चामलदेखि स्मार्टफोनसम्म विदेशकै निर्भरता

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो ११ महिनामै २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँको कारोवार हुँदा वैदेशिक व्यापारमा इतिहास कायम भएको छ ।

२१ खर्बको वैदेशिक व्यापारमा १६ खर्बको घाटा

वैदेशिक व्यापारमा इतिहास कायम गर्दा व्यापार घाटामा पनि रेकर्ड बनेको छ । यसअघि आर्थिक वर्ष २०७८–७९ मा २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँको व्यापार भएकोमा यसपालि त्योभन्दा वढी कारोवार भइ इतिहास रचेको हो ।

व्यापारको आकार बढेसँगै व्यापार घाटा पनि डरलाग्दो रूपमा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ थियो । अहिले यो बढेर १६ खर्ब नाघेको हो ।

११ महिनाको अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा केवल २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु मात्र निर्यात गर्न सकेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा कुल वैदेशिक व्यापार १४ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ । आयात १५ दशमलव १६ प्रतिशतले बढेको छ भने निर्यात १२ दशमलव २८ प्रतिशतले बढेको छ ।

निर्यातमा सुधार देखिए पनि आयातको वृद्धिदर अझै उच्च रहेकाले व्यापार घाटा १५ दशमलव ६७ प्रतिशतले बढेको हो ।

भन्सार विभागका अनुसार कुल व्यापारमा आयातको हिस्सा ८७ दशमलव २० प्रतिशत छ भने निर्यातको हिस्सा केवल १२ दशमलव ८० प्रतिशतमा सीमित छ । अघिल्लो वर्ष निर्यातको हिस्सा १३ दशमलव ०८ प्रतिशत थियो ।

आयात निर्यात अनुपात ६ दशमलव ८१ पुगेको तथ्यांक रहेको छ । यसले नेपालले एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ८१ पैसा बराबरको वस्तु विदेशबाट किनिरहेको देखाउँछ ।

चालु आर्थिक वर्षमा निर्यात वृद्धिमा सबैभन्दा ठूलो योगदान प्रशोधित सोयाबिन तेलले दिएको छ । नेपालले ११ महिनामा १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात गरेको छ ।

तर यो निर्यातको सफलता पनि वास्तविक उत्पादनमा आधारित छैन । नेपालले तेस्रो मुलुकबाट कच्चा सोयाबिन तेल आयात गरेर प्रशोधनपछि मुख्यतः भारतमा पुनः निर्यात गरिरहेको छ ।

सोही अवधिमा नेपालले तेस्रो मुलुकबाट १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात गरेको छ ।

यस तथ्यांकलाई विश्लेषण गर्दा सोयाबिन तेल निर्यातबाट प्राप्त हुने रकम १ खर्ब १३ अर्ब रुपैयाँ भन्दा यसको कच्चा पदार्थ आयातमा खर्च हुने रकम १ खर्ब १९ अर्ब रुपैयाँ बढी देखिन्छ । समग्रमा, वनस्पति तेल तथा घिउ उद्योगका लागि आवश्यक सबै प्रकारका कच्चा पदार्थ आयातमा १ खर्ब ६२ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको छ भने तयारी तेलको निर्यात १ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ मात्र रहेको छ ।

यसरी धेरै रकम कच्चा पदार्थ आयातमा खर्चिनुपर्ने भएकाले घ्यू तेलको व्यापारमा मात्रै नेपाल झन्डै ३१ अर्ब २२ करोड रुपैयाँ खुद व्यापार घाटामा रहेको छ । नेपालले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी स्वदेशमा प्रशोधन गरेर मुख्यतया भारततर्फ निर्यात गर्ने गरेको छ ।यसैंगरी अलैंची निर्यात १२ अर्ब रुपैयाँ नाघेको छ । नेपाली कार्पेट ९ अर्ब ३८ करोड रुपैयाँ बराबर निर्यात भएको तथ्यांक पनि रहेको छ । सूर्यमुखी तेल ७ अर्ब ९९ करोड र पाम आयल ६ अर्ब १४ करोड रुपैयाँ बराबर निर्यात भएको छ ।

पेट्रोलियम आयातमै ३ खर्ब ४३ अर्ब रुपैयाँ खर्च
नेपालको आयात संरचनामा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको छ ।

११ महिनामा पेट्रोलियम पदार्थ आयातमा मात्रै ३ खर्ब ४३ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ । डिजेलमा मात्र १ खर्ब ५२ अर्ब रुपैयाँ विदेशिएको छ । पेट्रोल आयातमा ६८ अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ भने एलपी ग्यास आयातमा ५२ अर्ब २१ करोड रुपैयाँ खर्च भएको छ ।

सरकारले विद्युतीय सवारीसाधन प्रवर्धन, विद्युत् खपत विस्तार तथा इन्धन आयात घटाउने नीति लिँदै आए पनि वास्तविकतामा पेट्रोलियममाथिको निर्भरता अझै घट्न सकेको छैन ।

चामल उत्पादन गर्ने देशमै ३८ अर्बको धानचामल आयात
कृषिप्रधान देश भनिने नेपालमा धानचामल आयातको अवस्था झन् विडम्बनापूर्ण देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको छ ।

यो अवधिमा ७ लाख ११ हजार ५ सय २० टन धानचामल विदेशबाट भित्रिएको छ । कच्चा धान आयात केही घटेको देखिए पनि तयारी चामलको आयात भने बढेको छ ।

बासमती चामल आयात ७ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अन्य चामल आयात ११ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

कृषि उत्पादन लागत वृद्धि, खेतीयोग्य जमिन घट्दै जानु, श्रम अभाव तथा बजार व्यवस्थापन कमजोर हुँदा नेपाल खाद्यान्नमा समेत आत्मनिर्भर हुन नसकेको अवस्था छ ।

स्मार्टफोनमै ४३ अर्ब रुपैयाँ बाहिरियो
११ महिनामा नेपालले ४३ अर्ब ४५ करोड रुपैयाँ बराबरका २० लाख ४१ हजारभन्दा बढी स्मार्टफोन आयात गरेको छ । गत वर्षको तुलनामा मूल्यका आधारमा स्मार्टफोन आयात करिब ३५ प्रतिशतले बढेको छ ।

चीनबाट मात्र ३२ अर्ब ८४ करोड रुपैयाँ बराबरका स्मार्टफोन नेपाल भित्रिएका छन् । स्मार्टफोन आयातबाट सरकारले ८ अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

सवारीसाधन, सुन र विलासी वस्तुको आयात बढ्दो
आयात सूचीमा सवारीसाधन तथा पार्टपुर्जाको हिस्सा पनि अत्यन्त ठूलो छ । ११ महिनामा सवारीसाधन र पार्टपुर्जामा १ खर्ब १२ अर्ब रुपैयाँ विदेशिएको छ । त्यसैगरी सुन, बहुमूल्य धातु तथा गहनामा ६२ अर्ब ७८ करोड रुपैयाँ खर्च भएको छ ।

विद्युतीय उपकरणमा १ खर्ब २५ अर्ब रुपैयाँ, फलाम तथा स्टिलमा १ खर्ब ३१ अर्ब रुपैयाँ तथा मेसिनरी उपकरणमा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

भारत र चीनसँगको असन्तुलित व्यापार
नेपालको सबैभन्दा ठूलो व्यापार साझेदारको रुपमा रहेको भारतसँग मात्रै ८ खर्ब ६३ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ ।

११ महिनामा भारतबाट १० खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने नेपालले भारततर्फ २ खर्ब २८ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ ।

चीनबाट ३ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात केवल १ अर्ब ५८ करोड रुपैयाँमा सीमित छ ।

१५७ देशसँग व्यापार, १२३ देशसँग घाटा
नेपालले ११ महिनामा विश्वका १५७ देशसँग व्यापार गरेको छ । तर तीमध्ये केवल ३४ देशसँग मात्रै व्यापार नाफामा छ भने १२३ देशसँग घाटा छ । डेनमार्कसँग सबैभन्दा धेरै ७२ करोड रुपैयाँ बराबर व्यापार नाफा भएको छ । अमेरिकन सामोआ, इराक, आइसल्यान्ड, नर्वे, सेसेल्स, माल्दिभ्स, कोलम्बिया लगायत केही देशसँग नेपालले नाफा कमाएको छ ।

तर ती देशहरूसँगको व्यापारिक आकार सानो भएकाले समग्र व्यापार घाटामा उल्लेखनीय प्रभाव पार्न सकेको छैन ।

किन बढ्दै छ व्यापार घाटा ?
नेपालको व्यापार घाटा बढ्नुका पछाडि संरचनागत कारणहरू छन् । स्वदेशी उत्पादन कमजोर हुुँदा कृषि, उद्योग तथा उत्पादनमूलक क्षेत्रले घरेलु माग धान्न सकेका छैनन् । यसले गर्दा व्यापार घाटा भएको बताइन्छ । यसैंगरी औद्योगिकीकरणको गति सुस्त छ । उत्पादन लागत उच्च हुँदा नेपाली वस्तु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सकेका छैनन् ।

आयात प्रतिस्थापन नीति प्रभावकारी बन्न सकेको छैन । खाद्यान्नदेखि इलेक्ट्रोनिक्ससम्म नेपाल आयातमा निर्भर छ । यस कारणले पनि व्यापार घाटा वढेको बुझाइ विज्ञहरुको छ ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?