गर्मीले वीरगन्ज महानगरका २७२ शैक्षिक संस्था बन्द

वीरगन्ज । मध्य तराईमा अत्यधिक गर्मी बढेसँगै वीरगन्ज महानगरपालिकाभित्रका २७२ वटा शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द हुँदा वीरगन्ज महानगरपालिकाभित्र मात्र अध्ययनरत १ लाख १० हजार बालबालिकाको पढाई प्रभावित भएको छ ।

केही दिनदेखि मध्य तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय जाने उमेर समूहका बालबालिकालाई बचाउन वीरगन्ज महानगरपालिकाले ११ र १२ असारमा बिदा दिने निर्णय गरेको छ । संघ सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि सातामा पाँच दिनमात्र पढ्दै आएका विद्यार्थीको पठनपाठनमा मधेशको गर्मीले समेत सकस थपिदिएको छ ।

वीरगन्ज महानगरले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिँदा यहाँका निजी तथा सामुदायिक शैक्षिक संस्थाको पठ पाठन आगामी सोमबार मात्र सञ्चालनमा आउने भएको छ । महानगरले दिएको दुई दिनको बिदा बर्से बिदामा कट्टा हुने गरी दिएको वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले बताए ।

वीरगन्ज महानगरपालिकाले बिहीबार र शुक्रबार गर्मी बिदा दिँदा यहाँका ९० वटा सामुदायिक र १८२ वटा संस्थागत गरी २७२ वटा विद्यालय बन्द भएको महानगरपालिकाले जनाएको छ । ती शैक्षिक संस्थामा कुल १ लाख १० हजार विद्यार्थी पठनपाठनरत रहेको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख लामिछानेले बताए । मौसमी प्रतिकुलताले महानगरभित्रका सबै सामुदायिक र संस्थागत तथा मन्टेश्वरी समेत बन्द गर्नु परेको उनको भनाइ छ । मौसमी प्रतिकुलताले यहाँ अध्ययनरत सबै विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ ।

अत्यधिक गर्मीको चपेटाबाट विद्यार्थीको जीवन रक्षा गर्नु स्थानीय सरकारको पनि कर्तव्य भएकाले यो कदम चाल्न बाध्य भएको शैक्षिक प्रशासन महाशाखा प्रमुख लामिछानेले बताए । वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र पर्साका निजी विद्यालयहरूको छाता संगठन प्याब्सन, एन प्याब्सन, नगर तथा जिल्ला कार्य समिति पर्सालाई महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख लामिछानेले जारी गरेको पत्रको बोधार्थ दिइएको छ । बोधार्थमा सरोकारवाला सबै पक्षले महानगरको निर्णय कार्यान्वयन गराउन भनिएको छ ।

आइतबारपछि विद्यालय खोल्ने या अझ बन्द गर्ने भन्ने कुरा मौसमको प्रतिकुलता हेरी नयाँ निर्णय गर्न सकिने पनि वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

१२ असार २०८३