सातवटै प्रदेश सरकार फेरबदलको कसरत

काठमाडौं । संघीय संसदमा साना दलको हैसियतमा सिमित पुराना दलहरु केन्द्रको ‘खसखस’ मेटाउन प्रदेशमा झरेका छन् । केन्द्रीय सरकारमा सधै गठबन्धन गर्दै सत्ता फेरबदलको खेल गर्दै आएका यि दलहरु पछिल्लो निर्वाचनमा साना दलको हैसियतमा सिमित भएका छन् ।

२१ फागुनको निर्वाचन पश्चात केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ । गठबन्धन गरेर केन्द्र सरकार बनाउने र गिराउने हैसियत गुमाएपछि साना दलको हैसियतमा सिमित पुराना दलहरु भने प्रदेश सरकारमा फेरबदलको खेललाई निरन्तरता दिएका छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी सहितका दलहरु अहिले प्रदेश सरकारहरुमा सत्ता हेरफेरको खेलमा लागेका छन् । जसपा र जनमत पार्टी संघीय संसदमा शुन्य भएको छ । कांग्रेस, एमाले, नेकपाको विगतमा संघीय सरकारमा हालीमुहाली रहदै आएको भए पनि पछिल्लो निर्वाचनबाट साना दलको हैसियतमा पुगेका छन् ।

शुक्रबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएपछि सरकारमा एमाले सहभागि भयो । मधेस सरकारमा कांग्रेसबाट यादव मुख्यमन्त्री छन् । कांग्रेस, एमाले, नेकपाले विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ६२ मत र विपक्षमा ३८ मत परेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा एक सय सांसद उपस्थित रहेका थिए । मधेसमा जसपा, जनमत, राप्रपा सहितका दलहरु विपक्षमा मत राखेका छन् ।

यसैगरी कोशी प्रदेशमा पनि सरकार परिवर्तनका लागि दलहरु आन्तरिक छलफलमा छन् । कांग्रेसका सभापति गगनकुमार थापाले कोशी प्रदेशमा केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुन सक्ने संकेत गरेका छन् । पार्टीको कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्थाका कारण कोशीमा छिट्टै नयाँ सरकार गठन हुने बताएका हुन् ।

तर दलहरूबिच छलफल भए पनि हालसम्म सरकारको नेतृत्व परिवर्तनका विषयमा ठोस सहमति हुन बाँकी रहेको नेताहरू बताउँछन् । कांग्रेस र एमालेको नेतृत्वमा सरकार गठन भएकै बेला आधाआधा कार्यकाल सरकार सञ्चालन गर्ने सहमति भएको थियो । पूर्वसहमती अनुसार बजेट अघि नै कोशीमा सरकारको नेतृत्व परिवर्तन हुनुपर्नेमा कांग्रेस नेताहरुले जनाएका छन् । तर एमालेले अहिलेकै सरकारको निरन्तरताको पक्षमा रहेको छ ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता हिमाल कार्कीले कांग्रेसले बजेट आउनुअगाडि नै सरकारको नेतृत्व परिवर्तन गरेर नयाँ बजेट ल्याइनुपर्ने बताए । उनले सरकार परिवर्तनको विषय कोशी प्रदेशका नेताहरूको हातमा नभएका कारण केन्द्रीय नेतृत्वको निर्णयलाई पर्खिरहेको जनाएका छन् । एमाले कोशी प्रदेका प्रमुख सचेतक रमेशकुमार बस्नेतले सरकारको नेतृत्व परिवर्तनका विषयमा छलफल भए पनि कुनै सहमती नभएको जनाएका छन् । कतिपय नेताहरुले कोशी प्रदेशमा पनि मधेस प्रदेश जस्तै कांग्रेस, एमाले, नेकपा सहितका दलहरुको संयुक्त सरकार बनाउने कसरत पनि भइरहेको जनाएका छन् ।

यस्तै आलोपालो सहमती अनुसार बागमती प्रदेशमा पनि सरकार हेरफेरको कसरत भइरहेको छ । बागमती प्रदेशमा कांग्रेसका इन्द्रबहादुर बानिया मुख्यमन्त्री छन् । उनको कार्यका लगत ८ चैतसम्म थियो । बागमती सरकारको मुख्यमन्त्री परिवर्तनको ’boutमा कांग्रेस, एमाले, नेकपाका नेताहरु केन्द्रीय निर्णयको पर्खाइमा रहेका छन् ।

२०८१ साल ८ साउनमा भएको सहमती अनुसार अहिले बागमतीमा एमालेको सरकार हुनुपर्ने हो । तर अन्यप्रदेशको समेत सरकार हेरफेरको कसरत भइरहेकाले नेताहरु केन्द्रीय नेताहरुको निर्णयको पर्खाइमा रहेका छन् ।

कोशी, बागमती जस्तै गण्डकीमा पनि सरकार हेरफेर हुदैछ । कांग्रेस र एमालेबीचमा भएको सहमती अनुसार अहिले एमालेको सरकार हुनुपर्ने हो । तर गण्डकी प्रदेशमा पनि कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । अन्य प्रदेश जस्तै गण्डकीमा पनि सरकार परिवर्तन हुन्छ । तर नेकपा सहितको सरकार बनाउने गृहकार्य भएकाले ढिलाई भएको नेताहरु बताउँछन् ।

लुम्बिनीमा एमालेबाट चेतनाराण आचार्य मुख्यमन्त्री छन् । कांग्रेस र एमाले बीचमा भएको पूर्व सहमती अनुसार लुम्बिनीमा कांग्रेसले सरकारको नेतृत्व गर्न केन्द्रीय नेताहरुको निर्णयको पर्खाइमा नेताहरु रहेका छन् ।

आलोपालो सहमती अनुसार एमालेको समय पुगिसकेकाले कांग्रेसले गण्डकीमा सरकारको नेतृत्व गर्न खोजिरहेको छ । तर अन्य प्रदेश जस्तै गण्डकीमा पनि सरकार परिवर्तन केन्द्रीय नेताहरुको सहमतीमै हुने बताइन्छ ।

दुई साताअघि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टी सभापति थापाले कर्णालीमा आफ्नो पार्टीले नेतृत्व गर्ने बेला आएको बताएका थिए । कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री छन् । कांग्रेस सभापति थापाले भनेजस्तै पूर्वसहमती अनुसार अब कर्णालीमा कांग्रेस नेतृत्वमा सरकार गठन हुनेछ ।

सुदुरपश्चिम प्रदेशमा कांग्रेस, एमाले, नेकपा सहितको संयुक्त सरकार बनाउने गृहकार्य भइरहेको छ । सुदुरपश्चिम प्रदेशमा नेकपा सबैभन्दा ठुलो दल भएकाले नेकपाकै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको छ । केन्द्रीय स्तरमा हुने सहमती अनुसार सुदुरपश्चिममा पनि तीन दलको संयुक्त सरकार गठन हुन्छ । सुदुरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री छन् ।

सात प्रदेशमध्ये कोशी, लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार छ । सातै प्रदेशमा कांग्रेस, एमाले, नेकपाको संयुक्त सरकार बनाउने गरी छलफल भइरहेकाले सुदुरपश्चिममा सरकारको नेतृत्व ठुलो दलको हैसियतले नेकपाले गर्न सक्छ । तीनै दलका शीर्ष नेताहरुका बीचमा छलफल निरन्तर जारी रहेकाले भागबण्डाकै आधारमा सातै प्रदेशमा सरकार गठनको गृहकार्य भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती