डाबरको महमा पुनः कैफियत, कार्वाही माग

वीरगन्ज । ठूला करदाताका रुपमा चिनिने डाबर नेपालले उत्पादन गरेको खाद्यबस्तु ‘मह‘मा पुनः अखाद्यबस्तु फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नमूना संकलन गरी जनकपुर खाद्य प्रयोगशालामा परीक्षणका लागि पठाएको महमा कैफियत फेला परेको भनी जिल्ला प्रशासन कार्यालय बारामा कार्वाहीको माग समेत गरिएको खुलेको हो ।

गएको मंसिरमा पनि डाबर नेपालले १२.२४ मा उत्पादन गरेको महको व्याच नं. एनबी ००४२१ लटको, २५० ग्रामको शिलप्याक बट्टामा कमिला र किरा फेला परेको भेटिएको थियो । सो समयमा उपभोक्ताको हितमा काम गर्ने अधिकारकर्मीहरुले बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा खोजपड्ताल गर्न उजुरी दिए पनि उद्योगमा अनुगमन गर्न पुगेको नियामक निकायका व्यक्तिलाई डाबर नेपालले सो व्याचको नमूना नै उपलब्ध नगराई नष्ट गरेर रित्तो हात फर्काको तथ्य बाहिर आएको थियो ।

यो पटक पनि डाबर नेपालले उत्पादन गरेको व्याच नम्बर एनबी ००४७५, एमएफडी १२.२५ (बेष्ट विफोर १८ मन्थ) लेखिएको १ केजी महको बट्टामा पुनः अखाद्यबस्तु फेला परेको भेटिएको छ । बाराको लिपनीमालमा रहेको मल्टिनेशनल कम्पनी ‘डाबर नेपाल’ले उत्पादन गरेको सो व्याच नम्बर उल्लेख महमा अखाद्यबस्तु फेला परेको उपभोक्ता हित संरक्षण मञ्चका पाँच–पाँच जना जिम्मेवार व्यक्तिले परीक्षण र कावाही माग गर्दै गएको जेठ १२ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्सामा उजुरी दिएको आधारमा छानविन भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पनि पुष्टि गरेको छ । तर कार्वाही गर्ने निकायले विगतमा झैं खुट्टा कमाइरहेको उपभोक्ता हित संरक्षण मञ्च पर्साले दावी गरेको छ । मञ्चका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले पनि ठूला उद्योगहरुलाई कार्वाही गर्न नियामक निकायले हिच्किचाउने गरेको राजधानी दैनिकसँग बताए ।

औषधीयगुणका रुपमा खाने ‘मह’ जस्तो संवेदशील खाद्य बस्तुमा किरा तथा कमिला जस्तो अखाद्यबस्तु फेला परेपछि बाध्य भएर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा परीक्षणका लागि उजुरी दिन परेको मञ्चका पर्सा अध्यक्ष सुनिल कुमार श्रेष्ठले बताए । डाबर नेपाल जस्तो कम्पनीले यति हचुवा तालमा मह जस्तो खाद्य बस्तु बजारमा पठाउनु बिडम्बना भएको उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष रचेन्द्र सिंह थापाले पनि तर्क गरे ।

पहिले अखाद्य बस्तु फेला परेको ६ महिना कट्न नपाउँदै पुनः अर्को उत्पादित व्याचमा कैफियत फेला पर्नु राम्रो संकेत नभएको उपभोक्ता हित संरक्षण मञ्च पर्साका अधिकारकर्मीहरुको तर्क छ ।

थप अनुसन्धान हुँदैछ : जिप्रका, बारा

खाद्य गुणस्तरले २÷४ पानामा लेखेर डाबर नेपाललाई आवश्यक कार्वाही गर्न भनी पत्र त पठाएको छ । ठोस तथ्यका आधारमा कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय (जिप्रका) बाराले पनि अनुसन्धान प्रकृया अगाडी बढाएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । दोषी पाइए कोही पनि उम्कन नसक्ने उनको तर्क छ । खाद्य गुणस्तरले परीक्षण गरेको ठोस आधार सहित कैफियत उल्लेख गरेर पठाइदिएको भए जिल्ला प्रशासन कार्यालयलाई अनुसन्धान नगरी कार्वाही गर्न अझ सहज हुने जिल्ला प्रशासन कार्यालय बाराको दावी छ ।

‘कुनै पनि शिल प्याक प्याकेट वा बट्टा भित्र राखिएको खाद्य बस्तुमा आँखाले बाहिरबाटै हेर्दा देखिने गरी दुषित पदार्थ तथा अखाद्य बस्तु पाइएमा सो बस्तुको गुणस्तर जाँच गर्नै नपर्ने र उत्पादक या जिम्मेवार निकायलाई सिधै कार्वाही गर्न सकिने’ भनी गएका चारपाँच वर्ष पहिले खाद्य प्रविधि तथा गुणस्ण नियन्त्रण विभागले गरेको निर्णका आधारमा पनि डाबरलाई कार्वाही गर्न नसकिने भन्ने हुन्न । तर थप अनुसन्धान पनि भइरहेको नियामक कार्यालयले दावी गरेको छ ।

रियल जुस, हनी (मह), पाचकलगायत खाद्य बस्तु उत्पादन गर्दै आएको डाबर नेपाललाई खाद्य सुरक्षाका दृष्टिकोणले क्षम्य गर्न गाह्रो हुने उपभोक्ता हितमा काम गर्ने अधिकारकर्मीहरुको तर्क छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ लिपनीमालमा रहेको डाबर नेपालले उत्पादन गरेको खाद्य बस्तुमा कैफियत फेला परेको यो पहिलो पटक भने होइन । पटक–पटक दशी फेला पर्दा पनि ठूला कम्पनी कानूनी दायरामा कम परेको अधिकारकर्मीहरुको गुनासो छ ।

नेपाली भूमिमा उद्योग स्थापना गरी डाबर नेपालले अधिकाँश भारतीय श्रमिक राखी खाद्यवस्तु उत्पादनमा नेपाली उपभोक्तालाई ठगी गर्दै सामाजिक उत्तरदायित्व वहनमा पनि हेलचेक्र्याई गर्ने गरेको उपभोक्ता हितका लागि खट्ने अधिकारकर्मीहरुको आरोप छ । तर डाबर नेपालले भने यो आरोप सत्य नभएको दावी गरेको छ । आफूहरुले उत्पादन गर्ने कुनै खाद्य बस्तुमा कमजोरी छैन । ‘कम्प्लेन’ आउनसाथ त्यस्तो बस्तु बजारबाट ‘कलेक्सन’ गरी नष्ट वा प्रशोधन गरी उपभोक्ताको स्वास्थ्यमा बाधा नपार्ने गरेको डाबर नेपाल प्रशासनको दावी छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलको अक्सन मिति घोषणा