काठमाडौं । संसद्मा जनसरोकारका विषय उठाउँदा पर्याप्त सञ्चारमाध्यमको ध्यान नपाउने तर व्यक्तिगत टिप्पणी, ट्रोलिङ र चरित्रमाथिका प्रश्नले भने बढी चर्चा पाउने गरेको सांसदहरूको गुनासो छ । यस्ता प्रवृत्तिले सार्वजनिक रूपमा बोल्ने आत्मविश्वासमा असर परेको महिला सांसदहरूको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा ललिता कुमारीले पटकपटक सदनमा जनसरोकारका विषय उठाए पनि ती विषयले सञ्चार माध्यममा पर्याप्त स्थान नपाएको गुनासो गरिन् । व्यक्तिगत टिप्पणी र चरित्रमाथि आक्षेप लगाउने सामग्री तथा प्रतिक्रियाले भने बढी स्थान पाउने उनको भनाइ छ ।
“मैले एकपटक हैन, पटकपटक सदनमा जनसरोकारको विषय उठाएको छु”, उनले भनिन्, “सञ्चार माध्यममा त्यो जनताको आवाज मैले उठाउँदा कहीँकतै स्थान पाएको छैन । तर व्यक्तिगत टिप्पणी र चरित्रहत्या गर्ने सञ्चारकर्मी एवं कमेन्टहरू धेरै छन् ।”
प्रतिनिधिसभाका महिला सांसदहरूले आफूहरूले भोगिरहेका समस्या ‘कभरेज’ नपाउने मात्र नभइ कतिपय व्यक्तिगत विषयमा अनावश्यक टिकाटिप्पणी हुने गरेको अनुभव बताउँछन् । समाचारमा आफूहरूले उठाएका राजनीतिक मुद्दाभन्दा लैङ्गिकता, पहिचान, पहिरन, अनुहार, समुदाय र निजी जीवनले प्राथमिकता पाउने गरेको भन्दै आफूहरू हतोत्साहित हुनुपरेको उनीहरूको भनाइ छ ।
नेकपा (एमाले) का सांसद रिगङ्ला यादवले सञ्चारकर्मीसँग आफ्ना कुरा राख्नसमेत डर लाग्न थालेको अनुभव सुनाइन् । “म पत्रकार÷सञ्चारकर्मीसँग डराउछु, धेरै डराउन थालेको छु”, उनले भनिन्, “मेरो अभिव्यक्तिलाई जसरी प्रस्तुत गर्न खोजिन्छ, भिडियोमा आउने तुच्छ कमेन्टले म आजित छु ।”
उनका अनुसार सञ्चार माध्यम र सामाजिक सञ्जालमा हुने ‘ट्रोलिङ’ले आफूलाई सार्वजनिक रूपमा अभिव्यक्ति दिनसमेत असहज बनाएको छ । “जुन किसिमले मेरो ट्रोल बनाइयो, आत्मविश्वास मात्र खस्केको छैन, सञ्चारकर्मीसँग बोल्न मलाई डर लाग्न थालेको छ”, उनले भनिन् ।
नेपाली कांग्रेसका सांसद रेखाकुमारी यादवले आफू मधेसी समुदायको भएकै कारण फरक दृष्टिकोणबाट आउने टिप्पणीप्रति आपत्ति जनाइन् । “तपाईं मधेसी जस्तो लाग्नुहुन्न, कति स्पष्ट बोल्नुभएको भन्ने टिप्पणी हास्यास्पद लाग्छ”, उनले भनिन् । मधेसी तथा दलित समुदायका महिलाको मिडिया प्रभावकारी उपस्थिति अझै कम रहेको भन्दै उनले राष्ट्रिय मुद्दामा बोल्दा विषयभन्दा पहिरन, अनुहार वा बाहिरी प्रस्तुतीले प्राथमिकता पाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
नेपाली कांग्रेसकी सांसद नीनुकुमारी कर्णले मधेसी महिलामाथि हुने ‘स्टेरियोटाइपिङ’ का कारण आफूहरूले उठाउने विषय ओझेलमा पर्ने गरेको बतायन् । उनका अनुसार महिला सांसदहरूको राजनीतिक भूमिकालाई सबल बनाउन व्यक्तिगत टिप्पणी र पूर्वाग्रही प्रस्तुतीले बाधा पुर्याइरहेको छ ।
सार्वजनिक रूपमा हुने ट्रोलिङ र डिजिटल हिंसाले महिला सांसदहरूको राजनीतिक आवाज नै कमजोर हुने सांसद पार्वती विकको भनाइ छ । “अब त हिंसा भोग्न कसैसँग भेट्नै पर्दैन”, उनले भनिन्, “कति सजिलै हामीमाथि विभिन्न माध्यमबाट हिंसा गरिन्छ । डिजिटल हिंसा विरुद्ध अब सामूहिक चेत र आवाज बोल्नुपर्छ ।”
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद सरस्वती लामाले महिलाको राजनीतिक परिचयसमेत पुरुषसँग जोडेर प्रस्तुत गर्ने प्रवृत्तिको अनुभव सुनाइन् । निर्वाचित भएपछि सञ्चार माध्यममा आफ्नो परिचयमा पटकपटक श्रीमान्को नाम जोडिएको उनले गुनासो गरिन् ।
“महिलासँगै सिङ्गो समुदायप्रति नै विभेद हुन्छ”, उनले भनिन् । महिला सांसदहरूले डिजिटल माध्यममा हुने हिंसालाई गम्भीर समस्याका रूपमा उठाएका छन् । सामाजिक सञ्जालमा हुने व्यक्तिगत आक्षेप, ट्रोलिङ र अपमानजनक प्रतिक्रियाका बाबजुद पत्रकारिताले आफूहरूलाई नेतृत्वको भूमिका निर्वाह गर्न आत्मविश्वाससमेत दिएको उनहिरूको अनुभव छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले राजनीतिमा महिलाको उपस्थितिलाई स्थापित गर्न सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । “कर्णालीबाट महिला निर्वाचित हुन सक्ने आत्मविश्वास मिडियाले सहयोग गर्यो”, उनले भनिन्, “सांसदको भूमिकामा हामीलाई अब्बल बन्ने प्रयासमा मिडियाले पनि हाम्रो उपस्थितिलाई स्थान दिनुपर्दछ ।” ‘एफडब्लुएल्डी’ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा सांसदहरूले सञ्चार माध्यमसँगको आफ्नो अनुभव सुनाउँदै यस्तो धारणा राखेका हुन् ।
सम्बन्धित समाचार
प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह
आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना
अन्यौलमा ओली–प्रचण्ड सत्ता सहमति
सप्तरीको राजविराज र बोदेबरसाइन क्षेत्रमा कर्फ्यु जारी
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पत्रकारको प्रश्नमा किन रिसाए प्रचण्ड ?
आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने






