नेपाल भित्रियो जेन–४ नानो–बायो टेक्नोलोजी

काठमाडौं । जलस्रोत, माटो तथा वातावरण संरक्षणका लागि प्रयोग हुने जेन–४ नानो–बायो टेक्नोलोजी नेपालमा भित्रिएको छ। दियालो टेक्नोलोजिज प्रालि र भारतको बायोरिटिन बायोसाइन्सेस प्रालिबीच उक्त प्रविधि नेपालमा विस्तार तथा कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता भएको हो।

सम्झौतासँगै जलस्रोत पुनर्जीवन, औद्योगिक फोहोर पानी व्यवस्थापन तथा माटो सुधारका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको जैविक प्रविधि नेपालमा व्यावसायिक रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार बायोरिटिनले विकास गरेका नानो–बायो टेक्नोलोजीमा आधारित वातावरणीय समाधानहरू दियालो टेक्नोलोजिजमार्फत नेपालमा विस्तार गरिनेछ। कम्पनीका अनुसार यी प्रविधिले प्रदूषित पानीको प्राकृतिक प्रशोधन गर्नुका साथै नदी, खोला, नाला, ताल, पोखरी तथा माटोको प्राकृतिक गुण र पारिस्थितिक प्रणाली पुनर्जीवित गर्न सहयोग गर्नेछ।

यस प्रविधिको प्रयोग जलाशय पुनर्जीवन, औद्योगिक फोहोर पानी प्रशोधन, कृषि उत्पादनमा रासायनिक पदार्थको प्रयोग न्यूनीकरण, माटोको गुणस्तर सुधार, गल्फ कोर्स तथा सार्वजनिक हरियाली व्यवस्थापन, पशुपालन फार्मको सरसफाइ र जैविक फोहोरलाई प्राङ्गारिक मलमा रूपान्तरणलगायत क्षेत्रमा गर्न सकिने जनाइएको छ।

सहकार्यअन्तर्गत जलाशय पुनर्जीवनका लागि ‘एक्वारिटिन’ नामक फाइटोरिमिडिएसन प्रविधि नेपालमा ल्याइनेछ। कम्पनीका अनुसार यो प्रकृतिमा आधारित नानो–न्युट्रियन्ट प्रणाली हो, जसले पानीमा रहेका लाभदायक सूक्ष्मजीवलाई सक्रिय बनाउँदै घुलनशील अक्सिजन बढाउने, जैविक प्रदूषण घटाउने, दुर्गन्ध नियन्त्रण गर्ने तथा अतिरिक्त नाइट्रोजन र फस्फोरसको मात्रा कम गर्न सहयोग गर्छ।

त्यस्तै, पानीमा जम्मा भएको जैविक लेदोलाई क्रमशः प्राकृतिक रूपमा विघटन गर्न समेत यस प्रविधिले सहयोग गर्ने कम्पनीको दाबी छ। ठूलो पूर्वाधार, रसायन वा अत्यधिक विद्युत् प्रयोग नगरी जलाशयको प्राकृतिक सन्तुलन पुनःस्थापित गर्न सकिने भएकाले नेपालका नगरपालिका तथा स्थानीय तहका लागि यो प्रविधि उपयोगी हुने विश्वास दियालोले व्यक्त गरेको छ।

कम्पनीका अनुसार भारत, मलेसिया, भियतनाम, थाइल्याण्ड र संयुक्त राज्य अमेरिकालगायत विभिन्न देशमा यस प्रविधिको प्रयोग भइसकेको छ। नयाँदिल्लीस्थित दिल्ली गल्फ क्लब, मलेसियाको सुङ्गाई गोङ नदी तथा भारतको मथुरास्थित राधेश्याम कुण्डलगायत परियोजनामा पानीको गुणस्तरमा सुधार देखिएको जनाइएको छ।

दियालोका अनुसार आधुनिक डिजिटल प्रविधि र जैविक विज्ञानको संयोजनमार्फत बागमती, रुद्रमती, इच्छुमतीलगायत धार्मिक तथा ऐतिहासिक महत्व बोकेका नदी, ताल र पोखरीहरूको संरक्षण तथा पुनर्जीवनमा समेत प्रभावकारी समाधान उपलब्ध गराउन सकिनेछ।

साझेदारीअन्तर्गत बायोरिटिनले आफ्ना जेन–४ बायो प्रोडक्टहरू नेपालमा उपलब्ध गराउनेछ भने दियालो टेक्नोलोजिजले बजार विस्तार, प्रविधि कार्यान्वयन, डिजिटल अनुगमन तथा परियोजना व्यवस्थापनको जिम्मेवारी लिनेछ। दुवै कम्पनीले भविष्यमा जलस्रोत संरक्षण, औद्योगिक फोहोर पानी व्यवस्थापन, कृषि, माटो सुधार तथा पशुपालन क्षेत्रमा समेत संयुक्त रूपमा काम गर्ने योजना बनाएका छन्।

दियालो टेक्नोलोजिजकी प्रोजेक्ट म्यानेजर मेलिना खानालले प्रदूषण नियन्त्रणमा मात्र सीमित नरही जलस्रोत, माटो र प्राकृतिक वातावरणको पुनर्जीवनका लागि वैज्ञानिक, दिगो र वातावरणमैत्री समाधान उपलब्ध गराउने लक्ष्य रहेको बताइन्।

सन् २०१२ देखि नेपालमा विभिन्न क्षेत्रमा डिजिटल प्रविधिको विकास र कार्यान्वयन गर्दै आएको दियालोले स्मार्ट खानेपानी व्यवस्थापन, पानी वितरण तथा स्वचालन, यातायात व्यवस्थापन, अनलाइन बस टिकटिङ र जीआईएसलगायत क्षेत्रमा काम गर्दै आएको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर