धनगढी । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलालीले आफ्नो २५औँ वार्षिकोत्सव मनाएको छ । सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा आइतबार (२२ चैत) सो बाहिनीले आफ्नो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाललाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने १७ जनालाई सम्मानस्वरूप प्रशंसा पत्र प्रदान गर्नुका साथै वीरगति प्राप्त अमर सशस्त्र प्रहरी कर्मचारीहरूका परिवारलाई दोसल्ला ओढाई प्रशंसापत्रसहित सम्मान प्रदान गरिएको थियो । यसका साथै सशस्त्र प्रहरी बल नेपालमा भर्ना भएका निर्वाचन प्रहरीमध्ये एक जना उत्कृष्ट (बैतडीको दशरथचन्द नगरपालिका–३ का प्रेमराम लुहार) र सशस्त्र प्रहरी बल नेपालसँग आबद्ध उत्कृष्ट समुदाय विपद् सूचक स्वयंसेवक कञ्चनपुर लालझाडी गाउँपालिका–३ की सुनिता रानालाई प्रशंसापत्रसहित सम्मान प्रदान गरिएको थियो ।

साथै सुदूरपश्चिम प्रदेशमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूमध्ये भर्खरै सम्पन्न भएको निर्वाचनमा उत्कृष्ट कार्य गर्ने निर्वाचन सुरक्षा बेस, स्ट्राइकिङ तथा मोबाइल टोली कमान्डरहरू, विभिन्न गण तथा गुल्ममा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुहरुलाई नगदसहित प्रशंसा पत्र र २२ जना कर्मचारीहरूलाई एपीएफ आईजी कमिन्डेसन प्रदान गरिएको थियो ।

कार्यक्रममा २५औँ वार्षिकोत्सवको अवसरमा आयोजित विपद् उद्धारमा सशस्त्र प्रहरी बल नेपालको भूमिका शीर्षकमा भएको वक्तृत्वकलामा सर्वोत्कृष्ट हुने ऐश्वर्य विद्या निकेतन धनगढी कैलालीमा कक्षा ९ मा अध्ययनरत साक्षी भट्टलाई १० हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सशस्त्र प्रहरी बल नेपालप्रति सदैव गर्व गर्ने कार्य गर्न र सीमामा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमित रूपमा अदली बदली गर्ने नीति बनाउँदा उपयुक्त हुनुका साथै आगामी दिनमा सशस्त्र प्रहरी बलसँग सहकार्य गर्न हमेसा तयार रहेको बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले २५औँ वार्षिकोत्सवको शुभकामनासहित शहीद परिवारमा श्रद्धाञ्जली व्यक्त गर्दै सीमा क्षेत्रमा कडाइका साथ परिचालन हुन निर्देशन दिए । उनले राम्रो कामका लागि नेतृत्व हरहमेसा कार्यरत कर्मचारीहरूको साथमा रहने र गृहमन्त्रीले समेत सीमा क्षेत्रलाई विशेष चासोको रूपमा हेरेको जानकारी गराएका थिए ।

महानिरीक्षक अर्यालले सीमा जस्तो राष्ट्रिय सुरक्षाको विषयमा सबै जना सचेत हुनु जरुरी रहेको पनि बताए । उनले सीमा सुरक्षा र राष्ट्रिय सुरक्षाका विषयमा एकताबद्ध भएर लाग्नुपर्नेमा पनि जोड दिए । गलत तथा भ्रामक सूचनाहरूलाई निरुत्साहित गर्नु सबैको राष्ट्रिय कर्तव्य मानी सूचना सम्प्रेषण गर्न पनि महानिरीक्षक अर्यालले सञ्चारकर्मीहरूलाई अनुरोध गरे ।
कार्यक्रममा बोल्दै बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ३ हजार ६३१ जना सशस्त्र प्रहरी र १ हजार ५१६ जना निर्वाचन प्रहरी खटिएको बताउँदै सुदूरपश्चिम प्रदेशको इतिहासमै पहिलो पटक स्वच्छ भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको बताए । उनले चालु आर्थिक वर्षमा २०९ विद्यालय, समुदाय र क्लबहरूमा विपद् सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १९ हजार ६९१ विपद् सूचकहरू तथा २६५ जनालाई समुदाय विपद् स्वयंसेवक तालिम प्रदान गरिएको जानकारी दिए ।
सशस्त्र प्रहरी बल, नेपालबाट विभिन्न प्रकारका विपद् प्रकोपमा यसै वर्ष २०४ जनाको सकुशल उद्धार र ७७ जना मृत उद्धार गरिएको र सामाजिक कार्य अन्तर्गत ३४३ स्थानमा विभिन्न मठमन्दिर, विद्यालय, सार्वजनिक स्थलहरूको सरसफाइ गर्नुका साथै यस वर्ष मात्रै थप ३ हजार ५५३ वटा विभिन्न जातका बोट बिरुवाहरूको वृक्षारोपण गरिएको बताए । उनले सीमा सुरक्षाअन्तर्गत सीमा स्तम्भ मर्मतलगायत राजश्व चुहावट नियन्त्रण र अवैध चोरी निकासी नियन्त्रणमा प्रभावकारी रूपमा कार्य गर्दै आइरहेको समेत जानकारी दिए ।

उनले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, अन्य सुरक्षा निकाय तथा सम्बन्धित पक्षहरू समेतको सहकार्यमा दीर्घकालीन सोचअनुसार लागूऔषध सेवन तथा ओसारपसारलाई निरुत्साहित एवं निस्तेज पार्ने, मानव बेचबिखन, प्राकृतिक स्रोत तथा वन, वन्यजन्तु एवं वन पैदावारको चोरी–निकासी नियन्त्रणलगायत सीमामा हुने अन्य कानुनविपरीतका क्रियाकलापलाई नियन्त्रण तथा न्यूनीकरणसँग सम्बन्धित विषयमा विभिन्न सचेतनामूलक कार्यक्रमसहित आफूहरू अगाडि बढिरहेको बताए ।
उनले सीमा सुरक्षामार्फत नेपालको सार्वभौमिकता, अखण्डता र स्वाधीनताको रक्षाका लागि सीमाको भौतिक तथा बहुआयामिक सुरक्षा प्रदान गर्दै राष्ट्र र नागरिकहरूलाई सुरक्षित राख्न सीमा क्षेत्रमा ‘रेस्पेक्ट अल, इन्पेक्ट अल’ को सिद्धान्त अवलम्बन गरी २४सै घण्टा तत्पर एवं परिचालित रहने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरी, पुनर्वास नगरपालिकाका प्रमुख तोयाप्रसाद शर्मा, नेपाली सेना सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी किरण केसी, गोदावरी नगरपालिका उपप्रमुख शारदादेवी रोकाया, प्रदेशस्थित विभिन्न मन्त्रालयका सचिवहरू, जिल्ला प्रशासन कैलाली र कञ्चनपुरका प्रजिअहरु, प्रदेश तथा जिल्लास्थित अन्य सरकारी कार्यालय तथा सुरक्षा निकायका अन्य पदाधिकारीहरू, निर्माण व्यवसायीलगायत अन्य सरोकारवाला निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।






