फोटोबाट गुल्मी चिनाउँदै दिनेश

गुल्मी । ११ वैशाखदेखि गुल्मीको सदरमुकाम तम्घासमा गुल्मी महोत्सव लागिरहेको छ । महोत्सवमा सबैजसो स्टल व्यापारिक अर्थात् नाफामूलक प्रयोजनका लागि छन् । तर महोत्सवमै एक युवा, जसले निःशुल्क रूपमा फोटोमार्फत गुल्मी चिनाइरहेका छन् ।

गुल्मी दरबार गाउँपालिका चारपाला निवासी दिनेश बस्नेत सानैदेखि फोटोग्राफीमा रुचि राख्थे । उनले जिल्लाका धेरै धार्मिक तथा पर्यटकीयस्थलको तस्बिर खिचेका छन् । उनले खिचेका तस्बिरलाई संस्थागत गर्दै गुल्मी महोत्सवमा प्रदर्शनीमा राखेका हुन् ।

उनले महोत्सवको मञ्चअगाडि नै जिल्लाका विभिन्न स्थानका २० तस्बिरलाई क्रमबद्ध हिसाबले प्रदर्शनीमा राखेका छन् । जसमा गुल्मीको नामकरण भएको गुल्मी चारपाला दरबार, जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुंगा यज्ञशाला, रेसुंगा टावर, रेसुंगा महापोखरी, रेसुंगाबाट देखिने हिमाल, भुवाने पार्क, तम्घास बजार, विभिन्न ठाउँबाट देखिने हिमशृंखला, चराचुरुंगीलगायतका तस्बिर उनले राखेका छन् । सबै तस्बिर दिनेश आफैले खिचेका हुन् ।

दिनेशले खिचेका तस्बिरहरू राष्ट्रियस्तरका सञ्चार माध्यममा समेत आइरहेका थिए । त्यो देख्दा उनलाई फोटोग्राफीमा रुचि बढ्न थाल्यो र थप तस्बिरहरू खिच्न थाले । अन्ततः उनका साथी बर्दघाटका राज अधिकारीले महोत्सवमा फोटो प्रदर्शनी गर्ने सल्लाह दिए । उनैको सल्लाहमा दिनेशले अहिले फोटोमार्फत गुल्मी चिनाइरहेका छन् ।
सबै तस्बिर र तस्बिर राख्ने ठाउँ बनाउन दिनेशको व्यक्तिगत ४० हजार रुपैयाँजति खर्च भएको छ । ‘कसैले खर्च भएको छ भन्दै दिए लिने, तर आफै मागेको छैन,’ उनले भने, ‘पैसाभन्दा पनि गुल्मी चिनाउने मेरो प्रमुख उद्देश्य हो ।’

जिल्लामा धेरै पर्यटकीय स्थल भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेकाले त्यस्ता पर्यटकीय स्थललाई प्रचारप्रसार गर्ने उद्देश्यले फोटो प्रदर्शनीमा राखेको दिनेशको भनाइ छ । मेलामा आएका लगभग सबैजनाले उनको स्टल हेर्ने, फोटो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन् । उनी बैंकिङ क्षेत्रका कर्मचारी भएकाले दिनभर स्टलमा समय दिन सक्दैनन् । कार्यालय समयभन्दा अन्य समय उनले महोत्सवमा फोटो प्रचारमा खर्चँदै आएका छन् । उनी कार्यालय हुँदाको समयमा भने महोत्सव आयोजक गुल्मी उद्योग वाणिज्य संघले उनलाई सहयोग गर्दै आएको छ । तस्बिरको व्यवस्थापन, निःशुल्क ठाउँ उपलब्ध गराउने जस्ता कार्यमा वाणिज्य संघले सहयोग गरेको दिनेश बताउँछन् ।

‘तस्बिरहरू हेर्दा धेरैले गुल्मीमा यति सुन्दर ठाउँहरू पनि रहेछन् भन्नुभएको छ,’ दिनेश भन्छन्, ‘हामीले गुल्मी चिनाउन आफ्नो ठाउँबाट मिहिनेत गर्नुपर्छ ।’
उनले सो स्टल महोत्सव अवधिभर अर्थात् २३ वैशाखसम्म राख्ने योजना बनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी