गुराँसको राजधानी भरिभराउ, होटल नपाएर फर्कँदै पर्यटक


धनकुटा । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तीनजुर–मिल्के–जलजले (टीएमजे) क्षेत्र यतिबेला रंगीचंगी गुराँसले ढकमक्क फुलेर दुलहीझैं सिंगारिएको छ । वसन्त ऋतुको आगमनसँगै प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण बनेको यस क्षेत्र अहिले पर्यटकले खचाखच भरिएको छ । गुराँसको राजधानीका रूपमा चिनिने टीएमजेमा बढी मात्रामा आन्तरिक र कम मात्रामा बाह्य पर्यटकको घुइँचो लाग्दा होटलहरू भरिभराउ भएका छन् भने हजारौं पर्यटक बास नपाएर फर्किन बाध्य भएका छन् ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थलका रूपमा रहेको टीएमजे क्षेत्रमा चैत महिनाको मध्यदेखि वैशाखसम्मको समय भ्रमणका लागि सबैभन्दा उपयुक्त मानिन्छ । चैतदेखि जेठसम्मको अवधिमा फुल्ने गुराँसले जंगललाई राताम्य, पहेँलो, गुलाबी र सेताम्मे रंगले सजाउँछ । तेह्रथुमको वसन्तपुरबाट सुरु हुने टीएमजे घुर्बिसे, पाँचपोखरी, फेदी, चौकी, मंगल’bout, गुफा, सुके, जोरपोखरी हुँदै ताप्लेजुङसम्म फैलिएको छ । यस क्षेत्रमा पाइने गुराँसका वन, बीच–बीचमा भेटिने लामपोखरी, गुफापोखरीलगायत साना–ठूला पोखरीले पर्यटकलाई थप लोभ्याउने गर्छन् । गुराँस फुलेसँगै वसन्तपुर चोत्लुङ पार्कदेखि टुटे देउराली, आरआर गार्डेन, डुँडपानी, घुर्बिसे, पाथीभरा आसपास, पाँचपोखरी तथा गुफा क्षेत्रसम्म पर्यटकहरूको बाक्लो उपस्थिति देखिएको छ ।

यस वर्ष पर्याप्त वर्षा र अनुकूल मौसमका कारण गुराँस अघिल्लो वर्षको तुलनामा बढी फुलेको स्थानीय बताउँछन् । गुराँसको यही आकर्षणले पर्यटकको चाप ह्वात्तै बढाएको हो । वसन्तपुरस्थित होटल हिमालयनकी सञ्चालिका सुशीला पौडेलका अनुसार दैनिक तीन सयभन्दा बढी पर्यटकलाई कोठा अभावकै कारण फर्काउनुपरेको छ । ‘पछिल्ला २१ दिनदेखि निरन्तर अत्यधिक चाप छ,’ उनी भन्छिन्, ‘आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ, थोरै मात्रामा भारतीय पर्यटक पनि आएका छन् ।’

पछिल्लो समय नेपाली समाजमा घुम्ने संस्कृतिको विकास हुँदै जाँदा आन्तरिक पर्यटन फस्टाउँदै गएको देखिन्छ । यही प्रवृत्तिको प्रभाव टीएमजे क्षेत्रमा स्पष्ट देखिएको छ । होटल एसोसिएसन तेह्रथुमका अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार विशेषगरी बिदाका दिन अत्यधिक भीड हुने गरेको छ । ‘चैत २२ गतेपछि त होटल व्यवसायीलाई सास फेर्ने फुर्सद छैन,’ उनले भने, ‘तराईबाट
अर्थात् आन्तरिक पर्यटक धेरै मात्रामा आएका छन्, भारतका नगण्य देखिए पनि तेस्रो मुलुकका पर्यटक भने आएको देखिएको छैन ।’

गुराँस हेर्न वा टीएमजेमा रमाउन आएका पर्यटकले सो क्षेत्रमा मात्रै नभई तेह्रथुमको सदरमुकाम म्याङलुङ, लसुने, जिरी तथा धनकुटाको हिले, पाख्रिबास र सिधुवाका होटलहरु समेत भरिएका छन् । ती क्षेत्रका होटलको दैनिक करिब १५ हजार मानिस अटाउने क्षमता भए पनि ३ हजारभन्दा बढी पर्यटक दैनिक बास नपाएर फर्किन बाध्य भएको बताइएको छ ।

होटल एसोसिएसन अफ धनकुटाका अध्यक्ष खगेन्द्रकुमार विष्टका अनुसार हिले, पाख्रिबास र सिधुवाका होटल भरिएपछि पर्यटकलाई धनकुटा सदरमुकामतर्फ पठाउनुपरेको छ । उनले पनि २०–२२ चैतदेखि पर्यटकको चाप नघटेको बताए । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि तराई क्षेत्रबाट आउने पर्यटकको संख्या अझ बढेको व्यवसायीहरू बताउँछन् । सडक विस्तार र पार्किङ व्यवस्थापनमा भएको सुधारले पनि यस वर्षको पर्यटक आगमनलाई सहज बनाएको उनीहरुको भनाइ छ ।

स्थानीय छिरिङ लामाका अनुसार टीएमजेमा गुराँस मात्रै नभई हिमाली दृश्यावलोकन पनि अर्को प्रमुख आकर्षण हो । यो वर्ष पर्याप्त वर्षा भएकाले टीएमजेमा गुराँस ढकमक्क फुलेको उनको भनाइ छ । ‘सफा मौसममा ताप्लेजुङतर्फ कञ्चनजंघा र कुम्भकर्ण तथा संखुवासभातर्फ मकालु र चाम्लाङ हिमालको दृश्य देख्न पाइन्छ,’ उनले भने ।

साथै, यही क्षेत्रबाट पाथीभरा देवीको दर्शन गर्न सकिने भएकाले धार्मिक पर्यटकहरू पनि आउने गरेको लामाले बताए । मुख्यगरी पर्यटकहरू भने चैत वैशाखमा गुराँस ढकमक्क फुल्ने भएकाले गुराँससँग रमाउन बढी मात्रामा आउने गरेको लामाले बताए ।

यहाँ रहेका चौकी बजार, मंगल’bout बजार, मेन्छ्याम डाँडा, गुफा पोखरी पनि पर्यटकका आकर्षण हुन् । प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमाली दृश्यको अनुपम संगम रहेको टीएमजे अहिले गुराँसको रङमा रंगिएको छ । टीएमजेमा हालसम्म कति पर्यटक आए भन्ने तथ्यांक भने कहीँ भेटिँदैन । विगतका वर्ष भन्दा यस वर्ष सडक विस्तार तथा पार्किङ व्यवस्थापनले सहज बनाएको छ ।

टीएमजेमा कुन कुन जातका गुराँस पाइन्छन् ?

टीएमजे क्षेत्र जैविक विविधताको हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ । विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस टीएमजे क्षेत्रमा पाइन्छन् । गुराँस १ हजार २०० देखि ५ हजार ५०० मिटर उचाइसम्म पाइन्छ । करिब १७ सय मिटरदेखि ५ हजार मिटर उचाइसम्म फैलिएको (टीएमजे) क्षेत्रले प्राकृतिक सौन्दर्य र जैविक विविधताको महत्वपूर्ण केन्द्रको रूपमा पहिचान बनाएको छ । टिएमजेमा १० सेन्टिमिटरका बुट्यानदेखि १८ मिटर अग्लासम्म गुराँसका रुख पाइन्छन् ।

टिएमजे क्षेत्रमा लालीगुराँस, सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् । यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पाइने गरेको छ । यस्तै पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ, हुकरको गुराँस, पहेँलो सुनपाती, भुत्ले गुराँस, भाले सुनपाती, सानो लहरे चिमाल, हिउँ गुराँस पनि टिएमजेमा पाइन्छ ।
टीएमजेमा झन्डिने चिमाल, पुड्के गुराँस, बुलु, शाल्लु गुराँस, थाम्सनको गुराँस, रोडोडेन्ड्रोन ट्राइकोक्लाडुम, पहेँलो गुराँस, खियाउने पाते गुराँस, हाँगिने गुराँस, बालिकको गुराँस, वाइटको गुराँस प्रजातिका गुराँस पाइन्छ । नेपालका अन्य क्षेत्रमा पाइने रोडोडेन्ड्रोन लोओनडेसी र रोडोडेन्ड्रोन कोवानिआनुम प्रजातिका गुराँस भने टिएमजे क्षेत्रमा पाइँदैनन् । टीएमजे गुराँसमा रमाउने पर्यटनका हिसाबले नेपालकै पहिलो गन्तव्य हो ।

गुराँस टिप्नेलाई ऐनअनुसार कारबाही गरिने

पछिल्लो समय केही पर्यटक तथा स्थानीयबाट जथाभाबी गुराँसका फूल टिप्ने र हाँगा भाँच्ने गतिविधि बढ्दै गएको पाइएको छ । यसप्रति गम्भीर ध्यानाकर्षण गराउँदै चैते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले यस्ता कार्यमा संलग्न व्यक्तिलाई वन ऐनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन् । समितिले गुराँस संरक्षणलाई प्राथमिकतामा राख्दै सचेतनामूलक अभियान सञ्चालन गरिरहेको जनाएको छ । स्थानीयवासीले पनि पर्यटकलाई फूल नटिप्न, हाँगा नभाँच्न र प्राकृतिक सम्पदा जोगाउन आग्रह गरेको छ । प्राकृतिक सौन्दर्यको अनुपम धरोहर मानिएको (टीएमजे) क्षेत्रको संरक्षण सबैको साझा दायित्व भएको सरोकारवालाहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

epaper

ताजा समाचार

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन