काठमाडौं । विश्व प्रसिद्ध चलचित्र महोत्सव ‘कान्स फिल्म फेस्टिभल–२०२६’ नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले ’अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जितेको छ । यो सहित अन्य विधामा अवार्ड प्रदान गर्दै ७९औँ कान्स चलचित्र महोत्सव शुक्रवार रातीबाट सम्पन्न भएको छ ।
अविनाश विक्रम शाह निर्देशित फिल्म ‘एलिफेन्ट्स इन द फग’ले कान्सको यो दोस्रो महत्त्वपूर्ण विधा ‘अन सर्टेन रिगार्ड’तर्फको अवार्ड जितेको हो । यो प्रतिस्पर्धामा विश्वबाट हजारौँ चलचित्र सहभागी थिए । यसरी विभिन्न देशका प्रतिस्पर्धी चलचित्रलाई पछि पार्दै नेपाल दोस्रो स्थानमा यो अवार्ड चुम्न सफल भएको छ । यो नेपाली चलचित्रको इतिहासमै पहिलो अन्तर्राष्ट्रिय उत्कृष्ट मध्येको एक चलचित्र पुरस्कार हो ।
७९औँ कान्स चलचित्र महोत्सवमा ‘अन सर्टेन रिगार्ड’तर्फको मुख्य अवार्ड ‘अन सर्टेन रिगार्ड प्राइज’ भने सान्ड्रा वुल्नरको चलचित्र ‘एभ्रिटाइम’ले जितेको छ । यो प्रतिस्पर्धामा नेपाल दोस्रो भएको हो ।

यसका निर्देशक अविनाश विक्रम शाहले चलचित्रबाट पुरस्कार ग्रहण गरेपछि यो आफ्नो मात्र नभएर देशकै सफलता भएको बताएका छन् । चलचित्र निर्माणमा सहभागी सबैलाई धन्यवाद दिँदै उनले अवार्ड जितेकोमा खुसी व्यक्त गरेका छन् ।
यो महोत्सवमा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ को पहिलो वल्र्ड प्रिमियर ७ जेठ बिहीबार गरिएको थियो । महोत्सवमा सहभागी हुनको लागि यस चलचित्रबाट निर्देशक अविनाश विक्रम शाहसहित चलचित्रका कलाकारहरू पुष्प थिङ लामा, सहद दिन मिया, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, चयन अधिकारी नेपालबाट फ्रान्सको कान्स सहरमा आयोजित महोत्सवमा पुगेका थिए । उनीहरू त्यहाँ रेड कार्पेटमा समेत प्रस्तुत भएका थिए ।
सो महोत्सवमा चलचित्र ‘एलिफेन्ट्स इन द फग’ प्रिमियर समारोहमा हेरेपछि विश्वका चलचित्रकर्मीहरूले यसको खुलेर तारिफ गरेका थिए । सो महोत्सवमा सहभागी हुन कान्स पुगेकी काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पनि यो चलचित्रको सफलता प्रति आफ्नो सामाजिक सञ्जालमा सन्देश राख्दै खुसी व्यक्त गरेकी छिन् । उनी कान्स सहरका मेयरको निमन्त्रणमा त्यहाँ पुगेकी हुन् ।
अविनाशकै लेखन समेत रहेको चलचित्र ‘एलिफेन्ट्स इन द फग’मा झापामा जंगली हात्तीको आतंकबाट बच्नको लागि त्यहाँका बासिन्दाहरूले गरेको संघर्षको कथा प्रस्तुत गरिएको छ । यो एकातिर हात्तीको आतंकसँगै अर्को तर्फ अल्पसंख्यक तेस्रो लिंगी समुदायको संघर्षको कथा पनि चलचित्रमा उनले प्रस्तुत गरेका छन् । चलचित्रका अन्य कलाकारमा गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, सञ्जय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा, अनिल कुर्मी, आकांक्षा कार्कीलगायत छन् ।
यो चलचित्रलाई कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल, प्रचण्ड मान श्रेष्ठ, अनुप पौडेललगायतले निर्माण गरेका हुन् । यो चलचित्रमा विभिन्न देशका आधा दर्जन चलचित्रकर्मीहरु पनि निर्माता रहेका छन् । यो चलचित्र विभिन्न देशमा रिलिजको लागि बिक्री भइसकेको छ ।
‘एलिफेन्ट्स इन द फग’ले कान्समा पहिलो पटक विशिष्ट पुरस्कार जितेपछि यो चलचित्रको टिमलाई नेपाल सरकार र चलचित्र विकास बोर्डले समेत स्वागत तथा सम्मान गर्ने भएको छ । चलचित्रको युनिट कान्सबाट सोमबार साँझ काठमाडौँमा अवतरण गर्दै छन् । सोही क्रममा सोमबार साँझ ५ः३० बजे यो टिमलाई चलचित्र विकास बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै स्वागत गर्ने तयारी गरिरहेको बोर्ड अध्यक्ष दिनेश डिसीले जानकारी गराएका छन् ।
डिसीका अनुसार यो महोत्सवमा नेपालको तर्फबाट चलचित्र ‘एलिफेन्ट्स इन द फग’ चयनसँगै प्रिमियर भएपछि यसको टिमलाई चलचित्र विकास बोर्ड र सञ्चार मन्त्री आफैँले बधाई ज्ञापन गरिसकेका छन् । यसैबिच ‘एलिफेन्ट्स इन द फग’ले कान्समा नेपालको तर्फबाट नयाँ इतिहास बनाएको भन्दै नेपाल सरकारको तर्फबाट यसै साता भित्र यो चलचित्रको टिमलाई स्वागत एवम् सम्मान गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले बताएका छन् ।
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गौरव बढाएका कारण यो चलचित्र र यसको टिमलाई चलचित्र विकास बोर्ड एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्मान गर्ने पनि सल्लाहकार शाहले जानकारी गराएका छन् ।
सम्बन्धित समाचार
‘चिरञ्जीवी भव’बाट जोडिए ‘काकु’ र ‘जिग्री’
कान्स फेस्टिभलमा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’
शव श्रद्धाञ्जलीलाई सम्मानित बनाउँदै सविन श्रेष्ठ
पर्दामा सफल अभिनेत्री सधैँ प्रेम र विवाहमा असफल
प्राविधिकको पारिश्रमिक नबुझाउने निर्मातालाई कालोसूचीमा राखिँदै
‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह
तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’






