धनगढी । कैलाली, धनगढी उपमहानगरपालिका–१९ फूलबारीका ७२ वर्षीय विष्णुप्रसाद थारुको सेती प्रादेशिक अस्पतालमा आईसीयू (सघन उपचार कक्ष) शय्या नपाउँदा मृत्यु भएको भन्दै परिवारले अस्पताल व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएका छन् ।
अस्पताल व्यवस्थापनमाथि परिवारको प्रश्न
दमको समस्या बल्झिएपछि उपचारका लागि लगिएका थारुको बिहीबार बिहान करिब ४ बजे मृत्यु भएको हो । परिवारका अनुसार आईसीयू शय्या अभावका कारण समयमै उपचार हुन नसक्दा उनको ज्यान गएको हो ।
मृतककी छोरी मनपतिदेवी चौधरीले ३१ असार साँझ बुबालाई धनगढीकै एक निजी अस्पताल पु¥याइएको, तर चिकित्सकले तत्काल आईसीयूमा राख्नुपर्ने र प्रारम्भिक उपचारमै करिब एक लाख रुपैयाँ खर्च लाग्ने बताएपछि आर्थिक अभावका कारण सरकारी अस्पतालमा ल्याएको बताइन् ।
उनका अनुसार सेती प्रादेशिक अस्पताल पुगेपछि पनि आईसीयू शय्या खाली नभएको भन्दै पर्खन भनियो । ‘चिकित्सकले आईसीयू आवश्यक छ भन्नुभयो, तर बेड खाली छैन भनियो । राति २ बजेसम्म पर्खनुस् भनियो, शय्या पाइएन । ३ बजेदेखि बुबा धेरै छटपटिन थाल्नुभयो र बिहान ४ बजे उहाँको मृत्यु भयो,’ उनले भनिन् ।
घटनापछि मनपतिदेवीले बुबाको अन्तिम अवस्थाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आर्थिक अभाव र उपचारमा भएको ढिलाइले बुबाको ज्यान गएको आरोप लगाएकी छन् ।
यता, सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले बिरामीलाई निजी अस्पतालबाट राति करिब १२ बजे अन्तिम अवस्थामा ल्याइएको र त्यसबेला अस्पतालका सबै १५ वटा आईसीयू शय्या भरिएको बताए । उनका अनुसार बिरामीलाई आकस्मिक कक्षमै आवश्यक उपचार सेवा दिइएको थियो ।
‘उहाँ आउँदा अवस्था निकै गम्भीर थियो । सबै आईसीयू शय्या जटिल बिरामीले भरिएका थिए, त्यसैले आकस्मिक कक्षमै उपचार गरिएको हो,’ श्रेष्ठले भने ।
सुदूरपश्चिम प्रदेशकै प्रमुख रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पताल सरकारी रूपमा ५० शय्याको स्वीकृतिमा सञ्चालन भए पनि अहिले करिब ३०० शय्या क्षमतामा सेवा दिइरहेको छ । जनशक्ति र पूर्वाधार विस्तार भए पनि बिरामीको अत्यधिक चापका कारण विशेषगरी आईसीयू सेवा व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ ।
सम्बन्धित समाचार
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
चिकित्सा शिक्षा आयोगमा डा.खत्री नियुक्त
साजिलाल माविको विव्यस गठनमा राजनीतिक गन्ध
समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न आग्रह
एनएमसीमा बीएस्सी नर्सिङको १४ औँ ब्याच बिदाइ
सामाजिक विकास कार्यालय कैलालीको वार्षिक प्रगति समीक्षा सम्पन्न
सुदूरपश्चिममा दोस्रो पटक बजेट ‘होलिडे’, खर्च गर्ने कानुनी आधार सकियो






