मोरङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुसन्धानका लागि आउने क्रम बढेको हो ।
पहिला वनभोज खान र घुुमघामका लागि मात्र आन्तरिक पर्यटक आउने गरेकामा पछिल्लो समय सिमसार क्षेत्रमा जीवजन्तुुको अनुुसन्धान गर्ने उद्देश्यले विद्यार्थीहरू आउने क्रम बढेको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु भट्टराईले बताए । अघिल्लो साता काठमाडौँको एक कलेजबाट यहाँको पानी अनुुसन्धानका लागि विद्यार्थीको टोली आएको उनले जानकारी दिए ।
प्रायः दैनिक दुई सयको हाराहारीमा आउने आन्तरिक पर्यटकले सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाउने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, हरिणलगायत जीवजन्तुुले लोभ्याउने गरेको अध्यक्ष भट्टराईले उल्लेख गरे । “सुुनसरीको इटहरी चोकबाट १६ किलोमिटर पूर्व गएपछि हरियो वनले ढपक्कै ढाक्छ । त्यससँगै केही मिटरपर पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा वेतना सिमसार रहेको छ”, उनले भने ।
दुई प्रजातिका वेत वनस्पतिको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भट्टराईले बताए । यहाँ विशेषगरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्यसँगै चरा, माछा र कछुुवाको अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उनको भनाइ छ ।
राजमार्गसँगै जोडिएको हुनाले यहाँ आउन सहज हुने भएकाले पनि वनभोज खान आउने आन्तरिक पर्यटकको दैनिक घुइँचो हुने गरेको वन उपभोक्ता समितिका सहसचिव राजन प्रसाईंले बताए । उनका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ ।
पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको सहयोगमा रु २० लाखको लागतमा पानीको फोहोरा निमार्ण सुुरु गरिएको समितिका सहसचिव प्रसाईंले जानकारी दिए । उनका अनुसार करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् ।
तीन वर्षअघि अष्ट्रियाबाट आएका वैज्ञानिकहरूको टोलीले अतिसङ्कटापन्न सूचीमा रहेको ‘ब्ल्याक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा फेला परेका समितिका अध्यक्ष शम्भु भट्टराईले जानकारी दिए । यहाँ पाइने वनस्पति, पशुपन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उनको भनाइ छ ।
समितिका अध्यक्ष भट्टराईका अनुसार विश्वमै दुर्लभ मानिने प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छन् । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पूर्वी नेपालको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताए । यसका लागि तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिए ।
सम्बन्धित समाचार
मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान
तीन तहकै सरकारको सहभागितामा पहिलो पटक कृषि गणना गरिँदै
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण
विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
सरकारको सम्पर्कमा पुगे काठमाडौंका १८१६ सुकुमबासी परिवार
काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु






