सुकुना मावि छात्रा दुर्व्यवहार प्रकरण : चारै आरोपीमाथि पाँच दिन म्याद थप, अनुसन्धान थप तीव्र

सुन्दरहरैचा(मोरङ) । मोरङको सुन्दरहरैंचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेसँगै यस प्रकरणमा पक्राउ पर्ने संख्या चार पुगेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार प्रेस विज्ञप्तिमार्फत फरार रहेका नृत्य प्रशिक्षक भीम प्रसाद नेपाललाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।

प्रहरीका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका–७ निवासी ३१ वर्षीय भीम प्रसाद नेपाललाई मंगलबार बिहान नियन्त्रणमा लिइएको हो। उनीमाथि पनि बालबालिकाविरुद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ।

यसअघि नै प्रहरीले सुन्दरहरैंचा–१० निवासी ४० वर्षीय प्रदीप भट्टराई (सवारी चालक), सुन्दरहरैंचा–२ निवासी ३० वर्षीय किशोरलाल गच्छदार (विज्ञान विषयका शिक्षक) तथा सुन्दरहरैंचा–१२ निवासी ३५ वर्षीय अविलाल मार्सेल (लेखापाल)लाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रका अनुसार फरार रहेका भीम प्रसाद नेपाललाई नियन्त्रणमा लिएसँगै घटनामा पक्राउ पर्ने संख्या चार पुगेको हो। चारै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुर सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको र आवश्यक प्रमाण संकलनको काम जारी रहेको उनले जानकारी दिए।

डीएसपी मिश्रले अनुसन्धान निष्पक्ष, तथ्य र प्रमाणका आधारमा अघि बढिरहेको बताउँदै अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता देखिए कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारे। उनले यस विषयमा अफवाह नफैलाउन र आधिकारिक सूचनालाई मात्र विश्वास गर्न पनि सर्वसाधारणसँग आग्रह गरे।

प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई मोरङ जिल्ला अदालत, विराटनगरबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ। घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडित पक्षको बयान, प्राविधिक प्रमाण तथा अन्य आवश्यक तथ्य संकलन गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ।

विद्यालयमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार भएको आरोप सार्वजनिक भएपछि स्थानीय अभिभावक, विद्यार्थी, नागरिक समाज तथा विभिन्न संघसंस्थाले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्दै आएका छन्। घटनापछि विद्यालय प्रशासनले आरोप लागेका कर्मचारीलाई निलम्बन गरी अनुसन्धानमा सहयोग गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनासम्बन्धी अनुसन्धान अझै जारी रहेको र तथ्य तथा प्रमाणका आधारमा आवश्यक परे थप व्यक्तिमाथि पनि कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर