इलाम । तेस्रो इलाम गोल्ड कपको पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबले पथरी ११ माथि सानदार जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । इलामको ठुलो टुँडिखेलमा बुधवार सम्पन्न खेलमा ५–२ को फराकिलो अन्तरले फाइनल यात्रा तय गरेको हो ।
खेलको १३औँ मिनेटमै सनिसको उत्कृष्ट क्रस पासलाई सदुपयोग गर्दै मच्छिन्द्रका मिलन राईले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । तर गोल गरेको ४ मिनेट नबित्दै पथरी ११ का मौसम लिम्बुले गोल फर्काए र खेललाई बराबरीमा ल्याए ।
मच्छिन्द्रले २३औँ मिनेटमा कर्नरबाट पाएको अवसर सदुपयोग गर्न सकेन भने त्यस लगत्तै अनिश श्रेष्ठले फ्रिकिकमा पाएको मौका पनि खेर गयो । ३०औँ मिनेटमा मिलन राईले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई फेरी अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल थप गर्न सकेनन् ।
मध्यान्तर अघिको अतिरिक्त समयमा मच्छिन्द्रले राम्रो अवसर पाएको थियो तर पथरीका गोलरक्षक समीर क्षेत्रीले उत्कृष्ट बचाउ गर्दै अन्तर घट्न दिएनन् । दोस्रो हाफमा मच्छिन्द्र झन् आक्रामक देखियो । ५०औँ मिनेटमा सौरव लिम्बुले गोल गर्दै अग्रता फराकिलो बनाए ।
७०औँ मिनेटमा पथरीका सुजल डङ्गोलले गोल गर्दे लयमा फर्कन खोजे पनि ८०औँ मिनेटमा मच्छिन्द्रका अविनाश स्याङताङले गोल थप्दै टिमलाई बलियो बनाए । अतिरिक्त समयमा श्याम मुर्मुले अर्को गोल थपेपछि मच्छिन्द्र सानदार जितसहित फाइनल पुग्यो ।
यता, पथरी ११ ले पनि केही उत्कृष्ट अवसर सिर्जना गरेको थियो । २२औँ मिनेटमा मौसम लिम्बुले पाएको अवसर चुके भने ५४औँ मिनेटमा राम वाजीको प्रहार गोल पोस्टमा लागेर फर्कियो । ६८औँ मिनेटमा राम वाजीको कर्नर प्रहार मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारीको पञ्चलाई सुजल डङ्गोलले गोलमा परिणत गर्दै पथरीलाई खेलमा फर्काउने प्रयास गरे ।
तर त्यसपछि पथरीले पाएका अवसरहरू सदुपयोग गर्न नसक्दा इलाम गोल्ड कपको फाइनल यात्रा सकियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका मच्छिन्द्रका मिलन राई ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद ८ हजार १ रुपैयाँ प्राप्त गरे । शुक्रवार न्युरोड टिम काठमाडौँ (एनआरटी) र रोलिङ क्लब झापाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
सम्बन्धित समाचार
‘पोखरा ओपन एथलेटिक्स मिट’ शनिबारदेखि
यु–१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण
प्रधानमन्त्री कपः आजको खेलमा गण्डकी प्रदेश विजयी
अन्तरपालिका पुरुष भलिवल प्रतियोगिताको उपाधि पाँचखपनले जित्यो
रोलिङसँग फिदिम ३–० ले स्तब्ध
‘महिला फुटबल खेलाडीले चन्द्रनिगाहपुरको पहिचान बनाए’
डिफेन्डिङ च्याम्पियन एनआरटीको संघर्षपूर्ण जित
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु






