पोखरा बसपार्कमा डोजर चल्ने तयारीबीच अदालतको आदेश

पोखरा । पोखरा महानरपालिकाले पोखरा बसपार्क अतिक्रमणका संरचनाहरु भत्काउने तयारी गरिरहेका बेला अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बिहीबार उच्च अदालत पोखराका न्यायाधीश तेजनारायण सिंह राईको इजलासले विपक्षीहरुको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

पोखरा निवासी युगेनदेवी श्रेष्ठ पालिखेले जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका समेतलाई प्रतिवादी बनाई उच्च अदालत पोखरामा उत्प्रेषण परमादेशसमेतको रिट निवेदन दायर गरेकी थिइन् । सो सम्बन्धमा अन्तरिम आदेशको छलफलका लागि विपक्षीहरुलाई उपस्थिति हुन अदालतले यही २६ जेठको पेसी तोकेको छ ।

त्यतिञ्जेलसम्म रिट निवेदक युगेनदेवीको नाममा दर्ता रहेको पोखरा ९ को कित्ता नम्बर ४६ को जग्गामा बनेको घर तथा अन्य भौतिक संरचनाहरु नहटाउनू, हटाउन नलगाउनू भनी उक्त आदेश दिइएको छ । विपक्षीहरुलाई समेत १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ ।

पोखरा महानगरपालिकाले यही २५ गतेदेखि संरचना हटाउनका लागि आन्तरिम तयारी गरिरहेको थियो । त्यसअघि, महानगरले सूचना जारी गरेको थियो ।

यसैबीच, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अदालतको प्रारम्भिक आदेशलाई अन्तिम फैसला भनेर भ्रममा नपर्न सामाजिक सञ्जालमार्फत प्रस्ट पारेका छन् । पोखरा महानगरले फिर्के खोलाघरका १ सय ६० वटा अस्थायी तथा स्थायी संरचना भने भत्काइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायीबीच चुनावी सरगर्मी सुरु