उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकअनुसार पछिल्लो ६ वर्षको अवधिमा जिल्लामा आगलागीका घटना निरन्तर बढ्दो क्रममा देखिएको छ । यस अवधिमा आगलागीबाट पाँच जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् ।
प्रहरीको तथ्यांकअनुसार ३६ करोड ६८ लाख १६ हजार रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । पछिल्लो समय बजार क्षेत्रदेखि ग्रामीण बस्ती र सामुदायिक वनसम्म आगलागीको जोखिम बढ्दै जाँदा जनधनको सुरक्षामा चुनौती थपिएको देखिएको छ ।
पछिल्लो घटना चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारस्थित वाणिज्य बैक लाइनमा भएको आगलागीले फेरि एकपटक जिल्लामा आगलागी जोखिमको गम्भीरता उजागर गरेको छ । घटनामा ७० वर्षीय लक्ष्मीनारायण खड्का र उनका नाति पवन खड्काको जलेर मृत्यु भएको थियो । रातको समयमा घरभित्रै रहेका उनीहरू आगोले चारैतिरबाट घेरेपछि बाहिर निस्कन नपाई ज्यान गुमाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
प्रहरीका अनुसार आगलागी विद्युत् सर्टका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ । काठबाट बनेका घर भएकाले आगो तीव्ररूपमा फैलिएको थियो । घटनामा पदम खड्काको घरसहित दुईवटा खसी जलेर करिब ३१ लाख रुपैयाँबराबरको क्षति भएको छ । साथै छिमेकी रविनकुमार दासको काठको घर तथा किराना पसलमा करिब २० लाख रुपैयाँबराबरको क्षति पुगेको छ ।
सोही भवनमा सञ्चालित मित्र थापामगरको स्टेसनरी पसलमा करिब ६ लाख रुपैयाँ, होमबहादुर परियारको ट्रेलरमा करिब २ लाख रुपैयाँ तथा मैया पौडेलको चटपटे पसलसहित अन्य सामग्रीमा करिब ४ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीको भनाइ छ । कुल क्षति करिब ६३ लाख रुपैयाँ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चालु आर्थिक वर्ष २०८२÷०८३ को ८ वैशाखसम्म मात्रै ७७ स्थानमा आगलागी भएका छन् । यस अवधिमा दुई जनाको मृत्यु भएको छ भने ३ करोड २७ लाख ७१ हजार रुपैयाँबराबरको क्षति भएको छ ।
यस्तै आर्थिक वर्ष २०८१÷०८२ मा ८६ स्थानमा आगलागी हुँदा सात जना घाइते भएका थिए र ५ करोड ७८ लाख ८७ हजार २०० रुपैयाँबराबरको क्षति भएको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा १३६ स्थानमा आगलागी हुँदा नौ जना घाइते भएका थिए भने ९ करोड ३९ लाख ४७ हजार ८०० रुपैयाँबराबरको क्षति भएको थियो ।
आर्थिक वर्ष २०७९÷०८० मा १२८ स्थानमा आगलागी हुँदा दुई जनाको मृत्यु र चार जना घाइते भएका थिए । सो वर्ष मात्रै ९ करोड ५० लाख ८२ हजार रुपैयाँबराबरको क्षति भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा ९१ स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका थिए भने ३ करोड ३० लाख ५३ हजार रुपैयाँबराबरको क्षति भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा ४८ स्थानमा आगलागी हुँदा तीन जना घाइते भएका थिए र १ करोड ६ लाख ७५ हजार रुपैयाँबराबरको क्षति भएको थियो ।
प्रहरीका अनुसार पछिल्लो ६ वर्षमा आगलागीबाट ५५६ वटा घर तथा गोठ जलेका छन् । यस अवधिमा ३ हजार ७३२ पशुचौपाय तथा पक्षीसमेत मरेका छन् ।
ग्रामीण क्षेत्रमा घरसँगै जोडिएका गोठ भएकाले आगलागी हुँदा पशुधनमा ठूलो क्षति हुने गरेको देखिएको छ । साथै सामुदायिक वन क्षेत्रमा हुने डढेलोले पनि बस्ती आसपासको जोखिम बढाउने गरेको छ । यसले वातावरणीय क्षतिसँगै स्थानीय जनजीवनमा थप जोखिम सिर्जना गरेको छ ।
प्रहरीका अनुसार माघदेखि जेठसम्मको सुख्खा मौसममा आगलागीका घटना बढी हुने गरेका छन् । विशेषगरी असुरक्षित विद्युत् तार, ग्यास प्रयोगमा लापरबाही, खुला आगो, वन डढेलो तथा मानवीय असावधानी आगलागीका प्रमुख कारणका रूपमा देखिएका छन् । जिल्लाका धेरैजसो ग्रामीण बस्तीमा ढुंगा, माटो र काठबाट बनेका घर बढी भएकाले आगो छिटो फैलिने जोखिम उच्च रहेको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय बढाउनु आवश्यक देखिएको छ ।
उदयपुर जिल्लामा चार नगरपालिका र चार गाउँपालिका रहेका छन् । जिल्लाभर हाल पाँच वटा दमकल सञ्चालनमा रहेका छन् । तीमध्ये चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकामा एक–एक वटा दमकल सञ्चालनमा छन् ।
त्यसैगरी जिल्लामा चार वटा पानी ट्यांकर पनि उपलब्ध रहेका छन् । आगलागीका घटनाका बेला आवश्यक परेमा ती पानी ट्यांकरसमेत दमकलसँगै प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयले जानकारी दिए । यद्यपि जिल्लामा पाँच वटा दमकल सञ्चालनमा भए पनि आगलागीका बेला आवश्यक समन्वय अभाव, घटनास्थलसम्म पुग्न ढिलाइ तथा दमकलमा पानी सकिएपछि टाढाबाट पुनः पानी भर्नुपर्ने बाध्यताका कारण कहिलेकाहीँ आगलागीबाट ठूलो क्षति हुने गरेको स्थानीय तीर्थ थापाले बताए ।
पछिल्ला घटनाक्रमले उदयपुरमा आगलागी नियन्त्रणका लागि पूर्वतयारी, दमकल पहुँच विस्तार, सुरक्षित विद्युत् संरचना तथा जनचेतना अभिवृद्धि अपरिहार्य भएको संकेत गरेको छ । अन्यथा हरेक वर्ष दोहोरिने आगलागीका घटनाले जनधनको क्षति अझ बढ्दै जाने चिन्ता स्थानीयवासीले व्यक्त गर्न थालेका छन् ।
सम्बन्धित समाचार
मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
मर्स्याङ्दी ड्याममा एक जना बेपत्ता, खोजीकार्य जारी
देवघाटको महत्त्व र महिमा चिनाउन ‘दिग्दर्शन’ प्रकाशन
अठार वर्षपछि सडक स्तरोन्नति गर्न थालियो
बेनी अस्पतालमा दुर्घटनासम्बन्धी उद्धार र उपचार अभ्यास
ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु
शिशुवा–खुदीखोला सडक स्तरोन्नति
सडक अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाहीको माग






