मानसिक स्वास्थ्यको कथावस्तु समेटिएको ‘डोपामिन : खुसी र प्रेरणा’ सार्वजनिक

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको कथा सङ्ग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार काठमाडौंमा सार्वजनिक गरिएको छ। १८ कथा समेटिएको उक्त सङ्ग्रहले मानसिक स्वास्थ्य, मानवीय संवेदना, सामाजिक विभेद, प्रेम, न्याय, स्वास्थ्य सेवा र जीवनसंघर्षलाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गरेको लेखकले बताएका छन् ।

कामना न्यूज पब्लिकेसन्स् परिसरमा आयोजित कार्यक्रममा समालोचक प्राडा दयाराम श्रेष्ठ, वरिष्ठ पत्रकार तथा कथाकार श्रीराम सिंह बस्नेत, नेपाल प्रेस इन्स्टिच्युटका पूर्वअध्यक्ष कपिल काफ्ले, कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष दिरेकलाल श्रेष्ठ र नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले पुस्तकमाथि धारणा राखेका थिए।

पुस्तकको समीक्षा गर्दै प्राडा श्रेष्ठले ‘डोपामिन’लाई नेपाली कथा साहित्यमा मनोविज्ञान र आख्यानको प्रभावकारी संयोजन भएको कृति भएको बताए । उनले कथाहरूमा मानसिक द्वन्द्व, हीनताबोध, आत्महत्याको मनोविज्ञान, कुण्ठा, पलायनवादी सोच र यौन शोषणजस्ता विषयलाई कलात्मक रूपमा प्रस्तुत गरिएको उल्लेख गरे ।

वरिष्ठ पत्रकार तथा कथाकार बस्नेतले पुस्तक यथार्थपरक रहेको बताउँदै यसलाई पठनीय र मननीय कृति भएको प्रतिक्रिया दिएका छन् ।

नेपाल प्रेस इन्स्टिच्युटका पूर्वअध्यक्ष काफ्लेले लेखक अधिकारीको यसअघि प्रकाशित ‘मर्फिन’ले पीडाको एउटा पक्षलाई उजागर गरेको स्मरण गर्दै ‘डोपामिन’ले पीडाभित्र लुकेको आशा, प्रेरणा र मानव मस्तिष्कका रासायनिक प्रक्रियालाई कथामार्फत बुझाउने प्रयास गरेको बताए ।

लेखक अधिकारीले सङ्ग्रहका कथाहरू शरीरका रोगभन्दा गहिरा मानसिक पीडा बोकेका पात्रहरूको जीवनमा आधारित रहेको बताए । स्वास्थ्य र मनोविज्ञानसँग सम्बन्धित विषयलाई साहित्यिक कथावस्तुसँग जोड्दै वैज्ञानिक आधारमा प्रस्तुत गर्ने प्रयास गरिएको उनको भनाइ थियो। साहित्यले पनि मानिसमा सकारात्मक ऊर्जा र प्रेरणा जगाउने विश्वासका आधारमा पुस्तकको नाम ‘डोपामिन’ राखिएको उनले जानकारी दिए ।

कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष दिरेकलाल श्रेष्ठले ‘डोपामिन’ समकालीन नेपाली कथा साहित्यको महत्वपूर्ण कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । उनले लेखक अधिकारीको स्वास्थ्य पत्रकारिता र साहित्यिक योगदानको समेत प्रशंसा गरे ।

नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले पुस्तकले मानसिक स्वास्थ्यसम्बन्धी समकालीन बहसलाई साहित्यमार्फत् थप सशक्त बनाउने विश्वास व्यक्त गरिन् ।

सङ्ग्रहमा ‘रेफर नहुँदा’, ‘पश्चात्तापको आगो’, ‘एक आरोपको मूल्य’, ‘चँगेरीको माया’, ‘उसको ठाउँमा बसेर’, ‘सपना साँचेको जून’ र ‘न सुसाइड न हनिमुन’ लगायतका कथा समावेश छन्। ती कथाले मानसिक स्वास्थ्य, मानवीय सम्बन्ध, प्रेम, अन्याय, करुणा र सामाजिक यथार्थलाई केन्द्रमा राखेका छन् । लेखक अधिकारी स्वास्थ्य पत्रकारितामा दुई दशकभन्दा बढी समयदेखि सक्रिय छन् । ‘डोपामिन : खुसी र प्रेरणा’ उहाँको नवीनतम कथा सङ्ग्रह हो।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा