सहकारीका शेयर सदस्यलाई स्वास्थ्यमा छुट

भीरकोट(स्याङ्जा) । स्याङ्जाको एक सहकारीले आफ्ना शेयर सदस्यको उपचारमा छुट दिने व्यवस्था मिलाएको छ । भीरकोट नगरपालिका स्थित शुभलक्ष्मी बचततथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई १० देखि २० प्रतिशतसम्म स्वास्थ्य सेवामा छुट दिने व्यवस्था मिलाएको हो ।

शुभलक्ष्मी सहकारी र पोखरा स्थित गण्डकी मेडिकल कलेज बिच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै सहकारीका शेयर सदस्यहरुको विभिन्न स्वास्थ्य उपचारमा छुट पाउने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष भक्तबहादुर केसीले जानकारी दिए ।

सहकारीका शेयर सदस्यलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले गण्डकी मेडिकल कलेज पोखरामा आयोजित कार्यक्रममा दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको मेडिकल कलेजका सूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार सम्झौतापत्रमा गण्डकी मेडिकल कलेजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा प्राचार्य डा. रविन्द्र प्रसाद श्रेष्ठ र शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट अध्यक्ष केसीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सहकारीका सदस्यहरूले रजिष्ट्रेसन शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी बहिरङ्ग सेवा अन्तर्गत ल्याब, एक्स–रे, ईसीजी, युएसजी, सीटी स्क्यान तथा एमआरआई सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ । अन्तरङ्ग सेवा अन्तर्गत बेड चार्जमा १० प्रतिशत तथा दन्त सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको सहकारीका व्यवस्थापक लेखबहादुर केसी (किरण) ले जानकारी दिए । उनका अनुसार सहकारीका सदस्यहरूको स्वास्थ्य उपचारमा आर्थिक भार कम गर्न तथा सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो सम्झौता गरिएको प्रवन्धक केसीले बताए । यसबाट सहकारीका हजारौं सदस्य प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ ।

सम्झौताअनुसार सहुलियत प्राप्त गर्नका लागि सेवाग्राहीले सहकारी संस्थाबाट प्रमाणित परिचयपत्र (आईडी कार्ड) वा आवश्यक भेरिफिकेसन सहित गण्डकी मेडिकल कलेजमा उपस्थित हुनुपर्नेछ । प्रमाणित परिचयपत्र वा आवश्यक भेरिफिकेसन भएका सेवाग्राहीलाई मेडिकल कलेजले सम्झौता अनुसारको सहुलियत सहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ । स्थानीय तहमा सहकारी र स्वास्थ्य संस्थाबीचको यस्तो सहकार्यले सदस्यहरूको सामाजिक सुरक्षामा टेवा पुग्नुका साथै सहकारी प्रतिको आकर्षणसमेत बढ्ने अपेक्षा गरिएको छ ।

शुभलक्ष्मी सहकारीले प्रत्येक आर्थिक बर्ष शुरु हुनुपुर्व शेयर सदस्यमैत्री कार्यक्रम अगाडी सार्दै आएको छ । यसभन्दा अगाडी गाई पालनमा अनुदान, कृषि उत्पादनमा अनुदान दिने कार्यक्रम गरेको थियो । जसले गर्दा शेयर सदस्यको आयआर्जनमा महत्वपुर्ण भुमिका खेलेको बताइएको छ । जिल्लामै सामाजिक उत्तरदायित्वमा भुमिका खेल्ने यो पहिलो सहकारी हो ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ