साबिक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा १० खेलाडीमा सीमित स्वीट्जरल्यान्डलाई ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ। अब अर्जेन्टिनाले अन्तिम चारको खेलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
आइतबार बिहान क्यान्सस सिटी स्टेडियममा भएको क्वार्टरफाइनलमा अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो। लियोनेल मेस्सीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोलमा परिणत गरे।
सुरुआती गोलपछि अर्जेन्टिनाले अपेक्षाअनुसार प्रभावशाली प्रदर्शन गर्न सकेन। स्विट्जरल्यान्डले ६७औँ मिनेटमा डान एनडोयेको गोलबाट खेल १–१ को बराबरीमा ल्यायो।
७२औँ मिनेटमा स्विट्जरल्यान्डका ब्रिल एम्बोलोले दोस्रो पहेंलो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। फ्रि–किक लिनका लागि डाइभ गरेको भन्दै रेफ्रीले उनलाई दोस्रो पहेंलो कार्ड दिएका थिए। यस क्रममा भिडियो सहायक रेफ्रीले अर्जेन्टिनाका लिएन्ड्रो परेडेसलाई दिइएको कार्ड सही खेलाडीलाई दिइएको हो वा होइन भन्ने विषयमा रेफ्रीलाई समीक्षा गर्न आग्रह गरेको थियो। अन्ततः रेफ्रीले निर्णय परिवर्तन गर्दै एम्बोलोलाई रातो कार्ड देखाए।
खेल अतिरिक्त समयमा पुगेपछि जुलियन अल्भारेज नायक बने। उनले ११२औँ मिनेटमा करिब २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सिधै गोलपोस्टको माथिल्लो कुनामा पुगेपछि अर्जेन्टिनाले २–१ को अग्रता बनायो।
खेलको अन्तिम समयमा बराबरी गोलको खोजीमा स्विट्जरल्यान्डले सबै खेलाडीलाई अगाडि बढाउँदा पछाडिको स्थान खाली भयो। त्यसको फाइदा उठाउँदै थियागो अल्माडाको काउन्टर आक्रमणपछि प्राप्त बललाई लाउटारो मार्टिनेजले अतिरिक्त समयको इन्जुरी समयमा गोल गर्दै अर्जेन्टिनाको जित ३–१ मा सुरक्षित गरे।
अब अर्जेन्टिनाले बुधबार एटलान्टामा हुने सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ। अर्को सेमिफाइनलमा स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। विश्वकपको इतिहासमा हालसम्म इटाली र ब्राजिलले मात्रै लगातार दुई पटक उपाधि जित्न सफल भएका छन्। अर्जेन्टिना पनि त्यस उपलब्धिको नजिक पुगेको छ।
सम्बन्धित समाचार
हाल्यान्डको २ गोलमा ब्राजिल स्तब्ध, (ब्राजिल १–२ नर्बे)
मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ टोलीको टाइटल स्पोन्सर
अर्जेन्टिनाको रोमाञ्चक जित
मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा






