क्रिकेटर तिलकराज भण्डारी र आदिल खान युनिगाइडको ब्रान्ड एम्बेस्डर

रुपन्देही । शैक्षिक परामर्शदाता संस्था युनिगाइडले युवा क्रिकेटर तिलकराज भण्डारी र आदिल खानलाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ।

शनिबार बुटवलमा आयोजित युनिगाइडको शाखा उद्घाटन तथा ब्रान्ड एम्बेस्डर घोषणा कार्यक्रममा युनिगाइडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश दाहाल, प्रबन्ध निर्देशक ऋषि खनाल तथा क्रिकेटरद्वय भण्डारी र खानबीच एक वर्षका लागि ब्रान्ड एम्बेस्डरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। युनिगाइडले दुवै पक्षको सहमतिमा सम्झौता अवधि थप गर्न सकिने जनाएको छ।

सम्झौतापछि क्रिकेटरद्वय भण्डारी र खानले युनिगाइडसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रको यस्तो सहयोगले खेलाडीलाई थप उत्साहित बनाएको बताए।

उनीहरूले भने, “हाम्रो प्राथमिकता नेपाली क्रिकेटलाई अझ सशक्त बनाउने र आफ्नो खेलस्तर उकास्ने हो। निजी क्षेत्रको साथ र सहयोग पाउँदा हामी उत्साहित भएका छौँ। आगामी दिनमा युनिगाइडसँग सहकार्य गर्दै अघि बढ्नेछौँ।”

युनिगाइडका अनुसार बेलायतबाट स्थापना भएको संस्थाले पछिल्लो समय क्रिकेटप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने उद्देश्यले खेलाडीसँग सहकार्य गरेको हो।

सीईओ दाहालले संस्थाले विगत दुई वर्षदेखि निरन्तर शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको र विद्यार्थीलाई गुणस्तरीय काउन्सिलिङका कारण भिसा अस्वीकृत हुने दर निकै न्यून रहेको बताए। उनका अनुसार युनिगाइडले पछिल्लो एक वर्षदेखि क्यानडा, अमेरिका र अस्ट्रेलियाका लागि शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।

प्रबन्ध निर्देशक खनालले विद्यार्थीलाई सही काउन्सिलिङ र उपयुक्त शैक्षिक कार्यक्रम छनोटमा सहजीकरण गर्दै आएको उल्लेख गर्दै आगामी पाँच वर्षभित्र बुटवलका युवालाई गुणस्तरीय शिक्षा हासिल गरी स्वदेश फर्किएर योगदान दिन प्रेरित गर्ने लक्ष्यसहित सेवा विस्तार गरिने बताए।

कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पहिलो ब्याचका खेलाडी सञ्जय गुरुङले आफ्नो खेल जीवनको अनुभव सुनाउँदै सुरुमा रहरका लागि क्रिकेट खेले पनि अहिले खेलप्रति समाजको दृष्टिकोण परिवर्तन भएको बताए। उनले सन् २०१४ मा पारस खड्काको कप्तानीमा भएको विश्वकप सहभागितापछि नेपाली क्रिकेटले व्यावसायिक स्वरूप लिन थालेको उल्लेख गरे।

उनले निजी क्षेत्रको सक्रिय सहयोगकै कारण नेपाली क्रिकेटले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको र क्रिकेट क्याम्पदेखि अम्पायरिङसम्म विभिन्न क्षेत्रमा उल्लेखनीय विकास भएको बताए।

कार्यक्रममा युनिगाइड बुटवलका काउन्सिलर सञ्जय खनाल, रोयल फूडकोर्टका केशव भुसाल तथा लुम्बिनी लायन्सका अपरेसन म्यानेजर लक्की आचार्यले खेलकुद विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव