ह्रयारी केन, भविष्यवाणी र उचाइमा खेल्नुपर्ने चुनौती

मेक्सिको सिटीको आँधीबेहरीयुक्त रातमा नकआउट चरणको खेलमा इक्वेडरविरूध्द गरिएको २ गोलले मेक्सिकोको ४० वर्ष लामो विश्वकप नकआउट जितको अभिशाप तोड्यो। त्यसपछि देशभरका १० लाखभन्दा बढी मेक्सिकन समर्थक सडकमा उत्रिएर उत्सव मनाए । सन् २०२६ को फिफा विश्वकपमा मेक्सिकोको अर्को प्रतिद्वन्द्वी इंग्ल्यान्ड हुने घोषणा भएपछि उत्साह झन् बढ्यो।

अब प्रतिष्ठित एज्टेका रंगशालामा अन्तिम १६ (राउन्ड अफ १६) को रोमाञ्चक भिडन्त हुने भएको छ। प्रतियोगिताको सह–आयोजक मेक्सिकोको घरेलु मैदान मानिने यही रंगशालाले सन् १९८६ मा अर्जेन्टिनाका डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोलमार्फत इंग्ल्यान्डलाई क्वार्टरफाइनलबाट बाहिर पठाएको पीडादायी सम्झना पनि बोकेको छ।

आइतबार हुने यस खेलमा दुई टोली मात्र होइन, इतिहासका अनेक अध्याय पनि आमनेसामने हुनेछन्।

मेक्सिको र इंग्ल्यान्ड कसरी अन्तिम १६ मा पुगे?
मेक्सिकोले समूह ‘ए’ मा लगातार तीनै खेल जित्दै ९ अंकसहित शीर्ष स्थान हासिल गर्‍यो। उसले दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेकियालाई पराजित गरेको थियो। त्यसपछि अन्तिम ३२ को खेलमा इक्वेडरलाई २–० ले हराउँदै सन् १९८६ यता पहिलो पटक विश्वकप नकआउट चरणमा जित दर्ता गर्‍यो।

इंग्ल्यान्डले समूह ‘एल’ मा ७ अंकसहित शीर्ष स्थान सुरक्षित गर्‍यो। उसले क्रोएसिया र पानामालाई हरायो भने घानासँग गोलरहित बराबरी खेल्यो। अन्तिम ३२ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगोविरुद्ध अन्तिम समयमा पुनरागमन गर्दै २–१ को जित निकालेर अन्तिम १६ मा स्थान बनायो।

उच्च उचाइ, एज्टेका र कठिन चुनौती
मेक्सिको–इंग्ल्यान्ड खेलअघि उच्च उचाइमा खेल्नुपर्ने चुनौती, प्रतिकूल मौसमको सम्भावना र खेल तालिकासम्बन्धी विषयले निकै चर्चा पाएका छन्।

उच्च उचाइका कारण बल सामान्यभन्दा छिटो र टाढासम्म जान सक्छ। खेलाडीलाई श्वास फेर्न कठिन हुन सक्छ। त्यसमाथि घरेलु समर्थकको ठूलो र जोशिलो उपस्थितिले विपक्षीमाथि थप दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यद्यपि घरेलु टोलीलाई केही फाइदा भए पनि इंग्ल्यान्ड एज्टेका रंगशालामा खेल्न पाउँदा उत्साहित देखिएको छ। सन् १९७० र १९८६ को विश्वकप फाइनल आयोजना गरेको यही मैदान इंग्लिस समर्थकका लागि अझै पनि म्याराडोनाको विवादास्पद तर उत्कृष्ट प्रदर्शनका कारण अविस्मरणीय बनेको छ।

इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेल
“मलाई सुरुबाटै लाग्यो कि यो साँच्चिकै विश्वकप स्तरको खेल हुनेछ। हामी एउटा ऐतिहासिक स्थान र प्रतिष्ठित रंगशालामा छौं। यहाँ प्रवेश गर्नेबित्तिकै उत्साह र भावनाको अनुभूति हुन्छ।”

इंग्ल्यान्ड अपेक्षा
६० वर्षदेखि ठूलो उपाधिको प्रतीक्षा अन्त्य गर्ने लक्ष्यसहित विश्वकपमा आएको इंग्ल्यान्डले हालसम्म आफ्नो फिफा वरीयताको चौथो स्थानअनुसारको प्रदर्शन गर्न सकेको छैन। समूह चरणमा संघर्ष गरेको टोलीले डिआर कंगोविरुद्ध पनि अन्तिम समयमा पुनरागमन गर्दै मात्र जित निकाल्न सफल भएको थियो।

मेक्सिकोका प्रशिक्षक हाभियर अग्विरे
“इंग्ल्यान्डसँग देशभित्र र विदेशका शीर्ष लिगमा खेल्ने उत्कृष्ट खेलाडी छन्। उनीहरू शारीरिक रूपमा निकै बलिया छन् र उच्च स्तरका फुटबलर हुन्।”

मेक्सिको ४० वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने लक्ष्यमा रहेको छ।

खेलको सम्भावित नतिजा

ओप्टा सुपरकम्प्युटरको अनुमानअनुसार निर्धारित ९० मिनेटभित्र:
इंग्ल्यान्डको जित्ने सम्भावना : ४०.६ प्रतिशत
मेक्सिकोको जित्ने सम्भावना : ३१.५ प्रतिशत
खेल अतिरिक्त समय वा पेनाल्टीमा जाने सम्भावना : २७.९ प्रतिशत

हेड–टु–हेड
विश्वकपमा मेक्सिको र इंग्ल्यान्डबीच यो दोस्रो भेट हो।

पहिलो भेट सन् १९६६ को विश्वकपमा भएको थियो, जहाँ समूह चरणमा इंग्ल्यान्डले मेक्सिकोलाई २–० ले पराजित गरेको थियो। सोही वर्ष इंग्ल्यान्डले आफ्नो इतिहासकै पहिलो तथा अहिलेसम्मकै एकमात्र विश्वकप उपाधि जितेको थियो। सन् १९८६ देखि २०१० सम्म यी दुई टोलीबीच भएका चार मैत्रीपूर्ण खेलमा पनि इंग्ल्यान्ड लगातार विजयी भएको छ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव