काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो ११ महिनामै २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँको कारोवार हुँदा वैदेशिक व्यापारमा इतिहास कायम भएको छ ।
२१ खर्बको वैदेशिक व्यापारमा १६ खर्बको घाटा
वैदेशिक व्यापारमा इतिहास कायम गर्दा व्यापार घाटामा पनि रेकर्ड बनेको छ । यसअघि आर्थिक वर्ष २०७८–७९ मा २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँको व्यापार भएकोमा यसपालि त्योभन्दा वढी कारोवार भइ इतिहास रचेको हो ।
व्यापारको आकार बढेसँगै व्यापार घाटा पनि डरलाग्दो रूपमा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ थियो । अहिले यो बढेर १६ खर्ब नाघेको हो ।
११ महिनाको अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा केवल २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु मात्र निर्यात गर्न सकेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा कुल वैदेशिक व्यापार १४ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ । आयात १५ दशमलव १६ प्रतिशतले बढेको छ भने निर्यात १२ दशमलव २८ प्रतिशतले बढेको छ ।
निर्यातमा सुधार देखिए पनि आयातको वृद्धिदर अझै उच्च रहेकाले व्यापार घाटा १५ दशमलव ६७ प्रतिशतले बढेको हो ।
भन्सार विभागका अनुसार कुल व्यापारमा आयातको हिस्सा ८७ दशमलव २० प्रतिशत छ भने निर्यातको हिस्सा केवल १२ दशमलव ८० प्रतिशतमा सीमित छ । अघिल्लो वर्ष निर्यातको हिस्सा १३ दशमलव ०८ प्रतिशत थियो ।
आयात निर्यात अनुपात ६ दशमलव ८१ पुगेको तथ्यांक रहेको छ । यसले नेपालले एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ८१ पैसा बराबरको वस्तु विदेशबाट किनिरहेको देखाउँछ ।
चालु आर्थिक वर्षमा निर्यात वृद्धिमा सबैभन्दा ठूलो योगदान प्रशोधित सोयाबिन तेलले दिएको छ । नेपालले ११ महिनामा १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात गरेको छ ।
तर यो निर्यातको सफलता पनि वास्तविक उत्पादनमा आधारित छैन । नेपालले तेस्रो मुलुकबाट कच्चा सोयाबिन तेल आयात गरेर प्रशोधनपछि मुख्यतः भारतमा पुनः निर्यात गरिरहेको छ ।
सोही अवधिमा नेपालले तेस्रो मुलुकबाट १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात गरेको छ ।
यस तथ्यांकलाई विश्लेषण गर्दा सोयाबिन तेल निर्यातबाट प्राप्त हुने रकम १ खर्ब १३ अर्ब रुपैयाँ भन्दा यसको कच्चा पदार्थ आयातमा खर्च हुने रकम १ खर्ब १९ अर्ब रुपैयाँ बढी देखिन्छ । समग्रमा, वनस्पति तेल तथा घिउ उद्योगका लागि आवश्यक सबै प्रकारका कच्चा पदार्थ आयातमा १ खर्ब ६२ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको छ भने तयारी तेलको निर्यात १ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ मात्र रहेको छ ।
यसरी धेरै रकम कच्चा पदार्थ आयातमा खर्चिनुपर्ने भएकाले घ्यू तेलको व्यापारमा मात्रै नेपाल झन्डै ३१ अर्ब २२ करोड रुपैयाँ खुद व्यापार घाटामा रहेको छ । नेपालले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी स्वदेशमा प्रशोधन गरेर मुख्यतया भारततर्फ निर्यात गर्ने गरेको छ ।यसैंगरी अलैंची निर्यात १२ अर्ब रुपैयाँ नाघेको छ । नेपाली कार्पेट ९ अर्ब ३८ करोड रुपैयाँ बराबर निर्यात भएको तथ्यांक पनि रहेको छ । सूर्यमुखी तेल ७ अर्ब ९९ करोड र पाम आयल ६ अर्ब १४ करोड रुपैयाँ बराबर निर्यात भएको छ ।
पेट्रोलियम आयातमै ३ खर्ब ४३ अर्ब रुपैयाँ खर्च
नेपालको आयात संरचनामा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको छ ।
११ महिनामा पेट्रोलियम पदार्थ आयातमा मात्रै ३ खर्ब ४३ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ । डिजेलमा मात्र १ खर्ब ५२ अर्ब रुपैयाँ विदेशिएको छ । पेट्रोल आयातमा ६८ अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ भने एलपी ग्यास आयातमा ५२ अर्ब २१ करोड रुपैयाँ खर्च भएको छ ।
सरकारले विद्युतीय सवारीसाधन प्रवर्धन, विद्युत् खपत विस्तार तथा इन्धन आयात घटाउने नीति लिँदै आए पनि वास्तविकतामा पेट्रोलियममाथिको निर्भरता अझै घट्न सकेको छैन ।
चामल उत्पादन गर्ने देशमै ३८ अर्बको धानचामल आयात
कृषिप्रधान देश भनिने नेपालमा धानचामल आयातको अवस्था झन् विडम्बनापूर्ण देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको छ ।
यो अवधिमा ७ लाख ११ हजार ५ सय २० टन धानचामल विदेशबाट भित्रिएको छ । कच्चा धान आयात केही घटेको देखिए पनि तयारी चामलको आयात भने बढेको छ ।
बासमती चामल आयात ७ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अन्य चामल आयात ११ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
कृषि उत्पादन लागत वृद्धि, खेतीयोग्य जमिन घट्दै जानु, श्रम अभाव तथा बजार व्यवस्थापन कमजोर हुँदा नेपाल खाद्यान्नमा समेत आत्मनिर्भर हुन नसकेको अवस्था छ ।
स्मार्टफोनमै ४३ अर्ब रुपैयाँ बाहिरियो
११ महिनामा नेपालले ४३ अर्ब ४५ करोड रुपैयाँ बराबरका २० लाख ४१ हजारभन्दा बढी स्मार्टफोन आयात गरेको छ । गत वर्षको तुलनामा मूल्यका आधारमा स्मार्टफोन आयात करिब ३५ प्रतिशतले बढेको छ ।
चीनबाट मात्र ३२ अर्ब ८४ करोड रुपैयाँ बराबरका स्मार्टफोन नेपाल भित्रिएका छन् । स्मार्टफोन आयातबाट सरकारले ८ अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
सवारीसाधन, सुन र विलासी वस्तुको आयात बढ्दो
आयात सूचीमा सवारीसाधन तथा पार्टपुर्जाको हिस्सा पनि अत्यन्त ठूलो छ । ११ महिनामा सवारीसाधन र पार्टपुर्जामा १ खर्ब १२ अर्ब रुपैयाँ विदेशिएको छ । त्यसैगरी सुन, बहुमूल्य धातु तथा गहनामा ६२ अर्ब ७८ करोड रुपैयाँ खर्च भएको छ ।
विद्युतीय उपकरणमा १ खर्ब २५ अर्ब रुपैयाँ, फलाम तथा स्टिलमा १ खर्ब ३१ अर्ब रुपैयाँ तथा मेसिनरी उपकरणमा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।
भारत र चीनसँगको असन्तुलित व्यापार
नेपालको सबैभन्दा ठूलो व्यापार साझेदारको रुपमा रहेको भारतसँग मात्रै ८ खर्ब ६३ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ ।
११ महिनामा भारतबाट १० खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने नेपालले भारततर्फ २ खर्ब २८ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ ।
चीनबाट ३ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात केवल १ अर्ब ५८ करोड रुपैयाँमा सीमित छ ।
१५७ देशसँग व्यापार, १२३ देशसँग घाटा
नेपालले ११ महिनामा विश्वका १५७ देशसँग व्यापार गरेको छ । तर तीमध्ये केवल ३४ देशसँग मात्रै व्यापार नाफामा छ भने १२३ देशसँग घाटा छ । डेनमार्कसँग सबैभन्दा धेरै ७२ करोड रुपैयाँ बराबर व्यापार नाफा भएको छ । अमेरिकन सामोआ, इराक, आइसल्यान्ड, नर्वे, सेसेल्स, माल्दिभ्स, कोलम्बिया लगायत केही देशसँग नेपालले नाफा कमाएको छ ।
तर ती देशहरूसँगको व्यापारिक आकार सानो भएकाले समग्र व्यापार घाटामा उल्लेखनीय प्रभाव पार्न सकेको छैन ।
किन बढ्दै छ व्यापार घाटा ?
नेपालको व्यापार घाटा बढ्नुका पछाडि संरचनागत कारणहरू छन् । स्वदेशी उत्पादन कमजोर हुुँदा कृषि, उद्योग तथा उत्पादनमूलक क्षेत्रले घरेलु माग धान्न सकेका छैनन् । यसले गर्दा व्यापार घाटा भएको बताइन्छ । यसैंगरी औद्योगिकीकरणको गति सुस्त छ । उत्पादन लागत उच्च हुँदा नेपाली वस्तु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सकेका छैनन् ।
आयात प्रतिस्थापन नीति प्रभावकारी बन्न सकेको छैन । खाद्यान्नदेखि इलेक्ट्रोनिक्ससम्म नेपाल आयातमा निर्भर छ । यस कारणले पनि व्यापार घाटा वढेको बुझाइ विज्ञहरुको छ ।
सम्बन्धित समाचार
दिगो विकास लक्ष्यमा नेपालको गति सुस्त, चुनौती बन्दै २०३० सम्मका लक्ष्य
बजेट विवादले आलोचनामा चर्चित अर्थमन्त्री
बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
राष्ट्र बैङ्कको अध्ययनः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
प्रदेश बजेट: संघीयता कार्यान्वयन र आर्थिक समृद्धिको मार्गचित्र
एनसेलले क्रिप्टो र हुन्डीमार्फत पैसा विदेश लगेको खुलासा







