहेका पानीका स्रोत र सोर्सहरूलाई पहिचान गर्ने र उचित उपयोग गर्ने रणनीति अगाडि बढाएको पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले बताए । ‘पानीको स्रोत र सोर्सको पहिचान गरी पानी जम्मा गर्ने ड्याम बनाई विविध काममा पानी प्रयोग गर्ने दीर्घकालीन रणनीति अपनाउन थालेका हौँ,’ उनले भने ।
‘भू–सतहमा पानी जम्ने ड्याम बनाउँदा जमिनमुनि पानी पुनर्भरण भई आफ्नो पालिकाका केही वडामा देखिएको खानेपानीको समस्या समेत न्यूनीकरण गर्न बल पुग्ने हाम्रो ठम्याइ हो,’ उनले थपे, ‘यतिले मात्र त पानीको समस्या हल हुँदैन । तर दीर्घकालीनरुपमा जति फाइदा लिन सकिन्छ त्यतिमै पनि सतर्कता अपनाउन सक्रियता बढाइएको छ ।’
पानी सञ्चितिले जलचर र थलचर जीवजन्तुलाई समेत खानेपानीको समस्या नहुने, प्रत्यक्ष सिचाइका लागि प्रयोग गर्न मिल्ने र बोटबिरुवाको लागि पनि केही त्राण थपिने तथा जलवायु परिवर्तनलाई थोरै भए पनि सापेक्ष गर्न सहयोग पुग्ने निष्कर्षसहित पालिकाले यो कदम बढाएको पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले बताए ।
विशेष अनुदान रकमबाट निर्माण
प्रदेश सरकारको ३० लाख रुपैयाँ विशेष अनुदान रकम र उपभोक्ता समितिको ३ लाख गरी कुल ३३ लाखको लागतमा गएको असार महिनामा यो संरचना निर्माण सम्पन्न गर्न पालिका सफल भएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । ‘दुई महिनाको अन्तरालमा यो कार्य सम्पन्न भयो, यसमा नगरप्रमुख पाठकको विशेष सक्रियतामा रह्यो । प्रदेश सरकारसँग धेरै पटक उहाँले पहल गर्दा यो बजेट प्राप्त भई काम गर्न पाएका हौं,’ प्रमुख प्रशासकीय अधिकृत साहले भने ।

हरेक वर्ष चैत बैशाख महिनाको सुख्खा मौसममा खानेपानीकै समस्या समाजमा देखिन थालेपछि जंगल छेउको पालिका पर्सागढीले चाहिँ पानीको स्रोतको पहिचान गरी उदाहरणीय कार्यको सुरुवात गरेको एमालेका पर्सागढी नगरपालिका अध्यक्ष दुर्गा लामिछानेले पनि बताए ।
गएको वर्ष सीमासँग जोडिएको पर्साको वीरगन्ज महानगरपालिकामा खानेपानीको चरम समस्या गहिरिएपछि जलस्रोतका क्षेत्रमा कार्य गरिरहेका विज्ञहरूले समेत पर्सागढी नगरपालिका उत्तरतर्फ कोइलाभार जंगलक्षेत्रसम्म पानीको स्रोत पहिचान गर्न विज्ञको टोली नै लिएर गएको थियो । विज्ञहरूले पनि चुरे क्षेत्रको कोइलाभारलगायत आसपासको चिस्यान क्षेत्रमा ड्याम बनाई पानी पुनर्भरण कार्य गर्न सकिने निष्कर्ष निकालेका थिए । यस्तो पानी रोक्ने ड्याम ठाउँ–ठाउँमा बनाउन सके तलका जमिन र बस्तीहरू समेतमा खानेपानीका चापाकल सुक्ने क्रम कम हुने उनीहरूको सुझाव थियो ।
सिँचाइका लागि दुई पालिकाका ४ वडा लाभान्वित
पर्साको पर्सागढी नगरपालिकाका वडा नम्बर १ मा बाँधिएको यो बाँधले यहाँका १, ७ र ९ नम्बर वडा तथा सखुवाप्रसौनी गाउँपालिकाको पनि १ नम्बर वडाको करिब ७ सय बिगाहा जमिनमा सिँचाइ सुविधा उपलब्ध हुन थालेको पर्सागढीका प्रमुख प्रशासकीय अधिकृत साहले बताए । जंगलक्षेत्रमा नै ड्याम बनाइएकाले बस्तीमा सिँचाइ मात्र नभई जंगली जनावर र चरनका गाईबस्तुलाई समेत पानीको पर्याप्तता भएको उनको दाबी छ ।
अब पालिकाका एक दुई अन्य ठाउँमा पनि यस्ता पानीको स्रोत पहिचान भइसकेको छ । त्यहाँ पनि विकल्प अपनाई पुरै पालिका र नजिकका अन्य पालिकाहरूमा पनि पानी पुनर्भरणको समस्यालाई न्यूनीकरण गर्न पर्सागढी सक्रिय हुने उनको भनाइ छ ।
ड्याम नजिक पर्यटन प्रवर्धन गर्ने थप योजना
कलकल बग्ने सफा पानीको प्रचुरताले अब बाँध छेउको खुल्ला चौरमा पर्यटकीय प्रवर्धन गर्ने उद्देश्यले पिकनिकस्थलको पनि निर्माण कार्य अगाडि बढाउने योजना पालिकाले अगाडि बढाउने तयारी गरिरहेको नगरपालिकाले जनाएको छ । पिकनिकस्थलको प्रवर्धन गर्न सके ड्यामको साइडमा पौडी पोखरी पनि बनाई गर्मी मौसममा थप आकर्षण थप्न र केही आम्दानीको स्रोत पनि जुटाउन टेवा पुग्ने अपेक्षा पनि गरिएको छ ।
पर्सागढी र सखुवाप्रसौनी तर्फ जता पानी लान मिल्ने गरी फलामका ढोकासमेत निर्माण गरिएकोले यसकै एक साइडमा धारा जडान गरी पिकनिकमा आउने आन्तरिक पर्यटकहरूका लागि पानी प्रयोग गर्न मिल्ने गरी प्रबन्ध गरिने पालिकाको अर्को तयारी रहेको खुलेको छ । आगामी वर्ष थप योजना तयार गर्दा सो कार्यको योजना पनि बढाइने पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।







