देउवाको सन्देशः ‘लोकतन्त्रमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य छैन’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि नेपाली कांग्रेस दृढतापूर्वक उभिएको बताएका छन् ।

दुई पृष्ठ लामो सन्देशमा देउवाले बिपी कोइरालाको राष्ट्रवाद, प्रजातन्त्र र समाजवादप्रतिको अटल विश्वास आज पनि नेपाली राजनीतिक यात्राको मार्गदर्शक बनेको उल्लेख गरेका छन् । उनले आफूले बिपीको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्न पाउनु जीवनकै ठूलो सौभाग्य भएको भन्दै बिपीले सिकाएको लोकतान्त्रिक संस्कारले आफ्नो सम्पूर्ण राजनीतिक जीवनलाई मार्गनिर्देशन गरेको बताएका छन् ।

देउवाले विगत छ दशकभन्दा बढी समय नेपाली कांग्रेसको साधारण कार्यकर्तादेखि पार्टी नेतृत्वसम्मको यात्रामा निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिहरूसँग संघर्ष गर्नुपरेको स्मरण गरेका छन् । जेल, प्रतिबन्ध, राजनीतिक दमन तथा कठिन परिस्थितिका बीच पनि लोकतन्त्र, संवैधानिकता र जनअधिकारप्रतिको आफ्नो विश्वास कहिल्यै नडगमगाएको उनको भनाइ छ ।

सन्देशमा उनले नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनको अगुवाइ गर्दै शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारीका चुनौतीहरू सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । वर्तमान चुनौतीहरू सामना गर्न पनि यही अनुभव मार्गदर्शक हुने उनको विश्वास छ ।

देउवाले पछिल्ला राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग तथा राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने बताएका छन् । उनले न्यायपालिका, संवैधानिक निकाय तथा लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्ने संकेतहरू देखिन थालेको उल्लेख गर्दै यस्ता प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिएका छन् ।

‘प्रजातन्त्र भनेको जनताको सामूहिक आत्मनिर्णयको अधिकार हो, जनमत नै राष्ट्रको भविष्य निर्धारण गर्ने सर्वोच्च शक्ति हो,’ देउवाले सन्देशमा भनेका छन्, ‘लोकतन्त्रको रक्षा गर्नु भनेको राष्ट्रको रक्षा गर्नु हो ।’

उनले जननायक बिपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिलाई वर्तमान चुनौतीहरूको सामना गर्ने जीवन्त मार्गदर्शनका रूपमा प्रस्तुत गर्दै राष्ट्रहित, सामाजिक न्याय, समानता र समावेशिताको लक्ष्यमा सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

देशलाई विभाजन होइन एकता, अविश्वास होइन विश्वास, प्रतिशोध होइन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै देउवाले साझा भविष्य निर्माणका लागि राष्ट्रिय संवाद र सहकार्यको वातावरण सुदृढ गर्नुपर्ने बताएका छन् ।

देउवाले आफू पुनः नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रियता र न्यायप्रतिको विश्वासमा आशावादी रहेको उल्लेख गर्दै सबै राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपालीलाई लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा एकजुट हुन आह्वान गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर