इलाम । इलामबाट झापा झर्ने छोटो दूरीको मेची कोरिडोरअन्तर्गतको भञ्ज्याङ–बेलासे सडक निर्माण व्यवसायीले काम नगरेपछि अलपत्र बनेको छ । पटक–पटक म्याद थप, लिखित तथा मौखिक ताकेता, स्पष्टीकरण गर्दासमेत निर्माण कम्पनीले काम नगरेपछि अलपत्र बनेको हो ।
२९ असार २०७८ मा २ वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भएको सो आयोजनाको जिम्मा खड्का कृष्ण–सक्षम जेबीले पाएको थियो ।
पटक–पटक म्याद थप गरेपनि काम नगरेपछि सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया बढाएको छ । सडक डिभिजन कार्यालयका अनुसार सम्झौता भएको पाँच वर्षमा आयोजनाको प्रगति ४६ प्रतिशत छ । पटक–पटक म्याद थप गरे पनि निर्माण कम्पनीले काम गर्न नसकेपछि ठेक्का तोड्नुपर्ने अवस्था आएको हो ।
निर्माण कम्पनीले बाढी, पहिरो, आन्दोलन, विद्युत् पोल स्थानान्तरण तथा कामदार अभावजस्ता कारण देखाउँदै आएको छ । तर सडक कार्यालयले ती स्पष्टीकरणलाई पर्याप्त आधारहीन ठहर गरेको छ । कार्यालयले पटक–पटक ताकेता गर्दा पनि काम अघि नबढेपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढेको हो ।
सडक डिभिजन इलामले निर्माण व्यवसायीको अग्रिम भुक्तानी जमानत रकम जफत गर्ने प्रक्रिया अगाडि बढाइसकेको र अब कानुनी प्रक्रियाअनुसार ठेक्का सम्झौता अन्त्य गर्ने तयारी गरेको कार्यालयले जनाएको छ ।
निर्माण व्यवसायीका प्रमुख व्यक्ति इलामकै डम्बर खड्का हुन् । इलामको गौरवको आयोजनामा पर्ने मेची कोरिडोर सडकको समयमा काम नगर्नु र इलामको महत्वपूर्ण सडक अलपत्र पार्नमा निर्माण व्यवसायी गैरजिम्मेवारी बनेको छ । इलामका समाजसेवी भन्ने खड्का नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा कांग्रेसबाट दुई पटक उम्मेदवारसमेत बनेका थिए । ठेक्का पारेर समयमै काम सम्पन्न गर्न नसकेको भन्दै स्थानीयले आलोचना गरिरहेको छन् । सडक निर्माण अलपत्र पर्दा सबैभन्दा बढी मार इलामले खेप्नुपरेको छ । पानी परिसक्दा राजदुवालीको पहिरोले मेची राजमार्ग अवरुद्ध बन्ने गर्छ । तर भञ्ज्याङ–बेलासे सडक समयमा सम्पन्न भएको भए मेची राजमार्ग अवरुद्ध बन्दा पनि इलाम यातायात सञ्चालन समस्या हुने थिएन ।
दुई वर्षमा सक्ने जिम्मा लिएर पाँच वर्षमा पनि आधा काम पनि नगरेपछि भन्ज्याङदेखि पुवा खोला खण्डसम्म हिउँदमा उड्ने धुलो र बर्खाको हिलोले समस्या छ । वर्षा याममा पहिरोका कारण सडक अवरुद्ध हुँदा आवतजावतसमेत जोखिमपूर्ण बनेको छ । स्थानीयहरूले वर्षौंदेखि धुलो नियन्त्रण र निर्माण कार्य सम्पन्न गर्न माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन ।
स्थानीयवासीले सार्वजनिक रूपमा समाजसेवा र विकासका कुरा गर्ने व्यक्तिले नै ठेक्का लिएर वर्षौंदेखि काम अलपत्र पारेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । राजनीतिक पहुँच र प्रभावका आधारमा बारम्बार म्याद थप गरिए पनि अपेक्षित काम नभएको आरोपसमेत लागिरहेको छ ।
ठेक्का तोड्न मन्त्रीको निर्देशन
इलाम भ्रमणमा आएका संघीय सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भञ्ज्याङ–बेलासे खण्डको ठेक्का तोड्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएपछि प्रक्रिया अघि बढेको हो । साढे ९ किलोमिटरको सो ठेक्काको काम सुस्त भएपछि ठेक्का तोड्न मन्त्रीबाट निर्देशन भइसकेको डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिए ।
झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्म जोड्ने मेची कोरिडोरअन्तर्गतको यो सडक निर्माणमा चरम आलटाल भइरहेको थियो । समयमा सडक निर्माण नहुँदा सास्ती बेहोरिरहेका स्थानीय आक्रोशित बन्न थालेका थिए ।
खड्का–कृष्ण–सक्षम जेबीले २९ असार २०७८ मा २ वर्षमा काम सक्ने गरी २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का लिएको थियो । तर, ५ वर्ष बित्दा आधा काम पनि गर्न नसकेको हो । कालोपत्रेसम्मको काम सक्ने गरी ठेक्का लागेकामा ५ वर्ष बित्न लाग्दा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको डिभिजनले जनाएको छ । ‘सडक चौडा बनाउने, नाली, टेवा पर्खाल, ह्युम पाइप, कल्भर्ट, सब बेस, बेस र कालोपत्रे गर्ने काम ठेक्कामा रहे पनि एक फिट पनि कालोपत्रेको काम भएकै छैन । न त बेस नै बनेको छ,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘अहिलेसम्म ५–६ किलोमिटर सब बेससम्म बनाइएको छ, त्यो पनि कामको ढिलाइले पानीले बगाएर क्षतविक्षत बनाउँदै छ ।’
‘निर्माण व्यवसायीलाई डिभिजनले १२–१३ पटक स्पष्टीकरण सोध्यो, मन्त्रीको सचिवालयले समेत बोलाएर स्पष्टिकरण लिँदा काम सक्ने प्रतिबद्धता आएको थियो,’ उनले भने, ‘तर, काम सकिने लक्षण देखिएन । अहिले पनि दिनहुँ ४ जनाले नाली बनाउनेबाहेक अरू काम भएको देखिँदैन ।’
रकम फ्रिज
आर्थिक वर्ष २०८०–०८१ मा ठेकेदारको लापरबाहीकै कारण ५ करोड रुपैयाँ हाराहारी रकम फ्रिजसमेत भएको थियो । अघिल्लो वर्ष पनि निर्माणमा ढिलासुस्तीकै कारण यो सडकको १४ करोड हाराहारी बजेट फ्रिज भएको थियो । साढे ९ किलोमिटरको यो खण्डको २९ असार २०७८ मा लागेको ठेक्काको म्याद २९ पुस २०८० सम्म थियो । तर, काम नसकिएपछि १८ असार २०८२ मा सक्ने गरी म्याद थपिएको थियो । त्यसपछि २०८२ फागुनमा पुनः २०८३ असोजमा काम सक्ने गरी म्याद थप गरिएको थियो ।
खड्का–कृष्ण–सक्षम जेबीले भने समयमा मेसिन नआउँदा काममा ढिलाइ भएको जवाफ दिने गरेको छ । कम्पनीका प्रतिनिधि श्याम श्रेष्ठले पहिला आफूहरूलाई चाहिने मेसिन भारतबाट डेढ महिना ढिलो आएका कारण कालोपत्रे गर्न समय नपुगेको जवाफ दिएका थिए ।
सम्बन्धित समाचार
पौवादुङमाका ३४० किसानलाई ‘मिनिटिलर’ वितरण
कोशीको बजेट ४० अर्ब ४४ करोड
शल्यक्रिया गरिएको सुत्केरीको पेटभित्र कपडाको टुक्रा
पुँजीपति बर्गलाई फाइदा हुने बजेट
बिकराल बन्दै महानगरपालिकाका अनियमितता र बेरुजु
बागमतीको बजेट ६६ अर्ब ९३ करोड
एनसेलले क्रिप्टो र हुन्डीमार्फत पैसा विदेश लगेको खुलासा
एकैदिन सुनको मूल्य तोलामा दश हजार ५०० रुपैयाँ घट्यो







