चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा । चौरचन र हरितालिका तीज एकै दिन परेपछि मिथिला क्षेत्रमा पर्वको रौनक थपिएको छ । पर्व नजिकिएसँगै घरघरमा तयारी तीव्र बनेको छ भने बजारमा फलफूल, पूजा सामग्री, मिठाई तथा नयाँ कपडाको किनमेल बढेको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रबोध पण्डितलाई यतिबेला माटाका भाँडा बनाउन भ्याइनभ्याइ छ । बिहानदेखि चाकामा माटो घुमाउँदै भाँडा बनाइरहेका उहाँका छेउमा तयार भइसकेका भाँडाको थुप्रो लागिसकेको छ ।

“अरू बेला त फुर्सद नै हुन्छ । चौरचनलगायतका चाडपर्व आएपछि भने माटोले पनि बोलाउन थाल्छ”, पण्डितले भने, “जति बनाए पनि माग पूरा गर्न गाह्रो भइरहेको छ ।”

वर्षभरि माटाका भाँडा बनाएर जीविका चलाउन कठिन हुँदै गए पनि चौरचनजस्ता पर्वले कुम्हाले समुदायको परम्परागत पेसालाई केही दिनका लागि भए पनि चलायमान बनाउने गरेको छ । प्लास्टिक, स्टिललगायत आधुनिक सामग्रीको प्रयोग बढे पनि चौरचनमा आवश्यक पर्ने माटाका भाँडा अझै महत्वपूर्ण मानिन्छन् ।

पण्डितका अनुसार माटाका भाँडा घरघरमा पुग्ने भए पनि नयाँ पुस्ताको यस पेसाप्रति आकर्षण घट्दै गएको छ । आम्दानी कम हुने भएकाले युवाहरू अन्य पेसातर्फ लाग्ने गरेका छन् ।

यता, बजारमा भने चौरचन र तीजको तयारीले चहलपहल बढाएको छ । फलफूल, मिठाई, पूजा सामग्री, नयाँ कपडा तथा घरायसी सामग्री खरिद गर्ने ग्राहकको संख्या बढेको व्यापारीहरूले बताएका छन् ।

क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयाकी अनिता यादवका लागि यस वर्षको पर्वको तयारी विगतभन्दा व्यस्त बनेको छ । चौरचन र तीज एकै दिन परेकाले दुवै पर्वका लागि एकैपटक तयारी गर्नुपरेको उनको भनाइ छ ।

“तीजको व्रत बस्नुपर्ने, पूजा गर्नुपर्ने र चौरचनका लागि प्रसाद तथा सामग्री तयार गर्नुपर्ने भएकाले काम धेरै छ”, यादवले भनिन्, “तर पर्व भनेको दुःख होइन, परिवार र आफन्तसँग खुसी बाँड्ने अवसर हो ।”

हरितालिका तीजमा महिलाले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्ने परम्परा छ । पछिल्लो समय तीज धार्मिक अनुष्ठानसँगै महिला भेटघाट, गीत–संगीत र सामाजिक सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा पनि विकसित हुँदै गएको छ ।

मिथिला समाजमा भने चौरचन अर्थात् चौठचन्द्रको विशेष सांस्कृतिक महत्व छ । यस पर्वमा व्रत बसेका महिलाले साँझ चन्द्रमाको पूजा गरी विभिन्न फलफूल, परिकार तथा प्रसाद अर्पण गर्ने गर्छन् । परिवारको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै मनाइने यो पर्व पुस्तौँदेखि मिथिलाको सांस्कृतिक परम्पराका रूपमा कायम छ ।

चौरचनको प्रभाव घरपरिवारमा मात्र सीमित छैन । फलफूल व्यापारी, मिठाई पसले, पूजा सामग्री विक्रेता तथा कुम्हालेसमेत पर्वका कारण प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

महेन्द्रनगर धनुषाका व्यापारी दिनेश गुप्ताका अनुसार पर्व नजिकिएसँगै फलफूल र पूजाका सामग्रीको माग बढेको छ । “पर्वको दुई–तीन दिन बजारमा निकै चहलपहल हुन्छ । ग्राहकको भीड बढेपछि व्यापार पनि बढ्छ”, उनले भने ।

दुवै पर्व एकै दिन परेकाले मधेस प्रदेशको राजधानी जनकपुरधामसहित विभिन्न स्थानीय तहले भदौ २९ गते सोमबार अत्यावश्यक सेवाबाहेक कार्यालय तथा मातहतका निकायमा स्थानीय बिदा दिने निर्णय गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले धार्मिक तथा सांस्कृतिक महत्व बोकेका पर्वमा सर्वसाधारणलाई सहज रूपमा सहभागी हुने वातावरण बनाउन स्थानीय बिदा दिइएको बताए ।

यतिबेला धनुषाका गाउँघरमा चौरचनका लागि तयार पारिएका माटाका भाँडा घाममा सुकिरहेका छन् भने बजारमा फलफूल र पूजा सामग्रीको थुप्रो देखिन थालेको छ । घरका आँगनमा तीज र चौरचनका लागि आवश्यक सामग्री जुटाउने चटारो छ ।

आधुनिकताको तीव्र विस्तारबीच पनि चौरचन र तीजजस्ता पर्वले मिथिलाको परम्परा, सामाजिक सम्बन्ध र स्थानीय अर्थतन्त्रलाई जोडिरहेका छन् । चौरचनले कुम्हालेको चाका घुमाएको छ भने तीजले महिलाको सांस्कृतिक सम्बन्धलाई जोडेको छ । यी दुवै पर्वले बजारमा आर्थिक गतिविधिसमेत बढाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले ममाथि ज्यादती गर्‍योः दुर्गा प्रसाईं