काठमाडौं । एक महिनाभन्दा बढी लामो रोमाञ्चक प्रतिस्पर्धापछि प्रतियोगिता अब हरेक खेल टोलीका लागि ‘गर या मर’को अवस्थामा पुगेको छ । क्वार्टरफाइनलमा हुने एउटा जितले सेमिफाइनलको ढोका खोल्ने छ भने एउटा हारले चार वर्षदेखिको मेहनत, तयारी र समर्थकका सपना एकै झट्कामा समाप्त पार्नेछ । त्यसैले अब प्रत्येक पास, प्रत्येक गोल, प्रत्येक बचाउ र प्रत्येक रणनीति इतिहाससँग जोडिने छन् ।
आगामी १९ जुलाईमा न्यूयोर्क–न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा स्थान बनाउन बाँकी टोलीबीच कडा प्रतिस्पर्धा हुनेछ र विश्वभरका फुटबल समर्थकका नजर अहिले यिनै टोलीकेन्द्रित छन् । जारी संस्करणदेखि फिफाले विश्वकपलाई ३२ टोलीबाट विस्तार गर्दै ४८ टोली बनाएको हो । यो निर्णयले विश्वका धेरै राष्ट्रलाई पहिलोपटक विश्वकप खेल्ने अवसर दिएको छ । प्रतियोगिताको स्तर अझ प्रतिस्पर्धात्मक बन्यो भने समूह चरणदेखि नै धेरै अप्रत्याशित नतिजा देखिए ।
यसपटक विश्वकप संयुक्तरूपमा अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गरेका छन् । यद्यपि, तिनै राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन् । तीन देशले संयुक्तरूपमा आयोजना गरेको यो पहिलो विश्वकप पनि हो । आधुनिक स्टेडियम, अत्याधुनिक प्रविधि, ठूलो दर्शक सहभागिता र उत्कृष्ट व्यवस्थापनका कारण प्रतियोगिता अहिलेसम्म सफल मानिएको छ । ४८ टोलीको सहभागिताले विश्व फुटबलमा नयाँ शक्ति उदाइरहेको स्पष्ट पारेको छ ।
जारी विश्वकपको सबैभन्दा ठूलो विशेषता अप्रत्याशित नतिजा हो । ब्राजिल, पोर्च ुगल, नेदरल्यान्ड्स, संयुक्त राज्य अमेरिका, मेक्सिको, कोलम्बिया, जापान, क्रोएसिया र जर्मनीजस्ता बलिया टोली उपाधिका प्रमुख दाबेदार मानिएका थिए । तर, ‘नकआउट चरण’मा उनीहरूको यात्रा अपेक्षाभन्दा धेरै अघि नै समाप्त भयो । पाँचपटकको ‘विश्व च्याम्पियन’ ब्राजिल नर्वेसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिनु विश्वभर चर्चाको विषय बन्यो ।
त्यस्तै, पोर्चुगल स्पेनसँग, संयुक्त राज्य अमेरिका बेल्जियमसँग, कोलम्बिया स्विट्जरल्यान्डसँग तथा नेदरल्यान्ड्स मोरक्कोसँग पराजित हुँदै बाहिरिए । यी नतिजाले विश्व फुटबलमा ‘अब कुनै पनि टोलीलाई कमजोर आँक्न नसकिने’ प्रस्ट्याएका छन् । क्वार्टरफाइनलमा पुगेका आठ टोलीमध्ये अर्जे न्टिना, फ्रान्स, इंग्ल्यान्ड र स्पेन ‘विश्व च्याम्पियन’ बनिसकेका टोली हुन् भने बेल्जियम, मोरक्को, स्विट्जरल्यान्ड र नर्वे पहिलोपटक नयाँ इतिहास रच्ने लक्ष्यमा छन् । खेल शैली, अनुभव, मानसिक तयारी र वर्तमान लय फरक–फरक भए पनि सबै टोलीको लक्ष्य एउटै हो, विश्वकप ट्रफी ।
अर्जेन्टिना : निरन्तर उत्कृष्ट प्रदर्शन, संगठित टोली
साबिक विजेता अर्जे न्टिना यसपटक पनि उपाधिको सबैभन्दा बलियो दाबेदारमध्ये एक मानिएको छ । पछिल्ला केही वर्षयता टोलीले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलमा आफ्नो प्रभाव कायम राखेको छ । यस विश्वकपमा पनि अर्जेन्टिनाले समूह चरणदेखि प्रभावशाली खेल प्रदर्शन गरेको छ भने ‘नकआउट चरण’मा कठिन चुनौती पार गर्दै ‘अन्तिम ८’मा स्थान बनाएको छ । अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति सामूहिक खेल हो ।
कुनै एक खेलाडीमै निर्भर नरही रक्षापंक्ति, मध्यपंक्ति र आक्रमण तीनै विभागले सन्तुलित प्रदर्शन गरिरहेका छन् । अनुभवी खेलाडीको उपस्थितिले दबाबपूर्ण अवस्था सहजरूपमा सम्हाल्न मद्दत गरेको छ । ‘पेनाल्टी सुटआउट’देखि अतिरिक्त समयसम्म टोली संयमित देखिएको छ । यदि अर्जे न्टिनाले यही लय कायम राख्न सक्यो भने लगातार दोस्रोपटक विश्वकप जित्ने अवसर ऊसँग छ ।
फ्रान्स : युवा प्रतिभा र अनुभवी खेलाडीको उत्कृष्ट संयोजन
मोरक्कोलाई २–० गोलअन्तरले पराजित गरेर सेमिफाइनलमा सुरक्षित भएको फ्रान्स पछिल्लो दशकमा सफल टोलीमध्ये एक हो । युवा प्रतिभा र अनुभवी खेलाडीको उत्कृष्ट संयोजन फ्रान्सको सबैभन्दा ठूलो विशेषता हो । यस विश्वकपमा फ्रान्सले आक्रामक फुटबल खेल्दै लगातार प्रभावशाली प्रदर्शन गरेको छ । टोलीले धेरै गोल गर्नुका साथै बेन्चको गहिराइका कारण प्रशिक्षकसँग पर्याप्त विकल्प पनि उपलब्ध छन् । प्रतिआक्रमणमा फ्रान्स निकै खतरनाक देखिएको छ । विपक्षीले गरेको सामान्य गल्ती पनि गोलमा परिणत गर्ने क्षमता ऊसँग छ । रक्षापंक्ति पनि सन्तुलित र व्यवस्थित देखिएकाले फ्रान्सलाई उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।
इंग्ल्यान्ड : अवसर सदुपयोग गर्नसके उपाधिनजिक
इंग्ल्यान्डलाई विश्व फुटबलमा सधैं प्रतिभावान टोलीका रूपमा लिइन्छ । पछिल्ला धेरै दशकदेखि टोलीले विश्वकप उपाधि जित्न सकेको छैन । यसपटक भने टोलीको प्रदर्शन निकै सन्तुलित देखिएको छ । रक्षादेखि आक्रमणसम्म उत्कृष्ट समन्वय प्रस्तुत गरेको इंग्ल्यान्डले मध्यपंक्तिबाट खेल नियन्त्रण गर्ने क्षमतामा प्रभाव जमाएको छ । लामो समयसम्म बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षीलाई दबाबमा पार्ने रणनीतिमा टोली सफल देखिएको छ । यदि स्ट्राइकरले सिर्जना गरेका अवसर सदुपयोग गर्नसके इंग्ल्यान्ड उपाधि दौडमा अन्तिमसम्म टिक्न सक्ने टोलीका रूपमा देखिएको छ ।
स्पेन : ‘टिकी–टाका’ शैली आधुनिक गतिसँग संयोजन
स्पेनले आफ्नो परम्परागत ‘टिकी–टाका’ शैलीलाई आधुनिक गतिसँग सफलतापूर्वक संयोजन गरेको छ । पहिलेजस्तो धेरै पासमै सीमित नरही टोलीले आवश्यक पर्दा तीव्र गतिमा आक्रमण गर्ने शैली पनि अपनाएको छ । युवा खेलाडीको आगमनले टोलीमा नयाँ ऊर्जा थपेको छ । बलमाथिको नियन्त्रण कायम राख्दै विपक्षीलाई निरन्तर दबाबमा राख्ने स्पेनको रणनीति यस विश्वकपमा प्रभावकारी देखिएको छ । रक्षात्मकरूपमा पनि टोली निकै अनुशासित छ । यद्यपि, गोल गर्ने अवसरलाई शतप्रतिशत सदुपयोग गर्न सक्नु स्पेनका लागि अझै चुनौतीकै विषय बनेको छ । विश्वकप जितिसकेको अनुभव भएकाले दबाबपूर्ण अवस्था नियन्त्रण गर्ने क्षमता भने टोलीसँग प्रशस्त छ, जुन क्वार्टरफाइनलमा निर्णायक बन्न सक्छ ।
बेल्जियम : विश्व फुटबलको ‘डार्क हर्स’ टोली
बेल्जियम लामो समयदेखि विश्व फुटबलको ‘डार्क हर्स’ टोलीका रूपमा परिचित छ । पछिल्ला केही वर्षमा लगातार उत्कृष्ट प्रदर्शन गरे पनि टोलीले विश्वकप वा युरोपियन च्याम्पियनसिपजस्ता ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन । जारी विश्वकपमा भने बेल्जियमले आफ्नो अनुभव र आक्रामक खेलशैलीको उत्कृष्ट प्रदर्शन गरेको छ । ‘राउन्ड अफ १६’मा घरेलु टोली अमेरिकालाई ४–१ ले पराजित गर्दै टोलीले आफ्नो आक्रमण क्षमता प्रमाणित ग¥यो ।
अवसर उचित सदुपयोग गर्दै विपक्षीमाथि निरन्तर दबाब बढाउने बेल्जियमको शैली प्रभावकारी देखिएको छ । खेलको गति अचानक बढाउन सक्ने क्षमता, मिडफिल्डबाट सिर्जना हुने अवसर र विङमार्फत हुने तीव्र आक्रमण उसका प्रमुख हतियार हुन् । यद्यपि, रक्षापंक्ति कहिलेकाहीँ दबाबमा कमजोर देखिने भएकाले स्पेनविरुद्धको क्वार्टरफाइनलमा बेल्जियमले रक्षात्मक अनुशासन कायम राख्नुपर्ने चुनौती हुनेछ ।
मोरक्को : सबैभन्दा ठूलो शक्ति अनुशासन
सन् २०२२ को विश्वकपमा इतिहास रच्दै सेमिफाइनलसम्म पुगेर विश्व फुटबललाई चकित बनाएको मोरक्को यसपटक क्वाटर फाइनलमा फ्रान्ससँग पराजित भएसँगै घर फर्किएको छ । यसअघिको खेलमा मोरक्कोले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको थियो । यसपटक टोलीले ‘राउन्ड अफ ३२’मा नेदरल्यान्ड्सलाई र त्यसपछि क्यानडालाई पराजित गर्दै ‘अन्तिम ८’मा स्थान सुरक्षित गरेको हो । उत्कृष्ट रक्षात्मक संगठन, तीव्र प्रतिआक्रमण र सामूहिक खेलका कारण मोरक्कोले फेरि सबैको ध्यान तानेको छ । टोलीको सबैभन्दा ठूलो शक्ति अनुशासन हो ।
प्रत्येक खेलाडीले आफ्नो जिम्मेवारी प्रभावकारीरूपमा निर्वाह गर्ने भएकाले बलिया टोलीलाई पनि गोल गर्ने अवसर सिर्जना गर्न कठिन हुने गरेको छ । रक्षाबाट आक्रमणमा केही सेकेन्डमै रूपान्तरण गर्ने क्षमताले मोरक्कोलाई अझ खतरनाक बनाएको थियो ।
स्विट्जरल्यान्ड : दबाबपूर्ण क्षणमा पनि मानसिकरूपमा बलियो
स्विट्जरल्यान्डलाई विश्व फुटबलमा सधैं कठिन प्रतिस्पर्धी टोलीका रूपमा हेरिन्छ । धेरै चर्चित स्टार खेलाडी नभए पनि टोलीको सामूहिक खेल, अनुशासन र धैर्य नै उसको सबैभन्दा ठूलो शक्ति बनेको छ । यस विश्वकपमा कोलम्बियालाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै स्विट्जरल्यान्डले क्वार्टरफाइनल यात्रा तय गरेको हो । दबाबपूर्ण क्षणमा पनि मानसिकरूपमा बलियो देखिनु टोलीको विशेषता हो । रक्षापंक्ति निकै व्यवस्थित भएकाले विपक्षीले सहज अवसर पाउन कठिन भएको छ । अर्जे न्टिनाविरुद्ध पनि स्विट्जरल्यान्डले धैर्यपूर्वक खेल्दै प्रतिआक्रमण रणनीति अपनाउने सम्भावना छ । खेल अतिरिक्त समय वा पेनाल्टीसम्म पुग्यो भने स्विट्जरल्यान्डलाई कमजोर आँक्न सकिने अवस्था छैन ।
नर्वे : सबैभन्दा प्रेरणादायी प्रदर्शन
‘विश्वकप २०२६’को सबैभन्दा प्रेरणादायी कथा नर्वेको प्रदर्शन हो । प्रतियोगिता सुरु हुनुअघि धेरैले उपाधि दाबेदारको सूचीमा नराखेको टोली अहिले ‘अन्तिम ८’मा उभिएको छ । नर्वेले ‘राउन्ड अफ ३२’मा आइभरी कोस्टलाई र त्यसपछि पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई पराजित गर्दै सबैलाई आश्चर्यचकित बनाएको हो । बल पाउनेबित्तिकै तीव्र गतिमा आक्रमण गर्ने र विपक्षीलाई सोच्ने समय नै नदिने शैली नर्वेको प्रमुख विशेषता बनेको छ । युवा खेलाडीको आत्मविश्वास, उत्कृष्ट शारीरिक क्षमता र सामूहिक भावना टोलीको सबैभन्दा ठूलो बल हो । अब इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनल नर्वेका लागि इतिहास रच्ने अर्को अवसर हुनेछ ।
सम्बन्धित समाचार
फाइनलमा पहिलोपटक ‘हाफटाइम शो’
ललितपुरविरुद्ध पोखरा महानगरपालिका ७ विकेटले विजयी
विश्वकप फुटबल मैदानमा देखिएका फरक दृश्य
गोलविहीन कोलम्बिया-पोर्चुगलको खेल
कुन विश्वकपमा मेस्सीकाे कति गोल ?
बागलुङमा कुकुरलाई ‘होस्टेल’
मानवअधिकार सुधार गर्न नेपालको नयाँ प्रतिबद्धता
क्रोएसियालाई स्तब्ध बनाउँदै पोर्चुगल अन्तिम १६ मा






