आजबाट महँगियो शिक्षा र स्वास्थ्य

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३–०८४ को बजेटमा गरेको व्यवस्थाअनुसार १ साउन (आज)बाट कर प्रणालीमा हेरफेर भएको छ ।

दर हेरफेर हुँदा ‘उज्यालो’मा पनि लाग्यो कर

नयाँ व्यवस्थाअनुसार व्यक्तिगत आयकरमा राहत दिइएको छ भने चुरोट, सुर्तीजन्य पदार्थ, मदिरा तथा केही विलासिताका वस्तुमा कर बढाइएको छ । उद्योगलाई प्रतिस्पर्धी बनाउन थुप्रै कच्चा पदार्थमा भन्सार घटाइएको छ भने ३६० प्रकारका वस्तुबाट अन्तःशुल्क हटाइएको छ ।

सरकारले राजस्व वृद्धि र स्वास्थ्यसम्बन्धी नीतिलाई लक्षित गर्दै चुरोट, सुर्ती, खैनी, गुट्खा, चपाउने सुर्ती, बियर, वाइन, विदेशी तथा स्वदेशी मदिरा र चिनी बढी भएका कार्बोनेटेड तथा एनर्जी ड्रिंक्समा अन्तःशुल्क बढाएको छ । यसले यी वस्तुको बजार मूल्य बढ्ने छ ।

विलासिताका उच्च क्षमताका सवारीसाधन, केही बहुमूल्य धातु तथा गहनामा पनि भन्सार तथा सम्बन्धित कर समायोजन गरिएको छ । यद्यपि उत्पादनमूलक उद्योगलाई प्रोत्साहन दिन २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ । कम राजस्व संकलन हुने तथा औद्योगिक प्रयोजनका ३६० प्रकारका वस्तुबाट अन्तःशुल्क हटाइएको छ ।

शिक्षा र स्वास्थ्य पनि महँगियो
सरकारले १ साउनबाट लागू हुनेगरी शिक्षा र स्वास्थ्य उपचारमा थप तीन प्रतिशत कर लगाएको छ ।

नयाँ व्यवस्थाअनुसार ‘समता शुल्क’का नाममा नयाँ कर थपिएकाले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थामा अध्ययन गर्दा विद्यार्थी तथा अभिभावकको खर्च बढ्ने भएको छ ।

कुनै पनि नेपालीले निजी क्षेत्रबाट सञ्चालित विश्वविद्यालय, महाविद्यालय, विद्यालय तथा प्राविधिक शिक्षालयबाट शिक्षा लिँदा १ साउनपछिको बिलमा सेवा शुल्कको ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ जोडिनेछ ।

सरकारी अस्पतालबाहेकमा ‘स्वास्थ्य समता शुल्क’का नाममा थपिएको कर पनि १ साउनबाटै लागू भएको छ । यो करले सर्वसाधारणको औषधोपचार खर्च बढ्नेछ ।

निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरू (अस्पताल, क्लिनिक) बाट सेवा लिँदा बिरामीले अब बिलमा सेवा शुल्कको ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ थप तिर्नुपर्नेछ । यो नयाँ कर असुल गर्नका लागि निजी क्षेत्रका सबै स्वास्थ्य संस्थाले बिलिङ प्रणाली परिमार्जन गर्नुपर्ने भएको छ ।

५० युनिटभन्दा बढी बिजुलीमा भ्याट
बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) पनि १ साउन (आज) बाटै लागू भएको छ ।

१ साउनदेखि ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहकलाई ५ प्रतिशत र अन्यलाई १३ प्रतिशत भ्याट थपेर बिलिङ हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आर्थिक विधेयकमा विद्युत्का अन्तिम उपभोक्तालाई ५ प्रतिशतका दरले भ्याट लाग्ने व्यवस्था छ । आन्तरिक राजस्व विभागले घरायसी ग्राहकलाई अन्तिम उपभोक्ता मानेको र उनीहरूलाई मात्रै ५ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको बताएको छ । त्यसबाहेकका सबै किसिमका उपभोक्ताले १३ प्रतिशतकै दरले भ्याट तिर्नुपर्ने छ ।

सेयरमा नयाँ कर दर
सेयर बजारमा लगानीकर्तालाई पनि नयाँ कर व्यवस्था लागू गरिएको छ । एक वर्षभन्दा बढी अवधिसम्म स्वामित्वमा रहेको सेयर बिक्री गर्दा ७ दशमलव ५ प्रतिशत र एक वर्षभित्र बिक्री गर्दा १० प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ ।

सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी व्यवस्थामा पनि संशोधन गर्दै केही डिजिटल सेवा तथा राइडसेयरिङ सेवामा कर व्यवस्था लागू गरेको छ ।

व्यक्तिगत आयकरको सीमा १० लाख
सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान पनि शुक्रबार (आज)बाटै लागू हुँदैछ ।

आगामी आर्थिक वर्ष २०८३–०८४ देखि सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा १० लाख पु¥याएको छ । नयाँ आव शुक्रबारदेखि सुरु हुँदैछ । सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत घटाएको छ ।

आर्थिक ऐन २०८३ अनुसार १० लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भए अब १ प्रतिशतमात्र कर लाग्ने छ । तर, एकलौटी फर्म दर्ता भएका करदाताका हकमा निवृत्तिभरण बापत आय निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा कर लाग्ने छैन ।

१० लाख रुपैयाँभन्दा बढी तर १५ लाख रुपैयाँसम्म करयोग्य आय भए १० लाखसम्म १० हजार रुपैयाँ र १० लाखभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयकर लाग्ने छ । १५ लाख रुपैयाँभन्दा बढी तर २५ लाखसम्म करयोग्य आय भए १५ लाखसम्म ६० हजार र १५ लाखभन्दा बढी करयोग्य आयमा २० प्रतिशत आयकर लाग्ने व्यवस्था बजेटले गरेको छ ।

२५ लाख रुपैयाँभन्दा बढी करयोग्य आय भए २५ लाखसम्म २ लाख ६० हजार र २५ लाखभन्दा बढी करयोग्य आयमा २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भए बढी भएजति करयोग्य आयमा थप २ प्रतिशतले अतिरिक्त कर लाग्ने व्यवस्था बजेटले गरेको छ ।

राइड सेयरिङ सेवा दिनेको प्यान अनिवार्य
आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षबाट राइड सेयरिङ सेवामा आबद्ध भई सेवा प्रदान गर्ने चालकका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ ।

राइड सेयरिङ अपरेटरको प्लेटफर्ममा आबद्ध हुने सम्पूर्ण व्यक्तिले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएर मात्र कारोबार गन भनेको छ ।

आयकर ऐन, २०५८ को दफा ७८ तथा आयकर नियमावली, २०५९ को नियम २३ अनुसार निर्धारणयोग्य आय आर्जन गर्न चाहने व्यक्ति, विभागले स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था छ ।

– वार्षिक १० लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत कर
– अधिकतम आयकर दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा
– अविवाहित र विवाहितका लागि एउटै आयकर स्ल्याब
– चुरोट, सुर्ती, गुट्खा, रक्सी, बियर र पेयमा अन्तःशुल्क वृद्धि
– विलासिताका सवारीसाधनमा कर वृद्धि
– २७३ प्रकारका कच्चा पदार्थमा भन्सार घटाइयो
– ३६० प्रकारका वस्तुबाट अन्तःशुल्क हटाइयो
– दीर्घकालीन सेयर कारोबारमा ७ दशमलव ५ प्रतिशत पुँजीगत लाभकर

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

epaper

ताजा समाचार

१ श्रावण २०८३