पहिलो उपन्यास ‘सलह’ लिएर आए कवि श्रवण

काठमाडौँ । कवि तथा गीतकार श्रवण मुकारुङले यस पटक आख्यानकारका रूपमा नयाँ उपन्यास ’सलह’ पाठकमाझ ल्याएका छन् । उनको यो पुस्तक शनिवार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ ।

उपन्यासकार श्रवणले आफ्नो यो कृति चलचित्र निर्देशक रामबाबु गुरुङ, संगीतकार कालीप्रसाद बाँसकोटा र श्रीमती गीता थापा मगरलाई उपहार दिँदै उनीहरुसँग पुस्तक लोकार्पण गरे । नेपालयद्धारा प्रकाशित ४३६ पृष्ठको ‘सलह’को मूल्य ९९५ रुपैयाँ रहेको छ ।

कार्यक्रममा पाठकको जिज्ञासामा कक्षा ७ मा पढ्दा ‘हुलाकी बन्ने धोको’ निबन्ध र ९ मा पढ्दा ‘अस्तित्व’ नाटक लेखेर आफू स्कुले जीवनमै आख्यान यात्रा लागेको स्मरण गरे । श्रवणले ‘सलह’ लोकार्पण समारोहमा निकै भावुक हुँदै बुबालाई सम्झिए । उनले कल्पना र स्मृतिले नै मानिसलाई बचाउने बताए । उनले यो पुस्तक आफ्नो चार दशक लामो साहित्य यात्राको अनुभवको आधारमा लेखेको बताए । पुस्तक लोकार्पण समारोहमा उनले भने, ‘निबन्ध, नाटक, कविता, गीत, कथा, चलचित्र हुँदै अहिले म उपन्यास ’सलह’ लिएर आएको छु । जीवनमा आख्यान लेख्ने लामो समयदेखिको धोको र हुटहुटीले मलाई उपन्यास सलह लेखायो ।’

काठमाडौँ आएपछि रत्न राज्यलक्ष्मी क्याम्पस पढ्दा पहिलो चोटि ‘आजकल रानीपोखरीमा’ कविता लेखेर साथीहरूलाई सुनाउँदा प्रशंसा पाएपछि कविता लेखनमा आफू मोडिएको पनि श्रवणले कार्यक्रममा बताए ।

उनले आफ्नो चर्चित कविता ‘बिसे नगर्चीको बयान’ को स्मरण गर्दै जनआन्दोलन २०६२÷०६३ मा आन्दोलनको माहौल त्यति बेला लेखेर यो कविताले तताएको बताए । वर्तमान राज्यसत्तालाई इंकित गर्दै उज्यालो खोज्दा अँध्यारो पनि हुन सक्छ भने ।

कार्यक्रममा नेपालयका सम्पादक विमल आचार्यले भने, ‘ यस अघि पलेटीमार्फत हामीसँग जोडिनु भएका उहाँ फेरी लेखकका रूपमा हामीसँग जोडिनुभएको छ । साहित्यलाई विचार र शैली दुवै हिसाबले गरिमामय बनाउने श्रवण मुकारुङको सलह सशक्त उपन्यास बनेको छ ।’

साहित्य यात्राको चार दशकमा आफूले बजारमा ल्याएका ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’ र ‘बिसे नगर्चीको बयान’ कविता संग्रह, ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’ गीत संग्रहको पनि उनले कार्यक्रममा चर्चा गरे ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

बुबा महेश भट्टको रोमान्सवारे खुलिन अभिनेत्री पूजा