तेहरान । यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाहमा नाकाबन्दी गरेर युद्ध भड्काउने खतरा उत्पन्न भएपछि इरानले खाडीमा अवस्थित अमेरिकी राडार, हवाई रक्षा प्रतिष्ठानलगायत सैन्य सुविधाहरुलाई निशाना बनाएर थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ ।
इरानको रिभोलुसनरी गाड्र्सले उनीहरूले होर्मुजको जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा तेल ट्यांकरमा आक्रमण गरी रोकेको जनाइएको छ ।
पछिल्लो समयको झडपमा कम्तिमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएपछि संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नयाँ चरणको आक्रमण सुरु गरेको छ भने आक्रमणको उद्धेश्य होर्मुज जलमार्गमा व्यापारिक जहाजमा आक्रमण गर्ने इरानी सैन्य क्षमतालाई कमजोर पार्नु भएको जनाइएको छ ।
यसअघि इरानी सेनाले कुवेत र बहराइनमा हवाई रक्षा प्रणाली, राडार स्थापना र प्रशासनिक भवनहरूसहित अमेरिकी सुविधालाई लक्षित गरी आक्रमण गरेको बताएको थियो । मिसाइल आक्रमणको अझै निर्णायक र शक्तिशाली तयारी थालिएको आईआरएनएले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले द्वन्द्वमा मारिएका प्रत्येक अमेरिकी सैनिकका लागि चर्को मूल्य तिर्नुपर्ने चेतावनी दिएका थिए भने इरानी राष्ट्रपति मसूद पेजेस्कियनले द्वन्द्व पूर्णरपमा भड्किएको बताएका थिए ।
द्वन्द्वका कारण गत ७ जुलाईदेखि लगभग एक सय जना अमेरिकी सैनिक घाइते भएको पेन्टागनले जनाएको छ ।
यसैबीच, तेहरानका यमनी सहयोगी, हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरू अवरुद्ध गर्ने घोषणा गर्दै युद्धको विस्तार गर्ने धम्की दिएका छन् । हुथीहरूको यस्तो कदमले रियादको केही तेल निर्यातका लागि होर्मुजको क्षमतालाई जोखिममा पारी विश्वव्यापी अर्थतन्त्रमा ठूलो असर पार्ने आकलन गरिएको छ ।
साउदी अरेबियाले भने हुथी विद्रोहीको खतराको कडा निन्दा गर्दै यसले भाइचारा यमनी जनता र उनीहरूको सरकारलाई समर्थन गरिरहेको बताएको छ ।
अप्रिलमा जारी गरिएको युद्धविराम र जुनमा गरिएको सम्झौता ध्वस्त भए पछि मध्यपूर्व युद्ध पुनः भड्किएको छ ।
तेहरानले होर्मुजको जलमार्गमा आफ्नो नाकाबन्दी पुनः लागू गरेको छ भने वासिङ्टनले इरानका बन्दरगाहहरू अवरुद्ध गरेर प्रतिक्रिया दिइरहेको छ ।
विश्व वजारमा तेलको आयात गर्ने मुख्य जलमार्ग प्रभावित हुने गरी भएको लामो युद्धले तेलको मूल्य बढेर उच्चस्तरमा पुगेको थियो ।
हाल होर्मुज अवरुद्ध भएता पनि साउदी अरेबियाले यसको लाल सागर बन्दरगाह यानबु हुँदै लाखौं ब्यारेल तेल निर्यात जारी राख्न सक्षम भएको जनाइएको छ ।
कूटनीतिक आदान–प्रदानबीच होर्मुजको जलमार्गमा, रिभोलुसनरी गाड्र्सले मंगलबार जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा ट्यांकरमा विस्फोटको गराउँदा ठूलो आगलागी हुनुका साथै तिनीहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
युके मेरिटाइम ट्रेड अपरेसन एजेन्सी (युकेएमटीओ) ले यस अघि ओमानको तटमा एउटा अज्ञात प्रक्षपण तेल ट्यांकरमा ठोक्किएको रिपोर्ट गरेको थियो ।
पछिल्लो लडाइँको बावजुद इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्ताहरू मार्फत वासिङ्टनसँग कूटनीतिक आदान–प्रदान जारी रहेको बताएका छन् ।
इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनी दुई दिने भ्रमणका लागि इस्लामाबादमा रहेको जनाइएको छ भने उनले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख असीम मुनीरलाई भेट्ने कार्यक्रम तय भएको जनाइएको छ ।
यसैबीच, लेबनानका राष्ट्रपति जोसेफ आउनले मंगलबार वासिङ्टनमा ट्रम्पसँग भेट्ने कार्यक्रम तय भएको जनाइएको छ ।
सम्बन्धित समाचार
ओमानमा ड्रोन आक्रमण
कांग्रेसले विभाग गठन नगर्ने, विभागको काम नीति प्रतिष्ठानले गर्ने
नगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाइदिएपछि राहदानी विभाग अगाडि आत्मदाह प्रयास
८७ प्रतिशत कार्यकर्ता ओली नेतृत्वको विपक्षमा
गण्डकीवासीका खेतमा अब वैधानिक गाँजा
प्रसाईंलाई कार्यक्रम गर्न किन रोक्यो प्रहरीले ?
पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध






